हास्यकलाकार मनोज गजुरेलले गरे दोस्रो विवाह, ट्रोल नगरिदिन आग्रह

हास्यकलाकार मनोज गजुरेलले गरे दोस्रो विवाह, ट्रोल नगरिदिन आग्रह
तस्बिर : मनोज गजुरेलको फेसबुक

सामाजिक सञ्जाल फेसबुकमा सोमबार विवाहको तस्बिर सार्वजनिक गर्दै उनी आफैँले दोस्रो विवाह गरेको जानकारी गराएका छन्।  उनले एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएको पोखरेलसँग सहयात्रा गर्ने निर्णयमा पुगेको उल्लेख गरेका छन्। उनले आफ्नो दोस्रो विवाहलाई ट्रोल नबनाई दिन र पोखरेलको सार्वजनिक जीवनमा नकारात्मक प्रभाव पार्ने सामाग्री प्रकाशित नगरी दिन आग्रह समेत गरेका छन्।

‘जीवन सधैँ सरल रेखामा नहिँड्ने रहेछ। मेरो लामो वैवाहिक जीवन ४ वर्ष पहिले कानुनीरुपमा टुङ्गिएको कुरा यहाँहरूलाई विदितै छ,’उनले लेखेका छन्,‘त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको  छ।’

जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वाभाविकै भएको उनले उल्लेख गरेका छन्। ‘यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलजीसँग मेरो चिनजान हुन पुग्यो। बिस्तारै हाम्रो घनिष्ठता बढ्न थाल्यो,उनले लेखेका छन्,‘एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ।’ 

यो निर्णयमा पुग्न  बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठुलो मद्दत गरेको गजुरेलले लेखेका छन्। उनले मञ्जुको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिन आग्रह पनि गरेका छन्।

‘विगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठुलो आघातबाट गुज्रनु परेको छ,’गजुरेलले लेखेका छन्,‘ त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत सञ्जालका प्रयोगकर्ताहरूलाई पनि भद्र सुझाव छ, कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला।’

उनले आज सोमबार बिहान डोलेश्वर महादेव मन्दिरमा परिवारको उपस्थितिमा विवाह सम्पन्न गरेको उल्लेख गरेका छन्। 

२५ असोज, २०७८, १२:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।