मुलपानीमा भेटियो यौन कोठी : किशोरीहरूलाई धम्क्याएर यौन धन्दामा लगाएको आरोपमा श्रीमान्–श्रीमती पक्राउ

मुलपानीमा भेटियो यौन कोठी : किशोरीहरूलाई धम्क्याएर यौन धन्दामा लगाएको आरोपमा श्रीमान्–श्रीमती पक्राउ

काठमाडौँ : काठमाडौँ बाहिरका जिल्लाबाट कामको प्रलोभन देखाएर किशोरीहरू काठमाडौँमा ल्याएर जर्वजस्ती यौन धन्दामा लगाउने गरेको खुलेको छ। 

प्रहरीले मुलपानीको तिवारी टोलको एक घरमा छापा मारेर सीता गोतामे र उनका श्रीमान् रामशरण गोतामेलाई पक्राउ गरेपछि उनीहरूले कोठामा किशोरीहरूलाई राखेर यौन धन्दामा लगाउने गरेको खुलेको हो।

उद्धार गरिएका किशोरीहरू काभ्रे, रामेछाप र सिन्धुलीका हुन्।

किशोरीहरूलाई उनीहरूले आफ्नै घरको कोठामा राखेर यौन धन्दामा लगाउने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशाला र माइती नेपालको टोली गएर आइतबार पाँच जना किशोरीको उद्धार गरेको थियो।

उद्धार गरिएकामा १६ देखि १९ वर्ष उमेरका किशोरीहरू छन्। उनीहरूले नुवाकोट, तादी स्थायी घर भई हाल काठमाडौँ मूल पानी तिवारी टोल बस्ने सीता र रामशरण विरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

माइती नेपालमा मङ्गलवार उद्धार गरिएका किशोरीहरूले काम लगाउने भनेर घरमा २ वटा कोठा भाडामा लिएर जर्वजस्ती यौन धन्दामा लगाउने गरेको बताएका थिए। उनीहरूका अनुसार एक दिनमा १७– १८ जना ग्राहक आउँथे। उनीहरूसँग गोतामे दम्पतीले नै पैसा लिन्थे।

‘ग्राहकले दिएको आधा पैसा दिन्छु भने पनि एक– दुई सय मात्रै दिन्थे,’ एक किशोरीले भनिन्‘

०००

मनीषा (नाम परिवर्तन) १८ वर्ष कि भइन्। तर उनको काखमा ११ महिनाको बच्चा थियो। 

उनको विवाह २ वर्ष अगाडी भएको थियो। बच्चा भएपछि उनको श्रीमान् अर्कै केटी लिएर बेपत्ता भए। उनको बुबालाई रामशरणले ज्यामीको काममा लगाउने गर्थे। उनले रामशरणलाई नै काम खोजिदिन भनिन्।

‘मैले गोतामेलाई काम खोजिदिन आग्रह गरे। उनले तिम्रो छोरा सानै छ। बाबुले जस्तो ज्यामी काम गर्न सक्दैनौ। बरु मेरै घरमा काम गर,’ ती किशोरीले भनिन्।

उनी असोज १० बाट गोतामेको घरमा घरायसी कामको लागि जान थालिन्। घरमा काम गर्न गएको केही दिनपछि  रामशरण कि श्रीमतीले पैसा धेरै कमाई हुन्छ भनेर देहव्यापारमा लगाएको उनको दाबी छ।

‘ मेरो बाध्यताको फाइदा उठाएर रामशरणकी श्रीमतीले जबरजस्ती यौन व्यवसायमा लगाइन्’ माइती नेपालको हलमा उनले भनिन्। उनले ग्राहकसँग सिताले नै पैसा लिने गरेको र आफूलाई प्रतिग्राहक पाँच सय दिन्छु भनेर खातामा लेख्ने गरेको बताइन्।

‘मलाई प्रतिग्राहक ५ सय दिने गरेका छन्। त्यो पनि हातमा नै हैन। खातामा लेख्छन्,’ उनले भनिन्। 

०००

सुनिता (नाम परिवर्तन) करिब ४, ५ वर्ष भयो काठमाडौँ आएको। यहाँ उनी दिदी भिनाजुसँग बसेकी थिइन्। उनको जेठो दाइ केही वर्ष अगाडी दुबई गए। केही समय बसेर उनी नेपाल फर्किए।

घरको आर्थिक अवस्थाको कारण उनले आठ कक्षासम्म मात्र पढिन्। उनले काठमाडौँ आएर गोगबुमा रहेको रोदी घरमा काम गर्न थालेकी थिइन्। त्यहाँ उनले  महिनाको आठ हजारमा पाउँथिन्।

रोधी घरमा एक वर्ष काम गरेपछि उनी दिदी– भिनाजुको मुलपानीमा रहेको कोठामा आइन्। उनी बस्ने घरमै थिइन् सिता।

‘म बस्ने घर सिता गोतामेको रहेछ। दिदी भिनाजु काममा जाँदा म कोठामा एक्लै हुन्थे,’ उनले भनिन्‘ त्यहाँ बस्दा धेरै केटा केटीहरू आएको देख्थे। उनीहरू एकै उमेर समूहका नभएर फरक– फरक उमेर समूहका थिए। मलाई उनीहरू त्यहाँ किन आउँछन् भन्ने थाहा थिएन।’

घरमा आउने केटीहरूसँग कुरा गर्दा सिताले काममा लगाउने सुने पनि के काम भने थाहा नभएको उनले बताइन्।

‘एक दिन सिताले मसँग कुरा गर्दै आफूले भनेको काम गरे मनग्गे कमाइ हुने बताइन्। उनले धेरै नै कर गरे पछि दिदी–भिनाजुलाई थाहै नदिई मलाई उक्त काममा लगाइन्,’ उनले भनिन्। 

दिनको ३–४ जनासँग बस्नुपर्ने र सो बापत प्रति व्यक्ति आ७ सय देखि एक हजारसम्म सिताले पैसा लिने गरेको तर आफूलाई आधा मात्रै दिने गरेको उनले बताइन्। 

‘मलाई काम ठिक नलागेपछि छोड्छु भने। तर उनले गाली गर्दै धम्क्याएर काममा लगाउँथिन्,’ उनले भनिन्‘ काम गर्दिन भन्दा आज अन्तिम पटक भन्दै लगाए।’

अर्की थिइन् लक्ष्मी (नाम परिवर्तन)। उनी पनि २–३ वर्ष देखि गोतामेको घरमा बस्दै आएकी थिइन्। उनलाई गोतामेको घरमा तारा थापाले पुर्याएकी रहिछिन्।

‘घरमा आमा र २ बहिनीहरू छन्।  पैसाको समस्या थियो। बाबुले सौतेनी आमा ल्याएर भक्तपुरमा डेरा गरी बसेका थिए। मलाई घर व्यवहारमा समस्या भएकोले बाध्य भएर कामको बारेमा नसोथी काम गर्न बाध्य भए,’ उनले भनिन्।

उनीहरूले रक्सी र आलु चिप्स बियर, भोडका खुलाई दिनमा दैनिक ३ देखि ५ जनासम्म यौन सम्बन्ध राख्न लगाउने गरेको र उनीहरूले प्रति व्यक्ति एक हजार लिएर ५ सय तिम्रो हो भन्ने गरेको तर ग्राहकहरूले भने २ हजार र १५ सय दिएको सुनाउने गरेको उनले बताइन्।

‘कहिलेकाँही आफ्नो शरीरले नसकी काम गर्न सक्दिन भन्दा पनि सुख पाइदैनथ्यो’ उनले भनिन्‘ अश्लील शब्द प्रयोग गरेर गाली गर्ने, डर देखाउने गर्थे।’ 

सिमरा घर बताउने निशान तामाङसँग भेट भएपछि काममा लगाउने भनेर अर्की किशोरी सीताको घरमा पुगेकी रहिछिन्।

‘मलाई एउटा काम भनेर अर्कोमा लगाइयो। उनीहरूले सुरुमा घरको काम गर्ने भने पनि करिब ३ महिनादेखि त्यस्तो काममा लगाए,’ ती किशोरीले भनिन्‘ मलाई महिनावारी भएको बेलामा पनि जबरजस्ती काममा लगाए।’

बिरामी भएको बेलामा पनि दैनिक ३ देखि ४ जनासम्म यौन सम्पर्क गर्न लगाउने गरेको उनले बताइन्।

प्रहरीले उनीहरूलाई जर्वजस्ती बन्धक बनाएर यौन व्यवसायमा लगाएको र श्रम शोषण गरेको अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

१९ असोज, २०७८, २२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।