बाजुरामा सुख्खा पहिरो जाँदा कर्णाली नदीको एक भाग थुनियो, १ सय ५० परिवार उच्च जोखिममा

बाजुरामा सुख्खा पहिरो जाँदा कर्णाली नदीको एक भाग थुनियो, १ सय ५० परिवार  उच्च जोखिममा
फोटो : जीवन कुमार कैला, बाजुरा

धनगढी :  बाजुरा हुँदै बग्ने कर्णाली नदीमा सुख्खा पहिरो खस्दा नदीको पानी थुनिएपछि वरपरका बस्ती समस्यामा परेका छन् ।

जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका १ रुडि गाउँको तल र छुद्दरी गाउँको नजिकै सुख्खा पहिरो खस्दा कर्णालीको केही भाग थुनिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदन जित महराले जानकारी दिए।

रुडि गाउँको मुनीबाट मङ्गलवार बिहानदेखी निरन्तर सुख्खा पहिरो खस्न थालेपछि इलाका प्रहरी चौकी कोल्टीबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा पुगिसकेको प्रहरी प्रमुख महराले जानकारी दिए।

‘एकासी पहिरो खस्दा १०-१५ मिनेट कर्णाली नदी थुनियो,‘नदी वरपरका स्थानीय आत्तिइसकेका थिए,तर अहिले नदीको एक भागबाट पानी बगिरहेको छ,’बाजुराका प्रहरी प्रमुख महराले भने,‘पहिरोको अवरोध हटाउने प्रयास गरिरहेका छौँ।’

सुख्खा पहिरोले स्वामिकार्तिक गाउँपालिका रूणी गाउँका १ सय ५० घरधुरी उच्च जोखिममा रहेको स्थानीय नन्द बहादुर खत्रीले बताए।

‘गाउँको तलबाट कडा चट्टान खस्न थालिसकेको छ,खत्रीले भने,‘हामी निकै जोखिममा छौँ,पहिरो निरन्तर खसिरहे हामी पनि डुबेरै मर्छौँ,गाउँपालिकाले घटना हुनुअघि नै हाम्रो उद्धार गर्नुपर्छ।’

कर्णाली नदी थुनिन थालेपछि जगन्नाथ गाउँपालिका र जुड्डी प्रहरी चौकी जोखिममा परेका छन्। स्वामिकार्तिक खापर गाउँपालिका १ रुडि गाउँको तल र छुद्दरी गाउँको नजिकै सुख्खा पहिरो बग्न थालेपछि कर्णाली नदिको छेउमा रहेको जुड्डी प्रहरी चौकी र जगन्नाथ गाउँपालिका पनि जोखिममा रहेको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए।

नदी थुनिएर गाउँपालिका र प्रहरी चौकी तिरको भाग कटान गर्न सुरु भएसँगै कार्यालयमा रहेको सबै सामान सुरक्षित ठाउँतिर सराइसकेको जोशीले जानकारी दिए।

जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारीपट्टी स्वामिकार्तिक खापर गाउँपालिका १ को छुद्ररी नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुगां, माटो नदीमा बिहानदेखि निरन्तर खसिरहेको छ। यस अघि साउन महिनामा पनि कर्णाली नदी थुनिएको थियो।

२६ असोज, २०७८, १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।