मासु र रक्सी : खान जाने दसैं, नजाने दशा

मासु र रक्सी : खान जाने दसैं, नजाने दशा

काठमाडौँ : चाडपर्वमा सन्तुलित खानपान गर्न चिकित्सकले सुझाव दिएका छन्। मासु र चिल्लो पदार्थ अत्यधिक नखान चिकित्सकको सुझाव छ।

वीर अस्पतालका डा. सुशील मोहन भट्टराई दसैँमा मासुका परिकार सन्तुलित रूपमा खान सुझाव दिन्छन्। विशेष गरी मासुमा प्रोटिन तथा फ्याट जस्ता तत्त्व पाइन्छन्। त्यसैले मासु धेरै खाए अपच हुने तथा स्वास्थ्यमा गडबडी हुने चिकित्सक बताउँछन्।

भिटामिन–ए, ओमेगा–३ फ्याटि एसिड, खनिजजस्ता शरीरलाई आवश्यक तत्त्व मासुमा पाइने डा. भट्टराई बताउँछन्। डा. भट्टराईले भने,‘कलेजोमा भिटामिन–ए र आइर प्रचुर पाइन्छ।’ 

मासुमा पर्याप्त मात्रामा पाइने आइरनले सन्तुलित खाएको अवस्थामा शरीरमा रगतको मात्रा कमी हुन नपाउनुकासाथै रोग प्रतिरोधात्मक क्षमता बढ्ने जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती बताउँछिन्। तर, धेरै मासु खाँदा भने शरीरमा प्रोटिनको मात्रा बढी भई अपच हुने उनले बताइन। 

मासु खाने व्यक्तिको शरीरको वृद्धि–विकासमा समेत सहयोग मिल्ने चिकित्सक बताउँछन्। विशेष गरी बढ्दो उमेरका व्यक्तिले सन्तुलित रूपमा मासु खाँदा शरीरको वृद्धि विकासमा सहयोग पुग्छ र सबै उमेर समूहका व्यक्तिमा शरीर मजबुत बनाउन सहयोग मिल्ने चिकित्सकको मत छ। पाको उमेरका व्यक्तिका लागि भने यसमा भएको प्रोटिनले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत मिल्छ। मासुमा पाइने क्याल्सियमले हड्डी खिइने तथा कमजोर हुने समस्याबाट बच्न मद्दत मिल्ने डा. भट्टराईले बताए।

शरीरका कोशिका पुन उत्पादनका लागि पनि मासुमा पाइने प्रोटिनले सहयोगी भूमिका खेल्ने चिकित्सक बताउँछन्। तरिका पुर्याएर मासु नखाएको अवस्थामा भने बेफाइदा गर्ने भएकाले सन्तुलित रूपमा मासु खान चिकित्सकको सुझाव छ।
चिल्लोले पिरोल्ला है!

तारेको, भुटेको, फ्राई गरेको तथा धेरै चिल्लो पदार्थ भएको मासुले शरीरमा लाभ नमिल्ने डा. भट्टराई बताउँछन्। यस्तो मासुले ‘कोलेस्ट्रोल’ बढाउने उनले बताए। प्रा. डा. दिनेश बास्तोला पनि तारेको, भुटेको र पोलेको मासु पोषणका दृष्टिकोणबाट लाभ नभई स्वादका लागि मात्रै हुने बताउँछन्। उनले भने,‘तारेको, भुटेको र पोलेको मासु स्वादका लागि खाने हो। पोषणका लागि खाने हैन।’

डा. उप्रेती बोसिलो मासुले मुटुमा समेत असर गर्ने बताउँछिन्। बोसो धेरै भएको मासु खाए रगतका धमनीमा जम्न सक्छ। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘आथेरोस्क्लेरोसिस्’भनिन्छ। धमनीमा बोसो जम्दै गए रक्तसञ्चारमा समस्या उत्पन्न भई हृदयाघातको जोखिम हुने चिकित्सक बताउँछन्।  मासुले उच्च रक्तचाप, सुगर जस्ता समस्या भएका व्यक्तिलाई समेत असर गर्न सक्ने डा. भट्टराईले बताए।

पोलेको, भुटेको तथा तारेको मासु धेरै निरन्तर खाँदा रक्तनली फुटेर बेहोस हुने, मस्तिष्कमा रगत जम्ने, हृदयाघात हुने, मिर्गौलाले छान्ने–पुनः सोस्ने प्रक्रिया नगर्ने जस्ता समस्या हुने डा. बास्तोला बताउँछन्। ‘शरीरका शिरा र धमनी साँघुरिँदै जान्छन्। शिरा र धमनी साँघुरिँदै जान्छन्,’उनले भने,‘मस्तिष्कको रक्तनलि फुटेको खण्डमा पक्षाघात हुन्छ आँखा अन्धोपना पनि हुन्छ।’

तारेको भुटेको, पोलेको मासु धेरै खायो अपज हुनुका साथै क्यान्सरको जोखिम हुने चिकित्सक बताउँछन्। बासी मासु खाँदा फुडफोइजनको जोखिम हुन्छ। 
रातो भन्दा सेतो मासु ठिक

रक्तचाप र सुगरको समस्या भएका व्यक्तिले रातो मासु खाँदा हृदयाघातको जोखिम बढी हुने चिकित्सक बताउँछन्। रातो मासु बढी खानाले रक्तचाप र सुगरको समस्या समेत निम्तनसक्नेतर्फ चिकित्सकहरूले सजग गराएका छन्। 

चिकित्सकको मत अनुसार रातो मासुमा बोसोको मात्रा बढी हुन्छ। जसले मुटुको समस्या निम्तने जोखिम हुन्छ। प्रोटिनको मात्रा बढी भए मिर्गौलाको खराबी हुने चिकित्सक बताउँछन्। 

रक्तचाप तथा सुगर भएको अवस्थामा मुटु, मिर्गौला, आँखा जस्ता अङ्गमा नकारात्मक असर पर्ने डा. भट्टराइले बताए। त्यसै गरी पाको उमेरका व्यक्तिलाई पनि रातो मासुले  त्यति राम्रो गर्दैन। 

खसी–बोका तथा राँगोमा रातो मासु पाइने भएकाले विशेष गरी पाको उमेरका व्यक्तिका लागि यस्ता मासु खानु लाभदायक नहुने चिकित्सक बताउँछन्। मासु पकाउँदा चिल्लो कम हुनुपर्ने चिकित्सकको सुझाव छ। मासुमा भएको चिल्लो पानीमा बफाएर कम गरेर मासु पकाउनु उचित हुने डा. भट्टराई बताउँछन्। डा. भट्टराईका अनुसार चिल्लो कम तर झोल लगाएर मासु खानु लाभदायक हुन्छ।

प्रा.डा. बास्तोला मान्छेको शारीरिक संरचना मासु खानको लागि नबनेको तर्क गर्छन्। उनले  भने,‘दाँत, जिब्रो, आन्द्रा भुँडी पूर्णतया शाकाहारी ढाँचा र बनावट हो। प्राकृतिक शारीरिक संरचना शाकाहारी हो।’

मासुसँग सागसब्जी
त्यसो त डा. उप्रेती मासु मासु मात्रै खान नहुने सुझाव दिन्छिन्। मासुसँगै हरियो सागपात, दाल तथा फलफूल पनि खानुपर्ने उनी बताउँछिन्। उनले भनिन्,‘मासुमा रेसादार तत्त्व हुँदैन। रेसादार तत्त्व नभएपछि कब्जियत हुनसक्छ।’ 

मासु र रक्सी खाँदा आन्द्राको चाल बिग्रने भएकाले मासु र रक्सी सेवन गर्न नहुने डा. भट्टराईको सुझाव छ। आन्द्रा राम्रो चालमा रहनका लागि फाइबरयुक्त खानपान गर्नु पर्ने हुन्छ। डा. भट्टराई भन्छन्,‘फाइबरयुक्त खानपानको कमीले पायल्स, फिस्टुला र फिसरको जोखिम हुन्छ।’ त्यसैले मासुसँगै हरियो सागपात खानुपर्ने उनले बताए। सागसब्जी, मुला, गाँजर, सिमी, स्कुस, फर्सी, चिचिन्डा, लौकाजस्ता फाइबरयुक्त खानपान गर्नुपर्ने चिकित्सकको सुझाव छ।

डा. भट्टराई शरीरमा कार्बोहाइड्रेट ५० प्रतिशत प्रोटिन, प्रोटिन ४० प्रतिशत र चिल्लो १० प्रतिशत आवश्यक हुने बताउँछन्। जसलाई सन्तुलित भोजन मानिन्छ। दाललगायतका गेडागुडीमा पनि प्रोटिन पाइन्छ। त्यसै गरी सिमी, लौका, घिरौँला जस्ता तरकारीमा हुने फाइबर (रेसा)ले कब्जियत लगायतको पाचन प्रक्रियामा सहज हुने चिकित्सक बताउँछन्। सुगरको समस्या भएका व्यक्तिले फाइबरयुक्त सागसब्जी खाएको अवस्थामा सुगर नियन्त्रण हुन सहयोग मिल्ने उनले बताए। 

परिकारमा मसला कम
बजारमा तयारी अवस्थामा राखेका मसला सकभर नखानु नै उचित हुने चिकित्सकको मत छ। दाना जिरो, दालचिनी, अदुवा, लसुन, ल्वाङ जस्ता मसलाले शरीरमा  लाभ मिल्ने उनले बताए। तर, बढी मसलेदार परिकार खाएको अवस्थामा ग्याष्ट्रिको समस्या भएका व्यक्तिलाई बढी असर गर्छ। मसला बढी हालेको परिकारले अल्सर भएर फुट्नेसमेत जोखिम हुने उनले बताए। डा.भट्टराईले भने,‘बढी चिल्लो, मसलायुक्त खाना र पिरोले पेट फुल्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने समस्या निम्तन सक्छन्।’

त्यसैगरी पित्त थैलीको पत्थरीको समस्या भएका व्यक्तिमा चिल्लो पचाउने क्षमता कम हुने भएकाले यस्तो समस्या भएका व्यक्तिले चिल्लो कम खानुपर्ने चिकित्सकको सुझाव छ। शाकाहारी भोजन गर्ने व्यक्तिले पनि बढी चिल्लो, पिरो नखान डा. उप्रेतीको सुझाव छ। उनी भन्छिन्,‘शाकाहारी खानेले पनि धेरै मसला, चिल्लो हालेर खानु हुँदैन।’
क्यान्सर लगायत दीर्घ रोगको समस्या भएका व्यक्तिलाई मासु पचाउन कठिन हुने भएकाले यस्तो समस्या भएका व्यक्तिले मासुको सुप खान सकिने डा. भट्टराईको सुझाव छ। 

ताजाले लाभ, पुरानो अचार नखाएकै राम्रो
सकभर ताजा अचार नै खानुपर्ने डा. उप्रेतीको सुझाव छ। खाँदेर राखेको अचार खानै परे पनि कम मात्रै खानुपर्ने उनी बताउँछिन्। उनले भनिन्,‘थोरै अचार खाँदा शरीरलाई एकदम फाइदा गर्छ। तर, धेरै मात्रामा खानु हुँदैन।’ तेल धेरै भएको तथा ढुसी लागेको अचारले हानी गर्ने भएकाले यस्तो अचार नखान उनको सुझाव छ।

डा. भट्टराई पनि लामो समय राखेको तथा पुरानो अचारमा कीटाणु समेत बढ्ने भएकाले पुरानो अचार स्वास्थ्यको लागि लाभ नहुने बताउँछन्। त्यति मात्रै हैन खाँदेर राखेको पुरानो अचारको पौष्टिक गुण पनि घट्ने उनले बताए। डा. भट्टराईले भने,‘पुरानो अचारको पौष्टिक गुण कम भइसकेको हुन्छ।’

ताजा अमिलो अचारले भने ‘एन्टी अक्सिडेन्ट’को काम गर्ने भएकाले ताजा अचार खान सकिने डा. भट्टराई बताउँछन्। ताजा अमिलोमा भिटामिन–सी हुने भएकाले कागतीजस्ता अमिलो मासु पचाउन सहज हुन्छ। 

बालबालिकालाई तयारी अवस्थामा बजारमा पाइने ‘कोल्डड्रिङ्स’, ‘जुस’ सेवन गर्न दिन नहुने डा. उप्रेतीको सुझाव छ। उनले भनिन्,‘कोल्डिड्रिङ्स, बच्चाको फलफूलको जुस सकेसम्म खानै हुँदैन।’ बरु ताजा फलफूल खान उनको सुझाव छ।

व्यायाम गरौँ
त्यसो त दसैँमा खाएर मात्रै बस्न नहुने चिकित्सकको सुझाव छ। खानपान पचाउन दैनिक व्यायाम गर्नुपर्ने डा. उप्रेतीको सुझाव छ। उनले भनिन्,‘मजाले धेरै खाने अनि व्यायाम नगर्ने हो भने खाएको खाना शरीरमा बोसोको रूपमा परिवर्तन हुन्छ।’ जसले मोटोपनाको समस्या निम्तिएर विभिन्न किसिमका रोगको जोखिम हुनेतर्फ उनी सजग गराउँछिन्।

२६ असोज, २०७८, ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।