बालबालिका माेबाइलमै अल्झिन थालेपछि फिरफिरे युथ क्लबले आयाेजना गर्‍याे 'जुनियर फुटबल फेस्टिभल'

बालबालिका माेबाइलमै अल्झिन थालेपछि फिरफिरे युथ क्लबले आयाेजना गर्‍याे 'जुनियर फुटबल फेस्टिभल'

काठमाडाैंः सातदेखि १३ वर्षका बालबालिकालाई लक्षित गर्दै फिरफिरे युथ क्लबले ललितपुरकाे महालक्ष्मी नगरपालिका-८ चारघरेमा जुनियर फुटबल फेस्टिभल, २०७८ आयाेजना गरेकाे छ। फिरफिरे युथ क्लब र ब्लूम नेपाल स्कुलकाे संयुक्त आयाेजनामा फुटबल फेस्टिभल आयाेजना गरिएकाे हाे। 

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्ववर श्रेष्ठ, अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी म्याक्स बस्नेत र ललितपुर खेलकुद प्रशिक्षण केन्द्रका अध्यक्ष सिद्धि व्यञ्जनकारकाे उपस्थिती रहेकाे कार्यक्रममार्फत प्रथम र दाेश्राे हुने टाेलीलाई जर्सी प्रदान गरिएकाे थियाे भने अन्य सहभागीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएकाे थियाे। 

यस्तै कार्यक्रममा विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूकाे पनि उपस्थिति रहेकाे थियाे।

फुटबल फेस्टिभलमा कूल ६ टाेलीकाे सहभागिता रहेकाे थियाे। काेराेना महामारीयता बालबालिकाहरू धेरैजसाे माेबाइल र डिजिटल डिभाइसमै घाेत्लिने गरेकाे र सामाजिकीकरण हुनबाट वञ्चित भएकाे भन्दै फेस्टिभल आयाेजना गरिएकाे क्लबका अध्यक्ष निश्चल घिमिरेले बताए। 

'बालबालिकालाई खेलकुद पनि आफू र देश चिनाउने गतिलाे माध्यम हाे भन्ने धारणा विकास गर्न फेस्टिभल आयाेजना गरेका हाैँ', उनले भने। 

कार्यक्रममा शिक्षा टेक्नाेलाेजी र महालक्ष्मी नगरपालिकाकाे पनि सहकार्य रहेकाे थियाे।

 

२४ असोज, २०७८, ०९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।