ओप-एड

अब त्यो लुगा कहिल्यै लाउँदिन होला 

एलिसा एकलास


मामा विश्वकर्मा पूजा गर्दागर्दै स्वर्गे भए। बाबालाई फोन आयो, ससुरालीबाट। म रुन थालेँ। 'मामाघर गइहालौं, म ट्याक्सी ल्याउँछु' भन्दै म खुट्टा बजारेर रोएँ। ममीलाई सम्हाल्नुपर्ने बेला म आफैं विक्षिप्त भएँ।

रोएर फर्किँदा रहेनछन् छोडेर जाने मान्छे। फर्कँदा हुन् त  कलिला तीन छोरा, जिन्दगीभर साथ दिन्छु भनेर सिन्दूर भरेर ल्याएकी श्रीमती अनि आफ्नालाई सेलाउँदै आफ्नै पालो पर्खेर बस्नुभएकी डाँडामाथिकी घामजस्ती आमाको रोदनले छिट्टै फर्किनुहुन्थ्यो होला मामा। 

खबर पाउनासाथ दिदी-बहिनी घर पुगेभन्दा छिटो, खबर पाउनासाथ भिनाजु, भान्जी 'सु-घाट' पुगेभन्दा छिटो फर्कन्थे होला। त्रिशुलीको रफ्तारभन्दा छिटो- म छु नि आमै नरोउ भन्दै आउँथे होला। पहिले-कहिले कठोर नभएका मामा कठोर हुनुभो। मृत्युपछि मान्छे कठोर हुँदोरहेछ। न कसैको रुवाइ सुन्नुभो न कसैको तड्पाइ हेर्नुभो। 

म पुग्दा बाघ समाउँला जस्तो मामाको बलिष्ठ ज्यान बगरमा पल्टिएको थियो। छिनमै सिमसिम पानी पर्ने, छिनमै रोकिने। मान्छेहरु भाग्यमानी रहेछ भन्दै थिए। अगाडि रहेका हामी अभागीलाई उनीहरुले महत्व नै दिएनन्। 

उसो त मामाले पनि भन्नुभएन, आइपुग्यौ भान्जी? अनि मुस्कुराउनु भएन कालो गाला तन्काउँदै, राता ओठले स्वागत र खुसीको मुस्कान छर्दै। 

साउनमै त हो काठमाडौं आउन लाग्दा 'भान्जी पाँच/छ वर्षमा मामाघर आउँदा पनि हामीलाई खुसी नै लाग्यो' भनेको। भन्नुभएको थियो, 'अब पिएचडी नगरी नआऊ है मामाघर।' त्यसो भन्दा धेरै वर्ष पो लाग्छ कि भन्ने चिन्ता पनि थियो। भन्दै हुनुहुन्थ्यो, 'कति वर्षमा सकिन्छ?'

संयोग भनौं, मामाघरबाट काठमाडौं फर्किँदा लगाएको वानपिस र मामालाई अन्तिम विदाइ गर्न जाँदा लगाएको वानपिस एउटै परेछ। आजभोलि त्यो वानपिसमा मामाको याद जोडिएको छ। खुब माया लाग्दोरहेछ याद जोडिएका लुगाको पनि। 

म आजभोलि त्यो लुगा देख्दा झट्ट मामा सम्झिन्छु- आँखा ओभाइसकेका छैनन्। भरिइहाल्छन्। सायद अब  त्यो लुगा  कहिल्यै लाउँदिन होला। सम्हालेर राख्छु दराजको कुनै कुनामा। मनको कुनामा मामाको माया राखेझैँ।

मामासँग मेरो गहिरो भावनात्मक सम्बन्ध थियो। सानो हुँदा हाम्रो अर्कै मामा थिए। २० वर्षे उमेरमै उहाँलाई डायबेटिजले लग्यो। गोरो न गोरो मामा देखिरहेका हामी बच्चालाई एक्कासि कालो मान्छेलाई मामा हो भनेर चिनाउँदा आत्तिएका थियौं। 

'यो तिमीहरुको ठूलो मामा हो, सानो मामा भगवानको घर गइसक्यो' यसरी सम्झाउनुभाथ्यो कान्छो हजुरबुबाले हामीलाई। त्यसपछि समाएका थियौं इन्डियाबाट फर्केका काले मामाको कालो हातबाट गुलियो चकलेट। चकलेटसँगै गाँसियो गुलियो सम्बन्ध पनि।

मामा सानैमा भागेर इन्डिया जानुभाथ्यो। हजुरबुबा बितेको ४-५ वर्षपछि थाहा पाएर किरिया-कर्म गर्न आउनुभएको रहेछ। फेरि फर्किनुभयो मामा उतै। इन्डिया फर्केको केही महिनामै भाइको मृत्यु भएपछि फर्किनुभयो यतै बस्नेगरी।

दिदीलाई भेट्न आउनुभएको रैछ। भान्जीहरु डराएर तनाव। सम्बन्धका अगाडि डरको के लाग्छ र! हामी चाँडै घुलमिल भइहाल्यौं। 

मामालाई साहित्यमा खुब रुचि थियो। हिन्दी सायरीहरुले डायरी भर्नुहुन्थ्यो फर्किएका सुरुवातका वर्षहरुमा।  नेपाली भाषा कमजोर थियो बोल्न अनि लेख्न पनि। हिन्दी साहित्य खुब पढ्नुहुन्थ्यो। म मामाघरमै हुर्केकी थिएँ। मामाका किताब चोर्दै पढ्थेँ। मामाको कति डायरी च्यातिदिएकी थिएँ रे ।

मामाको साहित्यप्रतिको रुचिले नै होला ममा पनि साहित्यको भूत चढ्यो। मैले पनि कनिकुथि 'नटराज' पेन्सिलले व्याकरण किताबमा दिएका भङ्गेरा र भङ्गेरीको कवितालाई मोडिफाइ गर्दै लेख्न थालें 'परेवा र परेवी' को कविता। चुर्चुर गर्छ भङ्गेरो चिर्चिर गर्छे भङ्गेरीको ठाउँमा घुर्घुर गर्छ परेवा घुर्घुर गर्छे परेवी भन्दै। मेरो सुरुवातको कविता त्यहि थियो- व्याकरणको पाठ्यक्रम अभ्यासमा दिएको कविताको अभ्यास।

ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति संसारमा कहिले हुँदैन विफल।

मामाले पहिलो पटक सुनाउनुभएको थियो राष्ट्रकवि घिमिरेका यी हरफहरु 'पापिनी आमा' बाट। आजसम्म मलाई यी शब्द साह्र सुन्दर लाग्छन्। म 'लो' फिल गरिरहँदा यही शब्दहरु याद गर्छु- सिर्जना शक्ति संसारमा कहिले हुँदैन विफल। 

हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले।

यो मामाको फेभरेट लाइन थियो। दोहोर्‍याइरहनुहुन्थ्यो। 'मुनामदन' मामाघरमै पढेकी थिएँ मैले। मामाले सिकाउनुभको थियो मझौला झ्याउरेमा लेख्न। हातका मैलाको 'एक्जाम्पल' दिँदै सिकाउनुभएको थियो। 

मझौला झ्याउरे वाचन पनि मामासँगै सिकेकी थिएँ। मामाकैमा पढेकी थिएँ लुना, राजेश्वरी, गौरी, म्हेन्दु लगायतका कविताका किताब। कवितामा झुकाव मामाले दिनुभयो। मामा नै हुनुहुथ्यो मेरो पहिलो गुरु। 

यो नाता भन्ने नै यस्तै हुन्छ। विश्वासले भरिएको। मामा भनेपछि मामा। मुटुभरि माया भरिदिने मामा।

तर, अब उनै मामालाई 'मामा' भनेर बोलाउने बाटो पनि भत्कियो। अब मामाघरलाई मामाघर कसरी भन्ने होला! मामा नै नभएपछि। 

एउटा गीत  छ 'एउटा मान्छे मर्दैमा संसार शून्य हुँदैन...संसार शून्य हुँदैन'। संसार त अझै उस्तै छ झलमल्ल घाम लाग्छ, धरर्र पानी पर्छ, आकाशमा बादल लाग्छ, चन्द्रमा झुल्किन्छ, ताराहरु टल्किन्छन्। 

तर, घरभरि उथलपुथल, आँखाभरि मायुषि, अनुहारभरि चिन्ता र घरभरि बेखुसी दौडिएको भर्खरै देखेर आएकी छु। त्यसैले यो गीत स्वीकार्न सकिनँ मैले। मलाई मन परेन यो गीत।

राति अँध्यारोमा दागबत्ति दिनैलाग्दा भाग्यरेखा कोरिएको मामाको निधारमा सय रुपैयाँ राखिदिएर, दुवै हातले छोएर नमस्कार गरेँ मैले। पाइतालामा त्रिशुलीको चिसो पानीको छालले हल्का हानिरहेको थियो। 

मामा सल्किसकेपछि हामी निस्कियौं मामाघरका लागि। माइजू सेतो कपडामा हुनुहुन्थ्यो, हातका चुरा फुटाइएको थियो, सिउँदोको सिन्दूर पुछिएको थियो, नाक र कान बुच्चा थिए। रुँदारुँदा थकित आँखाले 'आउनुभो भान्जी' भन्न सक्नुभएन। 

म मेरै कविता याद गरिरहेकी थिएँ।

'विधवा विद्रोह'

रातो, 
कहिलै मन परेन मलाई 

त्यसैले त,
रातो गुलाबको प्रेमप्रस्ताव अस्वीकार गरेर
सेतो गुलाब हातमा समाएकी थिएँ मैले

रङ्गहीन मन पराउने मलाई 
कसैले सिकाएको हो रङ्गीन मन पराउन

उसैले लगाइदिएको हो,
हातभरि रङ्गीबिरङ्गी चुरा
गलामा हरियो पहेंलो पोते
सिउँदोमा रातो सिन्दूर

बल्लबल्ल रङ्गीन बन्दै थियो जिन्दगी 
घाम अस्ताउनै लागेको आकाशजस्तो
तर, 
जिन्दगी अस्ताउँदा त जिन्दगी बेरंग बन्दोरहेछ

जुन समय, मेरो रङ्गसँग आदत बसिसकेको थियो

उसो त, 
मागेकै थिएनन् मेरा प्याराले
मेरो पोतेहरुको लामो बाटो~आफ्नो अनन्त यात्रामा
उसो त मागेकै थिएन
 मेरो प्याराको सेतो बर्कोले~मेरो सिउँदोको लालछाप
उसो त मागेकै थिएन
मेरो प्यारा मस्त निदाइरहेको चिताले~मेरा चुराहरुको सपोर्ट

अन्तत:
म कोराबाट बाहिर निस्कँदा
पहिरेरै निस्किएँ भने पोते
सजाएरै निस्किएँ भने सिन्दूर
बजाएरै निस्किएँ भने चुरा

तपाईं त्यसलाई विधवा विद्रोह भन्नुहोला
म यसैलाई मेरो प्रेम भन्छु।

हार्दिक श्रद्धाञ्जली मामा। हजुरको स्वर्गमा बास होस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रचण्डको बेमौसमी 'मुड'

विपद् क्षेत्रमा घुमी हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवाको मनमा विपद्मा परेका नागरिकलाई ढुक्क बनाउनु भन्दा एमसीसीकै पिरलो बढी देखियो। प्रधानमन्त्री तहबाट भएको भ्रमणमा पनि वर्षाले आहत....

कविहरु एनजिओकर्मी भए, कविता होइन नारा लेख्न थाले

अग्नि पाठकसमक्ष गयो, कस्तो प्रतिक्रिया पाउनुभएको छ?  यो मेरो आठौं पुस्तक र तेस्रो महाकाव्य हो। यति छिटो प्रतिक्रिया पाएको भने पहिलो पटक हो। सामाजिक....

'आज रमिता छ' नेपाली साहित्यको पाठशाला नै हो

म सबैखाले विचार र साहित्यको पाठक हुँ। कुनै एक विचारमा आइपुग्न धेरै विचारहरु बुझ्नुपर्छ मेरो ठम्याइ हो। नेपालका साहित्यकारमध्ये मेरो साहित्यलाई गहिरो असर पारेका साहित्यकार....

देउवाको नयाँ दरबार

लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधि सभा ब्युँताउँदै सरकार बनाउन दावी पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पनि कानुनी र....

गान्धी जो कहिल्यै आरोपमुक्त भएनन्

मरणोप्रान्त पनि उनलाई आरोप लगाउँदै गालीगलौजमा उत्रिनेहरू पनि कम छैनन्। त्यसैले गान्धीका अनुयायी भन्छन्, 'गोलीले न गान्धी मारिएका छन्, न मूर्ति बनाउँदैमा गोड्से जिन्दा हुनेछन्।' गान्धीलाई ....