खोप लगाएँ भनेर लखरलखर नहिँडौं, घरघरमा कोरोना पुग्ला !

खोप लगाएँ भनेर लखरलखर नहिँडौं, घरघरमा कोरोना पुग्ला !

काठमाडौंः दशैं मान्यजनसँग टीका लगाउने, आशिर्वाद लिने, परिवार तथा आफन्तसँग भेटघाट गरेर मिठो-मसिनो खाने पर्व हो।

दशैंमा  टीका थाप्ने वा टीका लगाइदिने व्यक्तिमध्ये एक जना कोरोना भाइरस संक्रमित भएको खण्डमा अर्को व्यक्तिमा सर्ने जोखिम हुन्छ। 

सहरी क्षेत्रको तुलनामा गाउँघरमा कमैले कोरोना भाइरस विरुद्धको खोप लगाएको देखिन्छ। धेरै व्यक्तिले खोप नलगाएको ठाउँमा बसेको व्यक्तिलाई खोप लगाएको अवस्थामा समेत कोरोना भाइरस संक्रमण हुनसक्छ। पूर्ण मात्रा खोप लगाएको व्यक्ति संक्रमित भएको अवस्थालाई ‘ब्रेक थु्र इन्फेक्सन’ भनिन्छ। 

अहिले देखिएको डेल्टा भेरियन्ट एक पटक संक्रमित भइएकेका व्यक्तिमा त त्यति कडा किसिमले नदेखिएला। तर खोप लगाएको व्यक्ति संक्रमित भएको खण्डमा शरीरमा भाइरल लोड बढी बन्छ भन्ने अनुसन्धानले देखाइसकेको छ। त्यसैले पूर्ण मात्रा खोप लगाइसकेको व्यक्ति संक्रमित भएको खण्डमा पनि  शरीरमा भाइरल लोड बढी हुन्छ। 

पूर्ण मात्रा खोप लगाइसेको व्यक्तिबाट खोप नलगाएको व्यक्तिमा भाइरस सर्ने जोखिम हुन्छ। सामान्यतः सहरी क्षेत्रबाट गाउँगाउँमा दशैं मान्न जानेको लर्को नै हुन्छ। सहरबाट खोप लगाएर गएका व्यक्तिले गाउँमा खोप नलगाएका मान्यजनसँग टीका थाप्दा तथा नजिक बसेर खानपान गर्दा टीका लगाइदिने व्यक्तिमा कोरोना भाइरस सर्ने जोखिम हुन्छ। त्यसैले खोप लगाएको व्यक्तिबाट गाउँगाउँमा कोरोना फैलने त हैन? भन्ने प्रश्न उब्जिएको छ।

तर, खोप लगाएको व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको खण्डमा खोप नलगाएका व्यक्तिको तुलनामा शरीरमा भाइरस कम समय रहन्छ भन्ने अध्ययनले देखाएको छ।

सामान्यतः व्यक्तिमा कोरोना संक्रमण भए १० दिन आइसोलेसनमा बस्ने गरिएको छ। १० दिनपछि भाइरस संक्रमण निष्क्रिय हुँदै जान्छ भन्ने अर्थमा १० दिन आइसोलेसनमा राखिएको हो। तर, खोप लगाएका व्यक्तिमा भने ५/६ दिनमा भाइरस संक्रमण निष्क्रिय हुँदै गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यसरी हेर्दा खोप लगाएको व्यक्तिलाई संक्रमण भइहालेको खण्डमा पनि खोप  नलगाएको व्यक्तिको तुलनामा शरीरमा भाइरस रहने अवधि कम हुन्छ भन्ने अनुसन्धानले देखाएको छ। 

घरघरमा कोरोना पुग्ला नि!
गाउँघरको कुनै ठाउँमा डेल्टा भेरियन्ट फैलिएको रहेन छ भने सहरबाट पूर्ण मात्रा खोप लगाएको व्यक्तिमार्फत गाउँगाउँमा डेल्टा भेरियन्ट पुग्ने जोखिम हुन्छ। यस्तो अवस्थामा गाउँगाउँमा कोरोना भाइरस संक्रमण फैलन सक्छ।

दशैंमा सहरबाट खोप लगाएका तथा नलगाएका व्यक्तिले गाउँगाउँमा संक्रमण फैलाउने जोखिम हुन्छ। यसमा सचेत हुनुपर्छ। त्यसैले दशैं मान्न जाँदा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्छ।

केही समयअघि संक्रमण भएको व्यक्तिलाई समेत पुनः संक्रमणको जोखिम हुन्छ। त्यसैले मलाई त भर्खरै कोरोना भाइरस संक्रमण भएको हो अब हुँदैन भन्ठानेर जनस्वास्थ्यका मापदण्डलाई बेवास्ता गर्नु हुँदैन। 

सामान्यत: एक पटक संक्रमति भएको व्यक्ति करिब ६ महिनापछि पुनः संक्रमित भएको पनि देखिएको छ।

नजिक बसेर थुकका छिटा निस्कनेगरी गफगाफ गर्न हुँदैन। आमनेसामने बसेर टीका लगाउने वा लगाइदिनेमध्ये एक जना व्यक्ति संक्रमित भएको अवस्थामा अर्को व्यक्तिमा पनि संक्रमणको जोखिम हुन्छ। त्यसैले खोप लगाएको छु भन्दैमा अरु व्यक्तिको नजिक बसेर थुकको छिटा निकाल्दै गफ लडाउनु हुँदैन।

अब भन्न सकिन्छ खोप लगाएका व्यक्तिबाट पनि अन्य व्यक्तिमा कोरोना भाइरस सर्न सक्ने जोखिम कायमै हुन्छ। खोप नलगाएको व्यक्तिमा अझ बढी यसको जोखिम हुन्छ।

कोरोनालाई मनपर्ने भीड
दशैं खानपानको चाड हो। जमघट हुने चाड हो। जमघट कोरोनालाई सबैभन्दा मनपर्ने अवस्था हो। अहिले पनि कोरोना भाइरस संक्रमणको जोखिम भएकाले सीमित परिवारमा मात्रै बसेर दशैं मनाउनु उचित हुन्छ। 

अहिले कोरोना भाइरस संक्रमणको जोखिम न्यून रहे पनि जोखिम भने कायम नै छ। अहिले कोरोना भाइरस पनि कम देखिएको र गत वर्ष पनि गाउँघर नगएकाहरु यो वर्ष बढी नै गएको देखिन्छ। यस्तो अवस्थामा गाउँगाउँमा कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढी हुन्छ।

‘खोप लगाएँ भनेर लखर लखर हिंड्दै गफ नलडाऔं’
सामान्यतः आफूभन्दा जेठो तथा पाको उमेरका व्यक्तिसँग कोठा वा घरभित्र टीका लगाउने तथा आशिर्वाद थाप्ने चलन हुन्छ। तर बन्द कोठामा टीका लगाउने तथा भीड गरेर बस्नु हुँदैन। गुम्म ठाउँमा टीका लगाउनु हुँदैन। बन्द कोठामा कोरोना भाइरस सर्ने तथा संक्रमणको जोखिम बढी हुन्छ।

त्यसैले कोरोना भाइरसबाट बच्नका लागि खुल्ला ठाउँ, बगौंचा, कौसी, पिँढी, आँगन, छत जस्ता ठाउँमा दशैंको टीका लगाउनु उचित हुन्छ।

एउटामात्रै कोठा छ भने पनि एकअर्काबीचको दूरी कायम गरेर, मास्क लगाएरै टीका लगाउनुपर्छ। सकेसम्म एकै ठाउँमा नजिक बसेर धेरैबेर गफ गर्ने, हाँस्ने जस्ता गतिविधि गर्नु उचित हुँदैन। गफगाफ गर्दा पनि मास्क लगाउनुपर्छ।

एक जनालाई टीका लगाइदिएपछि अर्को व्यक्तिलाई टीका लगाउनुअघि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ।  दूरी कायम गरेर नै खानपान गर्नुपर्छ।

बालबालिका जोगाऔं
बलबालिकाले खोप लगाउन पाएको अवस्था छैन। अर्को लहरमा बालबालिकालाई कस्तो असर गर्छ भन्ने भनिहाल्न मुस्किल छ। यद्यपि, पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिकालाई कोरोना भाइरस संक्रमणले बढी दुःख दियो। त्यसैले तेस्रो आएको खण्डमा कस्तो जोखिम हुन्छ भन्ने यकिन गरी भन्न सक्ने अवस्था छैन। 

तर, बालबालिकाले खोप लगाउन नपाएको यो अवस्थामा बालबालिका संक्रमणको बढी जोखिममा नै छन्। बालबालिका एक आपसमा खेलिरहेका हुन्छ। त्यसैले बालबालिकालाई समूहमा बसेर खेल्नु हुँदैन। यात्रा गर्दा पनि खोप नलगाएका व्यक्ति तथा बालबालिका बढी जोखिममा भएकाले सजग हुनुपर्छ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. पुनसँग उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।) 

२५ असोज, २०७८, २१:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।