नागराजले बक्सिस दिएपछि स्थापना भएकी संकटा

नागराजले बक्सिस दिएपछि स्थापना भएकी संकटा

नवरात्रमा सातौं, आठौं र नवौं दिन विशेष हुन्छ। आज एकैदिन षष्ठी र सप्तमी परेको छ। आश्विन शुक्ल सप्तमीका दिनलाई नेपाली परम्पराअनुसार फूलपातीको दिन पनि भनिन्छ।

यसदिन नवदुर्गामध्ये कालरात्रि देवीको पूजा गरिन्छ। कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनका लागि सप्तमीका दिन कालरात्रिको पूजा अराधना गरे सम्पूर्ण कष्ट नाश हुने विश्वास गरिन्छ।

यस्तै कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाका लागि कालरात्रि देवीलाई सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रहरूमा उल्लेख छ। 

प्राणीलाई कालले नष्ट गर्छ तर स्वयं काललाई पनि नष्ट गर्न सक्ने कालरात्रि देवीमा रहेको हुन्छ। कालरात्रि कृष्ण वर्णकी छिन्। यिनको स्वरूप भयङ्कर आकृतिको हुन्छ।
आज फूलपातीका दिन तपाईंहरूलाई हामी शक्तिपीठहरूमध्ये संकटाको दर्शन गराउँछौं।

संकटाको कुरा गर्दा कलिगत संवत् ३८२० तिर फर्किनुपर्ने हुन्छ। विक्रम संवतअनुसार झण्डै १२ औं शताब्दि। 

त्यसबेला कान्तिपुरका राजा गुणकामदेवले देशभरको रक्षाका लागि एक तन्त्रसम्मत मूर्ति बनाउन लगाए। मूर्ति बनाउनुअघि उनले धेरै तान्त्रिकहरूसँग छलफल गरेका थिए।

छलफलपछि तन्त्रविज्ञ गुभाजुले मूर्ति बनाउने जिम्मा पाएका थिए। छलफलअनुसारै गुभाजुले मूर्ति बनाए। त्यसपछि काठमाडौं उपत्यकाको दक्षिण भेगमा रहेको कटवालदहमा गएर निकै दुःख गरेर कामरूपीठको आह्वान गरी मूर्तिलाई कलशमा प्रवेह गराउने काम भयो।

कलशमा राखेर काठमाडौंको टेवहालमा ल्याएर उक्त तान्त्रिक मूर्तिलाई स्थापना गरियो। यो कुरा देवमाला वंशावलीमा उल्लेख गरिएको छ। 
संकटाको सन्दर्भमा अर्को किंवदन्ती यस्तो छः

नागराज कर्कोटककी श्रीमतीलाई आँखाको रोगले च्यापेछ। नेत्र रोगका कारण नागराज कर्कोटककी श्रीमतीलाई निकै दुःख भएछ। जति औषधिमुलो गर्दा पनि निको भएनछ। 
यो देखेर नागराज निकै विक्षिप्त भएछन्। उनलाई रातमा निन्द्रा पर्न छाडेछ।

एकपटक रातमा निन्द्रा नपरेर बाहिर घुम्न निस्केछन्। अध्यारो रातमा पनि एक ज्यापु खेत खनिरहेको देखेछन्।

अरुलाई पीर सुनाउँदा मन हल्का होला भन्ने ठानेर नागराजले ती ज्यापुलाई आफ्नी श्रीमतीको नेत्र रोगका बारेमा सुनाएछन्। कुरो सुन्ने बित्तिकै ज्यापुले चिन्ता गर्नु पर्दैन तिम्री श्रीमतीलाई म ठीक पारिदिन्छु भनेछन्।

ज्यापुले पनि भनेजस्तै नागिनीलाई निको पार्यो। नागराज प्रशन्न भए। उनले ज्यापुलाई 'के माग्छौ माग' भनेछन्। ज्यापुले पनि नागकै इष्टदेवी संकटालाई मागेछन्। बाचा हार्न नसकेर नागले विधिपूर्वक संकटालाई टेवहालमा स्थापना गरेछन्।

पुजारीले पनि हेर्न नमिल्ने
संकटा नजिकै दक्षिणमा एउटा इनार छ। सम्पूर्ण तिर्थालुहरू त्यही जलले देवीको पूजा गर्छन्। त्यहाँ नाभीसम्मको सुन्दर मूर्ति पनि छ। त्यो भन्दा मुनि पुजारीले हेर्न हुँदैन भन्ने विश्वास रहेको छ।

संकटा मन्दिरमा प्रत्येक शनिबार विशेष पूजा हुन्छ। भिडभाड ज्यादै हुन्छ। नवरात्रिमा पनि विशेष पूजाआजा गर्ने चलन चलिआएको छ।
संकटा मन्दिरमा पूजाआजा गर्दा संकट टरेर जाने धार्मिक मान्यता रहेको छ।

२६ असोज, २०७८, १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।