पोलेको, भुटेको र अधिक बोसो भएको मासु सकेसम्म नखान चिकित्सककाे सुझाव

पोलेको, भुटेको र अधिक बोसो भएको मासु सकेसम्म नखान चिकित्सककाे सुझाव

चितवनः दशैं सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ। चिकित्सकले भने रातो मासु पोलेकाे, भुटेकाे र अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन्।

राताे मासुले मुटु, मृगाैला, मधुमेह, उच्च रक्तचापसँगै क्यान्सर हुने जोखिम बढ्ने उनीहरूले बताएका छन्। चितवन मेडिकल कलेज (सीएमसी)का इण्डो क्राइनोलोजिष्ट डा सौरभ खतिवडा बोसो बढी भएको मासु खाँदा मोटोपना बढ्ने बताउँछन्। मासुसँगै खाद्य परिकार धेरै खाइने हुँदा यसले शरीरमा चिनीको मात्रा बढाउने उनकाे भनाइ छ।

उनले भने, 'खाना खाएपछि चार घण्टामा सामान्य अवस्थामा आउनु पर्दछ। तर बोसोसँगको खानाले १२ घण्टासम्म चिनीको मात्रा बढाइरहन्छ।' राति बोसोसहितको खाना खाँदा बिहानसम्म यसको प्रभाव रहिरहने खतिवडाको भनाइ छ। खतिवडाले भने, 'पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक छ।' 

यस्तै खानपिनमा ध्यान नदिँदा धेरै मानिस दशैंकाे समयमा अस्पताल पुग्ने गरेको भरतपुर अस्पतालका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारी बताउँछन्। उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या दशैंमा उल्लेख्य वृद्धि हुने उनले बताए। 

एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही नपाइने जनाउँदै डा अधिकारीले भने, 'बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान सकिन्छ।'

२४ असोज, २०७८, ०९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।