सुन्दरताको परिभाषा बदल्न चाहन्थे तर आफैँ बदलिए

सुन्दरताको परिभाषा बदल्न चाहन्थे तर आफैँ बदलिए
तस्बिर : कृष्पा श्रेष्ठ।

पोखरामा मिस्टर टिन आयोजना भएको त्यो पहिलो पटक थियो। उनी प्रथम परीक्षामै प्रथम भए। 

त्यो बेलामा अहिलेजस्तो छ्यापछ्याप्ती मिडिया थिएनन्। विशालले त्यो समय सम्झँदै भने, ‘मैले मिस्टर टिन पोखरा जितेको एक हप्तापछि मात्रै चर्चा भयो। शनिवार कार्यक्रम थियो, साप्ताहिक पत्रिका शुक्रवारतिर निस्कन्थ्यो।’ 

मिस्टर टिन पोखरा भएको एक हप्तापछि राजधानीबाट निस्कने साप्ताहिक पत्रिकाहरूमा कभर फोटो सहित उनको समाचार प्रकाशित भयो। त्यसपछि उनी लोकल सेलिब्रिटी नै भए।

पोखरा, फेशन र विशाल गुरुङको नाम एक अर्काका परिपूरक थिए। राजधानीबाट कोही सेलिब्रिटी पुगे मात्रै, नत्र उनी नै त्यस्ता कार्यक्रमका प्रमुख अतिथि हुन्थे। 

एक चोटि लगातार तीन दिनसम्म एकै रेस्टुरेन्टमा गएर फरक–फरक कार्यक्रममा निर्णायकको काम गरे उनले। यसो भनिरहँदा उनको अनुहार हँसिलो देखिन्थ्यो। उनी एउटा कार्यक्रममा गएको १० हजारसम्म पारिश्रमिक लिन्थे। कमाई पनि राम्रै थियो।

उनैको व्यस्तताका कारण, फेशन सोहरू, सौन्दर्य प्रतियोगिताहरू उनको समय तालिका अनुसार हुन्थ्यो। विशाल आफैलाई पनि पोखरा, फेशन र सौन्दर्य म बिना अधुरो छ भन्ने लाग्न थालिसकेको थियो।

मिस्टर टिन बन्ने बित्तिकै दार्जिलिङे समूहले खोलेको मन्टेश्वरीमा उनी जोडिन पुगे। उनीहरूले स्कुल छाडेर आफ्नै देश फर्कनुपर्ने बाध्यता आइलाग्यो। त्यसलाई निरन्तरता दिने काम विशालको काँधमा आइलाग्यो।

किशोरावस्थामै उनी स्कुलको हेड मास्टर बने। दिनको समय उनी मन्टेश्वरीमा बिताउँथे। बिहान–बेलुकी रुचिको विषय फेशन र सौन्दर्य प्रतियोगितालाई दिन्थे।

उनले हाँस्दै भने, ‘पेसा फरक भयो। हेडमास्टर जस्तो देखिन पाको उमेरको बन्नु¥यो, फेशन र सौन्दर्यका लागि भर्खरको।’

यही झमेलामा उनको झन्डै १० वर्ष बित्यो। त्यसपछि भने उनले संस्थापक अध्यक्ष बनेर पाँच जना सेयर होल्डर खडा गरे। तिनै मध्येकी एक सेयर होल्डरको काँधमा मन्टेश्वरी जिम्मा लगाए र आफू रुचिको क्षेत्रतिर आए। मोडल भएकैले उनले आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्ने संस्था अनि बाटिकमा व्यस्त बनाए।

उनी मिस्टर टिन भएको अहिले ठ्याक्कै १८ वर्ष भयो। समय मात्रै बितेन, उनको जिन्दगीमा अनेकन् उतारचढाव पनि आए।

बढ्दो उमेर, तीव्र गतिमा दौडिएको फेशन र सौन्दर्य उद्योग। यी सबैमा बिस्तारै विशाल पछाडि पर्दै गए। आफ्नै उद्योगका साथीभाइले कुरा काट्न थाले, ‘विशालको समय त अब गयो।’

नभनुन् पनि कसरी, उनको कपाल झरेर तालु देखिन थालेको थियो। शरीरमा बोसोको तह दिन प्रतिदिन थपिइरहेको थियो। भुँडी प्यात्त बाहिर निस्कन थालेको थियो। अनुहारमा दागहरूले अड्डा जमाइरहेका थिए।

‘एक पटक पार्किङ लटमा गाडी निकाल्न लागेको थिएँ, म भन्दा एक दुई वर्ष कान्छो केटोले अङ्कल चिट देखाउनुस् भन्यो,’ उनले खिस्स हाँस्दै भने।

आफ्नै उमेरको केटोले अङ्कल भनेको स्विकार्न विशाललाई गाह्रो भयो। सँगै दारु पानी खाने साथीभाइले पनि उनको शरीरलाई लिएर मजाक गर्न थाले। 

विशाल भन्छन्‘म नयाँ पुस्तालाई कसरी स्मार्ट देखिने, शरीर फिट कसरी राख्ने जस्ता कुरा सिकाइरहेको हुन्थे। यस्तो गर्दा कपाल नभएको मानिसले काइँयोको व्यापार गरिरहेको जस्तो देखियो। आफैदेखि आफैलाई लाज लाग्यो।’

बिस्तारै पोखराको फेशनबाट आफू हराउँदै गएजस्तो लाग्न थाल्यो उनलाई। आफ्नै पेसा बिरानो हुन थाल्यो। आफ्नै पोखरा अपरिचित जस्तै। 

३५ वर्ष नलाग्दै एकादेशमा विशाल पनि मोडल थियो नि भन्ने भइएला भन्ने उनले सोचेकै थिएनन्। म विना पनि पोखरामा फेसन सो सम्भव छ र भन्ने विशाललाई आत्म बोध भयो ‘यी सब भ्रम हुन्।’

यसको कारण उनको शरीरको आकार पनि थियो। उनी झन्डै ९० किलोको भइसकेका थिए। उठ्न, बस्न मात्रै हैन, गद्दामा सुत्न समेत गाह्रो भइरहेको थियो उनलाई। 

भन्छन्,‘ सुत्न ओछ्यान सजिलो भएर नहुने रहेछ। शरीर सजिलो हुनुपर्ने रहेछ।’

मानिसहरूको हेर्दा पनि आफैलाई खिसी गरिरहेझैँ लाग्न थाल्यो। ‘कि गर, कि मर’ को अवस्थामा पुगेको महसुस गरे उनले।

त्यही समयमा कोभिड १९ को कारण विश्व लकडाउनमा गयो। विशाललाई अहिले नगरे कहिले गर्ने भन्ने लाग्यो। हातबाट फुस्कँदै गएको शरीरलाई जसरी पनि तह लगाउने प्रण गर्दै कसरत सुरु गरे।

राती १२ बजेसम्म पार्टी गरेर घर आएपछि पनि भात नखाई निन्द्रा नपर्ने बानी उनको। जे खाए पनि पेटमा भात जानै पर्यो। यो बानी हटाउन उनलाई निकै मुस्किल प¥यो रे। उनले बिस्तारै मन बुझाउँदै गए।

त्यसैको प्रतिफल यति बेला उनी पुरानै लयमा फर्किइसकेका छन्। हिजो उनलाई देखेर खिस्स्याउनु अहिले उनको तारिफ गर्न थालेका छन्। 

अनी  पाए पुनर्जन्म

उनको परिभाषामा उनी अहिले जस्तो छन् त्यो पुनर्जन्म बराबर हो। झन्डै १७ महिनाको मेहनतपछि उनले पुनर्जन्म पाए। 

विभिन्न थरीका फलफूल, सागपात। शरीरलाई चाहिने खनिज पदार्थदेखि भिटामिनसम्मको मात्रा मिलाउँदा भने उनको खर्च बढेको छ। शरीर फिट बनाउन खाना र कसरतमा मात्रै हैन, उनले कपाल र अनुहारमा पनि पैसा खर्च गरे। उनको टाउको अहिले बाक्लो कपालले भरिएको छ।

शरीरको ह्वाइ ब्लड सेल (सेतो रक्तकोषिका) र रेड ब्लड सेल (रातो रक्तकोषिका) निकालेर सुइले टाउकोमा रोपेर कपाल उमार्ने काम गरिने रहेछ। जसलाई पिआरपि थेरापी भनिन्छ, त्यसैबाट कपाल उमारें।

पिआरपी थेरापी सात सेसनसम्म चल्यो। सुरुका तीन ओटा सेसन निःशुल्क भए पनि बाँकीका लागि पैसा तिरे। एउटा सेसनको १० हजार रुपैयाँ खर्च भयो।

सत्तरी हजार लाग्नेमा उनले तीस हजार छुट पाए। कपाल उमार्न ४० हजार खर्च भयो। निषेधाज्ञाका कारण शरीरले प्रशस्त आराम पाएकाले पनि कमाल उम्रियो। 

अहिले भने उनको अनुहारको छाला बुष्टिङको सेसन चलिरहेको छ। उनको छालामा न्युटेसनको मात्रै निकै कम रहेछ।  उनले अहिले ड्रामाटोलोजिष्टसँग स्क्रिन बुष्टिङ गराइरहेका छन्। 

सौन्दर्य पिडा हो

‘मानिस सामान्य खोप लगाउँदा रमिता देखाउँछ। मैले त टाउकोभरि, अनुहारभरि सुई खोपेको छु। सजिलो त पक्कै भएन,’ विशालले भने।

विशालले एउटा भिडियो बनाएका थिए, स्क्रिन बुष्टिङको। त्यहाँ उनले सुन्दर देखिन कस्तो पिडा भोग्नुपर्छ हेर्नुस् त भन्दै अनुहार खिचेर हालेका थिए। उनको अनुहार गोहिको छालाजस्तै भएको थियो, फोकै फोका। त्यो फोका तीन दिनसम्म रहने र बिस्तारै हराउँदै जाने हुँदो रहेछ। 

अनुहारका हरेक प्वालमा सुइँ लगाएर गरिने स्क्रिन बुष्टिङ २ हप्तामा एक पटक गर्नुपर्ने रहेछ। 

‘अनुहारको अरू ठाउँतिर सुई लगाउँदा त ठिकै हो, तर आँखा नजिकको भाग र नाकको टुप्पामा लगाउँदा भने आँसु नै झर्छ,’ विशालले पिडा सम्झँदै भने। 

यस्तो पिडा सहनुअघि चिकित्सकले ब्रेनको उपचार गर्ने उनले बताए। यति धेरै दुख्छ, पहिले नै ब्रेनको उपचार पाएन भने त्यसले पिडा खेप्नै सक्दैन नि। 

आफैले सुन्दरताका लागि पिडा र पैसा खर्च गरेँ भन्ने विशालको सौन्दर्य प्रतिको सोचाइ भने फरक छ। उनलाई लाग्छ, सुन्दरता शरीरको तौल, रङ्ग र आकृतिमा हुँदैन। उनलाई हरेक मानिस आफूमा सुन्दर हुन्छ भन्ने लाग्छ।

‘कोही मानिसलाई अग्लो मानिस मन पर्ला, कसैलाई होचो। कसैलाई काली मन पर्ला कसैलाई गहुँगोरी या कसैलाई गोरी। कसैलाई हल्का मोटो मन पर्ला कसैलाई दुब्लो। सुन्दरता भनेको हेराइ हो,’ विशाल भन्छन्।

हरेकको नजरमा सुन्दरता फरक हुने र हरेक मानिस आफैमा सुन्दर हुने बताए पनि नेपाली समाजले सुन्दरताको मानक निर्धारण गरिदिएको उनी स्विकार्छन्। 

‘हामी भनेका देखाउने मानिस (सो म्यान) रहेछौँ। जे देखाइन्छ, त्यसैलाई हेरेर बिक्री भइने रहेछ,’ विशालले भने, ‘केही मुखौटो लगाएका दलालले नेपाली समाजमा सुन्दरताको परिभाषा बिगारिदिए। त्यसैको असर यति बेला भोगिरहेका छौँ।’

२१ असोज, २०७८, १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।