इच्छाराज समूहले सहकारीको बचतकर्ताको रकम विदेश लगेको आशङ्का

इच्छाराज समूहले सहकारीको बचतकर्ताको रकम विदेश लगेको आशङ्का

सोमबार साँझ पक्राउ परेका तामाङसहित १२ जनाको विवरण र उनीहरूमाथि अनुसन्धान गरिने कसुर खुलाउँदै ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले मङ्गलवार प्रेस विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमा सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका निक्षेपकर्ता सदस्यहरूले संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि खाताबाट रकम झिक्नको लागि पटक-पटक ताकेता गर्दा पनि फिर्ता नपाएको उल्लेख छ।

आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई लामो समय देखि पटक पटक ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम नपाएको भन्दै कारबाहीको माग गर्दै आएका थिए।

सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्रावधान विपरीत एकै व्यक्ति संस्थापक रहेको विभिन्न परियोजनाहरूमा सहकारीको रकम लगानी गरेको र उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी सो को-अपरेटिभ लिई. जोखिममा रहेको देखिएको विज्ञप्तिमा उल्लेख छ।

सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका विभिन्न परियोजनाहरूबाट निर्माण गरिएका संरचनाहरू बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगी सम्पत्ति शुद्दिकरणको कसुर गरेको हुनसक्ने हुँदा सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसुर गरेको देखिन आएको बिज्ञप्तीमा उल्लेख छ।

सिआइवीले बचतकर्ताहरूको निक्षेप समेत जोखिममा परेको तथा आफ्नो जीवनभरको सानो-सानो बचतबाट सङ्कलित पुँजी दैनिक उपभोग्य तथा स्वास्थ्य उपचार लगायतका अत्यावश्यक काममा प्रयोग गर्नबाट वञ्चित हुनुपरेको भन्दै १ सय ३७ पीडित बचतकर्ताको बचत तथा मुद्दती खातामा रहेको ७० करोड ८७ लाख १३ हजार आठ सय रुपैयाँ रकम सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोपमा तामाङसहित १२ जना पक्राउ गरिएको सिआइवीले उल्लेख गरेको छ।

सिआइबीले अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को-अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुन बमोजिम आवश्यक थप कारबाहीको लागि समेत ब्युरोमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।

को-को पक्राउ परे ?

ब्युरोका अनुसार बचतकर्ताको रकम ठगी गरेको आरोपमा सिभिल सहकारीसँग जोडिएका १२ जना छन्। ब्युरोले सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष, पूर्व सभासद् एवं सिभिल बैङ्कको अध्यक्ष इच्छाराज तामाङ , सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ , सहजकर्ता प्रबन्धक  भगवान् बहादुर सिंह , यजुनिर असिस्टेन्ट मेनेजर  

मानामानी महर्जन , यजुनिर असिस्टेन्ट मेनेजर  एलिना तुलाधर , यजुनिर अधिकृत  शङ्कर प्रसाद पाठक , असिस्टेन्ट  सङ्गीत श्रेष्ठ , लेखा अधिकृत राकेश महर्जन , यजुनिर  सहायक प्रबन्धक  बुद्धराज तामाङ , यजुनिर  सहायक प्रबन्धक कौस्तुभ केतन ढुङ्गाना , सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र  पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने छन्।

१९ असोज, २०७८, १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।