१० मुख, ५४ हात, ३ आँखा र विजुली जस्तै जिब्रो भएकी गुह्येश्वरी

१० मुख, ५४ हात, ३ आँखा र विजुली जस्तै जिब्रो भएकी गुह्येश्वरी

उनको पूजा अराधना गरेमा व्यापार व्यवसायमा सफलता मिल्ने तथा राज्यबाट पाइने सेवा सुविधामा वृद्धि हुने र रोजगारी लगायतका क्षेत्रमा पनि फल प्राप्त हुने विश्वास गरिन्छ।

स्कन्दमातालाई विशेषगरी फलफूल र त्यसमा पनि केरा चढाउने गरिन्छ।

स्कन्दमाता पहेँलो वर्णको रूपमा चित्रण गरिएको छ। उनको भक्ति गर्नाले सन्तान सुख पाइने पनि बताइन्छ।

नवदुर्गामध्येकी पाँचौँ देवीको दर्शनसँगै लागौँ आजको शक्तिपीठ दर्शन गर्न। 

आज हामी तपाईंलाई गुह्येश्वरीको दर्शन गराउँछौं।

राजा दक्षप्रजापतिले आफ्नी छोरी सतिदेवी र ज्वाइँ शिवलाई यज्ञमा बोलाएनन्। आफ्नै बुवाले नबोलाए पनि यज्ञमा जान्छु भनेर सतिदेवी माइत गइन्। 

तर दक्षप्रजापतिले छोरी र ज्वाइँको अपमान गरे। आफ्नो श्रीमानको अपमान सहन नसकेर उनले त्यहीँ यज्ञमा हाम फालेर प्राण त्याग गरिन्।

शिव त्यसपछि क्रोधमा सतिदेवीको मृत शरीर बोकेर पागल जस्तै भौंतारिन थाले। उनको त्यो पागलपन देखेर देवलोकमा बैठक बस्यो।

सतिदेवीको शरीर कुहाउन माखा उत्पन्न गराइयो। माखाले उनको शरीर कुहाउँदै झार्ने क्रममा बागमतीको तिरमा आइपुग्दा गुह्य पतन भयो र गुह्येश्वरी शक्तिपीठ उत्पन्न भयो।

मन्दिरको गर्भगृहभित्र एउटा सानो प्वाल छ। चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरूले देवीको रूपमा पूजा गर्ने गर्छन्। गुह्येश्वरीको महिमा नेपाल महात्म्य, हिमवत्खण्ड, श्री स्वस्थानी व्रतकथा आदिमा पनि बताइएको छ।

यद्यपि, पुराणहरूमा भने यो ५१ शक्तिपीठहरूमध्ये सतीदेवीको दुई घुँडा पतन भएर उत्पत्ति भएको शक्तिपीठको रूपमा चित्रित छ। तर लोक विश्वासअनुसार यस स्थानमा सतीदेवीको योनि पतन भएर पीठ उत्पन्न भएको किंवदन्ती रहेको पाइन्छ।

यसको अर्को किंवदन्ती पनि छ।

परापूर्व कालमा समुन्द्र मन्थनबाट विष उत्पन्न भयो। राख्ने ठाउँ नपाएपछि महादेवले विषलाई अञ्जुलीमा लिए र स्वाट्टै निलिदिए। 

कालकुट विष गलामा राख्न नसकी महादेव चिसो ठाउँ खोज्न निस्किए।  खोजी गर्दै गोसाइँकुण्डतिर लाग्दा गोकर्णेश्वरमा विश्राम गर्न बसे। महादेवको पछिपछि पार्वती पनि आएकी थिइन्। 

पार्वती गोकर्णेश्वर आइपुग्दा नै रजश्वला भइन्। रजश्वला भएपछि उनी पतिसँग हिँड्न पाइनन्। उनी चार दिनसम्म त्यहीँ बसेकाले त्यसलाई गुह्येश्वरी भनियो। आजभोलि गोकर्णेश्वरलाई पुरानो गुह्येश्वरी पनि भनिन्छ।

प्रताप मल्लअघिका अभिलेख नपाइए पनि देवी भागवत पुराणमा शाक्तहरूले दर्शन गर्नुपर्ने स्थान नेपालको गुह्यकाली भन्ने उल्लेख गरिएको छ।  
यसैलाई गोपालवंशीहरूको पालामा गुह्येश्वरीको नामले वर्णन गरिएको अनुमान गरिएको छ। 

गुह्येश्वरीको फरक ठाउँमा फरक तरिकाले व्याख्या विश्लेषण गरिएको छ। विभिन्न व्याख्याअनुसार यसलाई प्रताप मल्ल, जगज्जय मल्ल, शाहवंशीय राजाहरू लगायतले पुनर्निर्माण गर्दै आए।

गुह्येश्वरी एक्ली छैनन्। करोडौं नामले युक्त भएकी ब्राह्मणी, करोडौं योगिनी र सिद्धयुक्त, कामविनायक र क्षेत्रपालले सुरक्षित छिन् भनेर हिमवत्खण्डमा व्याख्या गरिएको छ।

धमैदत्त खैलाधिपति नाम गरेका एक साधकले ध्यानपश्चात गुह्येश्वरीको व्याख्या यसरी गरेका थिए: १० मुख, ५४ हात, ३ आँखा, बिजुलीजस्तै जिब्रो, मुण्डमाला, बाघको छाला, डरलाग्दो दाह्रा, ढाल तरबार लिएकी, श्मशानमा रहने, शवहरूले विभूषित, शवमाथि उभिरहने र रगत पिइरहने, बुद्धमार्गी, खगानमा, नैरात्म्य योगिनीका रूपमा उनी छिन्।

आश्विन शुक्ल नवमी तिथि गुह्येश्वरीको स्नान दर्शनका लागि अति उत्तम र फलदायी मानिएको छ। सतिदेवीको गुह्य पतन भएकाले बायाँ हातले पूजा गर्ने चलन यो मन्दिरमा छ। 

घटस्थापनादेखि नै गुह्येश्वरीमा विशेष पूजा अराधना हुन्छ। तर यहाँ देवीहरूको कुनै मूर्ति भने छैन। 

गुह्येश्वरीलाई मद्य, मांस र माछा चल्छ। यहाँको कुण्डबाट माछा हात लागे ठूलो सफलता र सौभाग्य मानिन्छ।

२५ असोज, २०७८, ०७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।