मोतीपुरको प्रदर्शनकारीमाथि ११ वर्ष अगाडि नै म्याद सकिएको अश्रु ग्याँस प्रयोग

मोतीपुरको प्रदर्शनकारीमाथि ११ वर्ष अगाडि नै म्याद सकिएको अश्रु ग्याँस प्रयोग

बुटवल : रुपन्देहीको मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा अनधिकृत कब्जा गर्न विरुद्ध प्रहरीले बल प्रयोग गर्दा म्याद गुज्रिएको अति घातक अश्रुग्याँसको प्रयोग गरेको पुष्टि भएको छ। जग्गा कब्जा गरेर बसेकाहरूलाई हटाउन गएका सुरक्षाकर्मीमाथि ढुंगामुढा भएपछि प्रहरीले बल प्रयोग गर्दै अश्रुग्याँस हानेको थियो। अश्रुग्याँसको प्रयोग आफैमा विवादित त हो नै। त्यसमा पनि प्रहरीले प्रहार गरेको ग्याँसको म्याद सन् २०१० मै सकिएको थियो।

सोमबार उकेराकर्मी झडप स्थलमा पुग्दा प्रहार भएका अश्रुग्याँसको खोल जताततै थियो। सो खोलमा हेर्दा प्रहरीले ३८ एमएमको अश्रु ग्याँस हानेको पुष्टि भयो जसको म्याद सन् २०१० मार्च सम्म मात्र थियो। अहिले सन् २०२१ अक्टोबर ११ हो। प्रहरीले सो ग्याँस अक्टोबर १० मा प्रयोग गरेको थियो।

आइतबारको झडपमा ४ जनाको ज्यान गयो भने ५० भन्दा बढी प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका थिए। बढी क्षति हुनुको कारण सुरक्षाकर्मीले गोली प्रहार गर्नुलाई मात्र लिइयो। तर ११ वर्ष अगाडि नै नष्ट गर्नुपर्ने अश्रु ग्याँस पनि विष बराबर हो। यो घटनाले सरकारी जग्गा कब्जा गरेकाहरूलाई हटाउन प्रहरीले नियोजित रूपमा विष समान अश्रु ग्याँसको प्रयोग गरेको पुष्टि हुन्छ।

म्याद सकिए लगत्तै सो अश्रुग्याँस नष्ट गर्नुपर्ने नेपाल प्रहरीका कार्यवाहक प्रवक्ता वसन्त लामा पनि स्वीकार गर्छन्। 'म्याद सकिएको अश्रु ग्याँस त तत्काल नष्ट गर्नुपर्छ' उनले उकेरासँग भने। तर उनले यसो भने पनि प्रहरीले ११ वर्ष अगाडि नै म्याद सकिएको अश्रुग्याँस समेत नष्ट नगरेको झडप स्थलमा बरामद भएका अश्रुग्याँसको खोलले नै पुष्टि भएको छ।

मोतीपुरमा आइतबार भएको झडपमा प्रयोग गरेको अश्रुग्याँस त ११ वर्ष अगाडि नै नष्ट गर्नुपर्ने रहेछ नि भन्ने जिज्ञासा राख्दा लामाले भने ' हो र । त्यस्तो न नहुनुपर्ने हो। यदि हो भने म मातहतको निकायसँग बुझ्छु।'

अझ यस विषयमा जिम्मेवार प्रहरी अधिकृतको प्रतिक्रिया उत्तिकै उदेक लाग्दो छ।

झडपमा मानव स्वास्थ्यका लागि अति घातक ११ वर्ष अगाडि नै म्याद सकिएको अश्रुग्याँस प्रयोग भएको रहेछ नि भनेर रुपन्देही प्रहरी प्रमुख मनोज केसीसँग पनि उकेराले जिज्ञासा राखेको थियो। त्यसमा उनको अपत्यारिलो जवाफ थियो ‘तपाईँले भेटाउनु भएको वा देख्नु भएको अश्रु ग्याँसबारे हामीलाई थाहा भएन। हामीले प्रयोग गरेको अश्रु ग्याँस म्याद गुज्रेको थिएन।’

झडपस्थलमा फेला परेको अश्रु ग्याँसको कभर। तस्बिर : विकाश पराजुली

कार्यालय प्रमुखलाई आफ्नो कार्यालयमा भएको घातक सामाग्रीबारे जानकारी नै नहुनु भनेको त अर्को गम्भीर त्रुटि हो। प्रहरी कार्यालयमा अश्रु ग्याँस मात्रै हुन्न। गोली र हतियारहरू समेत हुन्छ। केसीको जवाफले उनले आफ्नो बदमासी लुकाउन कि ढाँटे कि उनले प्रहरी प्रमुखको जिम्मेवारी अनुसार कार्यालयमा भएका अश्रु ग्याँस अनि हतियार लगायतका महत्त्वपूर्ण सामाग्रीबारे जानकारी नै नलिएको पुष्टि हुन्छ।

झडपमा प्रहरीले अश्रु ग्याँस प्रहार गरेकाले सो म्याद सकिएको ग्याँस प्रहरीकै हो भन्नेमा कुनै शङ्का रहेन। प्राय यस्ता झडपमा कति राउन्ड गोली चलेको हो या कति सेल अश्रुग्याँस प्रहार भएको हो सो प्रहरी बुलेटिनमै खुलाउने गरिन्थ्यो। तर उनले त घटनास्थलमा कति अश्रु ग्याँसको प्रयोग भएको हो सो समेत खुलाउन चाहेनन्। उनले भीड नियन्त्रणका लागि अश्रु ग्याँस प्रयोग गरेको तर त्यी सबै म्याद भएकै प्रयोग गरिएको दाबी गरे। तर उनको दाबी कति झुटो हो भन्ने झडप स्थलमा फेला परेको अश्रु ग्याँसको खोलले पुष्टि गरिरहेको थियो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी कृषिराम तिवारीले पनि म्याद गुज्रेको अश्रु ग्याँसबारे आफूलाई थाहा नभएको दाबी गरे।

‘के कति अश्रु ग्याँस प्रयोग भयो त्यो विवरण आएको थियो। तर म्याद गुज्रेको भन्नेबारे केही जानकारी भएन,’ उनले भने।

 कता जान्छन् नयाँ अश्रु ग्याँस  ?

अहिले पनि ११ वर्ष अगाडि नै म्याद सकिएको अश्रु ग्याँस प्रयोग हुनुले नेपाल प्रहरी आम नागरिकको जनस्वास्थ्यमाथि कति खेलाँची गर्छ भन्ने त देखाउँछ नै प्रहरीले हरेक वर्ष गर्ने अश्रुग्याँसको खरिद समेत शङ्कामा परेको छ। अहिलेसम्म प्रहरीको गोदाममा ११ वर्ष अगाडि नै नष्ट गर्नुपर्ने अश्रु ग्याँस छ भने यो बिचमा खरिद गरेको नयाँ अश्रु ग्याँस कहाँ गए?

सोमबार घटनास्थलमा फेला परेको प्रदर्शनकारीको चप्पल र नजिकै प्रहरीले हानेको अश्रु ग्याँसको सेल। तस्बिर : विकाश पराजुली

नेपाल प्रहरीले हरेक वर्ष भिड नियन्त्रणका लागि आवश्यक भन्दै नयाँ अश्रु ग्याँस किन्छ। हरेक वर्ष यति नै अश्रु ग्याँस किन्ने भन्ने हुन्न। तर सालाखाला प्रत्येक वर्ष १० हजार सेल हाराहारीका अश्रुग्याँस किनेको देखिन्छ। अझ निर्वाचनमा सुरक्षा वा अन्तर्राष्ट्रिय सम्मेलन लगायतमा सुरक्षामा खटिनुपर्ने भयो भने प्रहरीले थप अश्रुग्याँस किन्छ नै।

तथ्याङ्क अनुसार नेपाल प्रहरीले २०७४-०७५ मा १० हजार सेल अश्रुग्याँस किनेको थियो। त्यो बेला निर्वाचन समेत थियो। २०७५-०७६ मा पाँच हजार सेल किनेको प्रधान कार्यालयले सन् २०७६-०७७ मा चार हजार अश्रुग्याँस किनेको थियो।

सामान्यतया अश्रु ग्याँस प्रयोग गर्न सक्ने म्याद बनेको मितिले पाँच वर्ष हुन्छ। म्याद गुज्रनु एक वर्ष अगाडि किनेको भए पनि अहिले प्रयोग भएको अश्रुग्याँस नेपाल प्रहरीको प्रमुख रमेश चन्द ठकुरी भएको बेलामा किनिएको हो। यस बिचमा नेपाल प्रहरीमा रविन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली हुँदै अहिले शैलेस थापा क्षेत्री छन्। यो बिचमा पटक-पटक निर्वाचन भएका छन्। अन्तर्राष्ट्रिय सम्मेलन भएका छन्। के योबिचमा नेपाल प्रहरीले नयाँ अश्रु ग्याँस नकिनेकाले ११ वर्ष अगाडि म्याद सकिएको ग्याँस प्रयोग गरेको होला त ?

मानव स्वास्थ्यका लागि विष समान

भीड नियन्त्रणका लागि अश्रु ग्याँस प्रयोग अन्यत्र पनि भइरहेका छन्। तर यसले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावका कारण भिड नियन्त्रण अश्रु ग्याँस प्रयोग गर्ने वा नगर्ने भन्नेबारे बहस जारी छ। जनस्वास्थ्य र मानवअधिकारको वकालत गर्नेहरू त यसको प्रयोगमा रोक लगाइनुपर्ने तर्क गर्छन्।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले घातक रसायन सहितको अश्रु ग्याँस प्रयोग गर्नु घातक रहेको बताउँदै म्याद नै नभएको प्रयोग गर्नु त दण्डनीय काम भएको बताए।

झडपस्थलमा देखिएको चप्पल र अश्रु ग्याँसको खोल।

‘विश्वव्यापीमा निर्माण भएका हतियार अहिले परिमार्जित गरेर एडभान्स र वैज्ञानिक बनाएर लैजाने संस्कृतिको विकास भएको छ। विकसित राष्ट्रमा आर्थिक व्यवस्थापन र पहुँचका कारणले व्यवस्थापन पनि भएका छन्। तर नेपालमा यही पुरानो शैली र पुराना म्याद गुज्रेका  प्रयोग गर्नु मानव अधिकारका क्षेत्रबाट पनि दुःखदायी हो,’ उनले भने।

उनले त्यस्ता घातक रसाएन सहितका अश्रु ग्याँस प्रतिस्थापन गर्नुपर्ने र विकसित देशमा ज्यान नजाने तर घाइते गराउने खालका हतियार बनेको बताउँदै नेपालमा पनि त्यस्ता हतियारको प्रयोग गर्नुपर्ने बताए ।

‘नेपालमा पुरानै किसिमका रासायनिक ग्यास प्रयोग गर्ने क्रममा छ। यो मानव संवेदनशीलतालाई हेर्दा यो क्षम्य हुँदैन। यसले आँखाको ज्योति गुम्ला, अपाङ्गता हुन सक्छ,’ उनले भने ‘सरकारको कानुन सम्मत जानुपर्छ।’

लुम्बिनी चिकित्सक सङ्घका महासचिव डा. सन्तोष पोखरेलले अश्रु ग्याँस रासायनिक हतियार भएकाले यसले आँखा तथा श्वास–प्रश्वासमा समस्या गराउनुका साथै छालामा समेत गम्भीर असर पर्ने बताउँछन्।

उनले भीड नियन्त्रणमा विश्वव्यापी रूपमा यसको प्रयोग भए पनि मानव स्वास्थ्यका लागि धेरै घातक हुने बताए। ‘अश्रु ग्याँस घातक रासायनिक हतियार हो। अझ म्याद गुज्रेको छ भने यसले प्रभाव शरीरभरि झन् बढी फैलिन्छ’ उनले भने।

सर्वोच्चको आदेश कार्यान्वयनै भएन

अश्रु ग्याँसको प्रयोग रोक्नुपर्ने माग सहित २०६३ मा सर्वोच्च अदालतमा रिट परेको थियो। रिटमाथि सुनुवाइ गर्दै अदालतले विषयबारे जानकारको अध्यक्षतामा स्वास्थ्य र गृह मन्त्रालय तथा प्रहरी प्रतिनिधि समेत सम्मिलित एक विशेषज्ञ टोली गठन गरेर अश्रु ग्याँसले मानव स्वास्थ्यमा पार्ने असरबारे अध्ययन गर्न निर्देशन दिएको थियो।

सर्वोच्चको निर्देशनात्मक आदेशमा यसक विकल्प अरू के हुनसक्छ, स्थानीय प्रशासनले अन्य उपायबाट शान्ति सुरक्षा कायम गर्न खोज्दा कत्तिको प्रभावकारी हुनसक्छ ? त्यसको अध्ययन गरी एक वर्षभित्र प्रतिवेदन दिनू र त्यसैका आधारमा आवश्यक व्यवस्था गर्नू भनेको थियो। तर आदेश अझै कार्यान्वयनै भएको छैन।

प्रहरीले पटक-पटक गर्ने अपराध

प्रहरीले म्याद सकिएको अश्रु ग्याँस प्रयोग गरेको यो नै पहिलो घटना हैन। २०७६ साउन ३० मा चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्न आइपुगेको भीडलाई नियन्त्रण गर्न प्रयोग भएको अश्रु ग्याँस समेत १० वर्ष अगाडि नै म्याद सकिएको खुलेको थियो। भरतपुरमा फेला परेको ग्याँसको कभरमा पनि सन् २०१० मार्चमै म्याद सकिएको लेखिएको थियो।

२२ वैशाख २०७७ मा सिरहाको मिर्चैया नगरपालिका–७ को फूलबारीमा राहत वितरणका क्रममा भएको विवादमा प्रहरीले भीड तितरवितर पार्न प्रयोग गरेको म्याद/मिति नदेखिने अश्रु ग्याँसको खोका (तस्वीरः सुरेन्द्र कामती) । 

सप्तरीको मलेठ, विराटनगर र सुर्खेतमा भएका घटनामा प्रहरीले भिड नियन्त्रणका लागि प्रयोग गरेको ग्याँस समेत म्याद सकिएको प्रयोग गरेको खुलेको थियो। यो अन्यले हैन राष्ट्रिय मानव अधिकार आयोगले नै पुष्टि गरेको थियो। म्याद सकिएका घातक ग्याँस प्रयोग हुने गरेको खुलासापछि प्रहरीले ग्याँसको सेलको कभरमा भएको मिति नै मेटाएर प्रयोग गर्न थालेको थियो।

यस्तो अपराधबारे  प्रहरीका जिम्मेवार अधिकारीसँग जिज्ञासा राख्दा उनीहरूले यसबारे जानकारी लिएर त्यस्तो भएको हो भने तत्काल सच्याउने दाबी गर्छन्। तर कहिल्यै दाबी पुरा गर्दैनन्। यस पटक पनि डिआइजी लामाले मातहतको निकायसँग बुझेर यदि त्यस्तो भएको हो भने आइन्दा म्याद सकिएको ग्याँस प्रयोग नगर्न निर्देशन दिने दाबी त गरे। तर कार्यान्वयनको भरोसा भने देखिएन।

२५ असोज, २०७८, ००:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।