उकेरा कोलम

एक बोरा धानमा वर्षभरि बेचिन्थे प्रेमलाल

ईश्वरकुमार मैनाली


२०२१ सालमा नापी आयो। सोझा-सिधाले भोगचलन गरिरहेको जग्गा धनी-मानीले आफ्नो पोल्टोमा पारे।

अथाह जग्गा हुनेहरू आफैँ खेती गर्दैनथे,  अधियाँमा लगाउँथे। यो चलन नेपालको पहाडी र तराई भू-भागमा खुबै फस्टाएको थियो। आज पनि अवशेषहरू देख्न पाइन्छ।

नापीपछि अधियाँ गर्नेहरूले मोहियानी पाउने बहस चल्यो। धनीहरू बाठा थिए। उनीहरूले मोहियानीको डरले जग्गा अधियाँमा दिनै छाडे।

नापीपछि धनी झन् धनी भए। गरिबलाई भने नापीले झन् गरिब बनायो।

नापीको ठिक एक वर्षपछि सुनसरीचरिया सिमरियामा जन्मिएका हुन् प्रेमलाल उरउ। १० सन्तानमध्ये उनी साइँला। 

उनी जन्मेसँगै साहुले जग्गा बटैया (अधियाँ) मा दिनै छाडे। त्यसपछि परिवारमा खान-लाउनको समस्या पर्‍यो।

प्रेमलालका बादाइहरूले साहुसँग विद्रोह गर्न खोजे। तरन्याय सजिलै कहाँ पाइन्छ र नेपालमाउनीहरूले विद्रोह गर्न सकेनन्। विद्रोह गर्न खोज्दा भिलेन भइदियो नेपाल प्रहरी।

धनी-मानीको कुरामा लागेर पुलिसले हाम्रो आवाज सुनेन। पुलिसले नै हाम्रो कुरा नसुनेपछि अरूले त सुन्ने कुरै थिएन,’ प्रेमलाल उरउले आफ्नो कथाको प्रारम्भमा सुनाए।

०००

उरउ परिवारको आफ्नो खेतीपाती थिएन। सम्पत्तिको नाममा बस्ने थलो (सानो झुपडी) मात्र थियो। त्यसैले सानो उमेरबाटै कमाइको बाटो खोज्नुपर्ने अवस्था थियो सबै सन्तानहरूको।

फलतः प्रेमलाल ८ वर्षको नपुग्दै विराटनगर पठाइए। गाउँमा मेला पर्म गरिरहेका  प्रेमलाललाई बन्दै गरेको सहर विराटनगरले केही राहत दिन्छ भन्ने थियो मनमा। उनी आफ्ना साहु ‘खड्गी साहु’ को पछि लागेर विराटनगर झरे।

विराटनगर आउँदा सर्त थियो खड्गी साहुको- प्रेमलालले दुई गाई सम्हाल्नुपर्छ। घरको काम गर्नुपर्छ। खेतीपातीमा परेको बेला हात लाउनु पर्छ। यी सबै काम गरे बापत ज्यालामा उनले वर्षको ३० रुपैयाँ पाउने छन्।

परिवार चरम आर्थिक सङ्कटमा थियो। परिवारले आफ्ना पुराना अधिया साहु खड्गी साहुको कुरा मान्यो।

त्यहाँ (विराटनगर) बस्दा त मलाई केही सुख भयो। खान पाइन्थ्यो। घाँस काट्नेगोबर सोहोर्नेभाँडा मोल्ने यस्तै गरेर दिन बित्थ्यो,’ प्रेमलाल  भन्छन्, ‘दिनमा एक घण्टा चाहिँ आराम पाइन्थ्यो। मजा त्यही थियो।’

प्रेमलालले खड्गी साहुको घरमा चार वर्ष बिताए। प्रेमलालको ज्याला प्रेमलालका बाले बुझ्थे। चाडपर्वमा चामलको भात खाने रहर हुन्थ्यो उरउ परिवारमा। प्रेमलालले परिवारको चामलको भात खाने सपना पूरा गर्थेवर्ष दिनको श्रम एक बोरा धानमा साटेर।

एक बोरा धानमा वर्ष दिन पनि कटाएको छु। चाडपर्वमा चामलको भात खानलाई पनि रहर नै थियो। तलब त वर्षको ३० रुपैयाँ थियो। तर साहुले एक बोरा धानमा नै ३० रुपैयाँ कटाइदिन्थे,’ प्रेमलाल आफ्नो विगत सुनाउँछन्।

०००

खड्गी साहु काठमाडौँसुन्दरीजलस्थित ज्ञानेन्द्र धिमालका ससुरा थिए। धिमाल परे चलचित्रकर्मी। बिएस थापाको निर्देशनमा  बनेका अधिकांश चलचित्रमा प्रोडक्सन हेड उनै धिमाल थिए। ससुराली जाँदा धिमालले ‘प्रेमलाल काठमाडौँ जान्छौँ’ भनेर सोधेँ।

काठमाडौँ जाने/नजाने प्रेमलालको हातमा थिएन। उनका बाको गोजीमा पर्ने पैसाले उनी कता जाने निर्णय गर्थ्यो।

धिमालले उरउ परिवारको आवश्यकता बुझेका थिए। त्यसैले प्रेमलालका बालाई दुई हजार थमाइदिए।

पैसा हात परेपछि  उरउ परिवारमा खुसीयाली छायो। विराटनगरभन्दा पनि ठुलो सहर किन नजानुप्रेमलालको मनमा पनि यस्तै विचार आयो। उनी खड्गी साहुको घरबाट खड्गी साहुको छोरीको घरमा आइपुगे।

काठमाडौँ आएपछि पनि मेरो काम भनेको घरको धन्दा सम्हाल्ने नै भयो,’ एक्कासि प्रेमलालको अनुहार निन्याउरो बन्यो।

तराईको मान्छेलाई काठमाडौँ यसै पनि बढी जाडो लाग्छ। पुस-माघमा तुसारो पर्थ्यो काठमाडौँमा। आङमा एकसरो सर्ट र पातलो नाम मात्रको सुइटर लाएर बस्थेँ,’ प्रेमलाल भन्छन्, ‘माग्न पनि आँट आउँदैनथ्यो। उनीहरूले विचार पनि गरेनन्। यसरी नै मैले  काठमाडौँमा सात वर्ष बिताए।’

०००

सात वर्ष काठमाडौँमा बिताइसक्दा प्रेमलाल जुँगामुठे भइसकेका थिए। १८ वर्षको लक्का जवान।

जुँगामुठे प्रेमलाललाई धिमालले अब आफ्नो खुट्टामा उभिनुपर्छ भनेर घरबाट बिदा दिए। तर बिदा दिनुअघि धिमालले नै प्रेमलाललाई प्लास्टिक कारखानामा काम लगाइदिए।

लाठे भइसकेको थिएँ। धिमाल सरले आफैँले केही गरिखानुपर्छ। अब यसरी घरको काम गरेर मात्र हुँदैन भन्नुभयो,’ प्रेमलाल सम्झन्छन्, ‘२०० रुपैयाँ तलब थियो५० रुपैयाँ कोठा भाडा। पुरानो बानेश्वरमा कोठा लिएर बसेँ।’

बिहानभरि पोलिथिनका झोला बनायो। साँझ कोठा आयो। हरेक दिन यस्तै दिनचर्या थियो प्रेमलालको।

दुई वर्षसम्म पनि तलब नबढाएपछि उनै धिमालले प्रेमलाललाई जागिर छाड्न भने। छाडे पनि।

तुरुन्तै मेरो जागिर फोटो कन्सर्नमा भयो। तलब ७००,’ प्रेमलाल आफ्नो जीवनको घटनालाई उत्साहित भएर सुनाउँछन्।

तलब राम्रो भइगो। दुई हजार बोकेर घर गए प्रेमलाल। उनको बिहेको कुरा चलिरहेको केटी पनि मन पराएका रहेछन्। ‘बा–आमालाई लौमलाई केटी मन पर्‍यो भनेँ। उहाँले टीका लगाइदिनुभयो। काठमाडौँ ल्याएँ,’ प्रेमलाल भन्छन्, ‘घरभेटीले गुह्येश्वरीमा लगेर सिन्दूर-पोते गराइदिए।’

४ वर्षसम्म उनी फोटो कन्सर्नमा जागिरे बने। उनको काम थियोगेट कुर्ने। सेक्युरिटी गार्ड।

मुख्य काम सेक्युरिटी गार्ड भए पनि प्रेमलाल फोटो खिच्ने ठाउँमा लाइट मिलाउने काम पनि गर्थे।

त्यतिबेला फोटो कर्न्सन फोटो खिच्नेफिल्म धुलाउनेफोटोफिल्मको लागि चाहिने रिल र केमिकल बेच्ने लगायतका कामको लागि प्रख्यात थियो।

०००

चलचित्र ‘माइतीघर’ का निर्देशक बिएस थापाले फेरि सिनेमा बनाउने कुरा चल्यो। फोटो कन्सर्नले त्यो फिल्म बनाउने भयो। त्यस फिल्मको प्रोडक्सन म्यानेजर उनै धिमाल भए। फिल्मको नाम चाहिँ ‘माया प्रीति’

धिमालले प्रेमलाललाई भने, ‘लाइट म्यानको काम गर्छौ?’

त्यसपछि प्रेमलाल लाइट म्यान बने। माया प्रीतिबाट सुरु भएको उनको यात्रा आज पनि निरन्तर छ। उनीसँगका धेरैजसो लाइट म्यान क्यामेरा म्यान भए। तर उनी आज पनि लाइट म्यान नै छन्।

सँगैका सबै क्यामेरा म्यान भए तर म  हुन सकिनँ,’ प्रेमलाल भन्छन्, ‘गरिबीको कारण पढ्न पाइनँ। पढ्न नपाएका कारण मैले क्यामेरा चलाउन सकिनँ।’

प्रेमलालका पुस्ताका निर्देशकनायकहरू अहिले चुपचाप छन्। तर पनि नयाँ क्यामेरा मेनहरूले पुराना मान्छे भनेर उनलाई सम्झन्छन्।

राजेश दाइशिव श्रेष्ठभुवन केसीसँग काम गरेको मान्छे भनेर मान्छेले काम दिन्छन्,’ उनी भन्छन्, ‘३५ वर्ष भयो काम गरेको। शिव  रेग्मीको आफन्त बाहेक सबै फिल्ममा मैले लाइटको काम गरेँ। दीपक रायमाझी र दयाराम दाहालको फिल्ममा काम गरेँ। श्रीस्वस्थानी कथाको सिरियलमा पनि मैले लाइट बालेँ।’

शिव श्रेष्ठ र राजेश हमाल प्रेमलालका प्रिय कलाकार रहेछन्। उनीहरूले प्रेमलाललाई जतै देखे पनि बोलाउँछन् रे। सन्चो-बिसन्चो सोध्छन् रे।

अहिले पो डिजिटल जमाना आयो। पहिले ८०-९० दिनसम्म सुट हुन्थ्यो एउटै फिल्म। क्यामेरा सफा ठाउँमा राख्थेलाइट चाहिँ फोहोर ठाउँमा राख्थे,’ उनी भन्छन्, ‘पहिलेपहिले त कलाकार तानातान हुन्थ्यो। कलाकारलाई अर्को काममा जान बाटो फुकाउन रात-बिरात पनि सुट हुन्थ्यो। लाइट म्यान हुनु सानो दुःखको काम होइन। त्यही दुःख देखेको भएर पनि होला माया गर्छन् पुराना कलाकारहरूले।’

२०० भन्दा बढी फिल्ममा लाइट बालिसके प्रेमलालले। सयौँ म्युजिक भिडियोमा पनि लाइट बाले। नेपालका अधिकांश ठाउँमा उनी लाइट बोकेर पुगेका छन्। तर उनको जीवनमा   धनको उज्याले भने परेन। कारण लाइट म्यानको कमाइले परिवार चलाउन मात्र पुग्यो।

दुई छोरा छन्। दुवै फिल्म लाइनमा लागे,’ उनी भन्छन्, ‘यही लाइनमा लागेर कति छाक तिनीहरूलाई भोकै राख्नुपर्‍यो मैले। अहिले जेठो लाइट म्यान छकान्छो क्यामरा म्यान। दुःखले  ५ कक्षासम्म बोर्डिङ पढाएको। सरकारी जागिरतिर नलागेर छोराहरू यता लागे। त्यही भएर पनि मैले रिटायर्ड हुन आँट गरेको  छैन।’

कोरोनापछि प्रेमलाललाई समस्या पर्‍यो। काम भेटिएन। धन्न म्युजिक भिडियो चलायमान भयो केही महिनापछि। त्यसपछि अलि सहज भयो। आज पनि उनी उस्तै व्यस्त छन्।

हात खुट्टा चलुन्जेल लाइट समात्ने हो। पहिला जस्तो अचेल लाइट भारी पनि हुँदैन।  हलुका छ। करेन्ट लाग्ला कि भन्ने डर एउटा हो,’ प्रेमलाल भन्छन्, ‘गोठालानोकर बन्नुभन्दा त यसरी आफ्नै पौरखले थोरै कमाएकै जीवन बेस भन्छु। आफैँलाई सम्झाउँछु। लाइट समाउँछु। खान पुगेकै छ। त्यसैमा रमाउँछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंगमा अजय फुयाल : सम्पादक क्लिकमै रमाउने, रिपोर्टरले मात्रै के गरोस् ?

२०४६ पछि प्रकाशनमा आएका दैनिक पत्रिकामध्ये सबैभन्दा पहिले नेपाल समाचारपत्रले खेलकुदको लागि पेज नै छुट्याउन थाल्यो। यसो हुनुमा पत्रिकाका प्रधानसम्पादकले खेल बुझ्नुभएको थियो। उहाँ आफैं....

विमलाको संघर्ष : जब लाज त्यागिन्, सफलतै-सफलता

६ कक्षा पढ्दापढ्दै गाँउबाट सहर पसेकी विमलाले चिया पसल सुरु गरेको १९ वर्ष भयो। यो १९ वर्षमा चिया पसलले विमलालाई निराश बनाएको छैन। ‘चिया बेच्न....

फेसन डिजाइनर तरुणिकाको प्रसव पीडा र खुसी : परिवार नियोजन भयो भनेर झुक्किँदा तेस्रो गर्भ

विहे भएको समयमा मलाई छातीमा चिसो लागेका कारण रुघाखोकीले निकै सतायो। त्यतिबेला कडा एन्टिबायोटिक खानुपर्‍यो। एक त नयाँ घर, त्यसमाथि सन्चो नभएर गाह्रो भइरहेको अवस्था।....

कलिलैमा टुहुरो भएका डा. उमेश आमा-बुबाको अनुहार सम्झिएर उपचार गर्छन्

उनलाई आमाले कलिलैमा छोडेर कहिल्यै नफर्किने बाटोमा गइन्। आमा बितेको याद नै छैन उनलाई। डा. उमेश सुनाउँछन्, ‘म सानै हुँदा आमा बित्नु भएको। मलाई याद....

कान्तिपुर गाथा : हान्ने र जान्नेको जालोमा पत्रकारिता

यो बाहेक उनको अर्को राष्ट्रिय थेगो पनि छ- धमलाको हमला। उनी यो थेगोमार्फत जान्न चाहने जनतालाई हान्न चाहन्छन्। ऋषि धमलाको एउटा विशेषता के भने, देशमा....