सोल्टिमोडका पानवाला : किसुनजी नियमित ग्राहक, पूर्वराजाको त्यो तारिफ

सोल्टिमोडका पानवाला : किसुनजी नियमित ग्राहक, पूर्वराजाको त्यो तारिफ
तस्बिर : कृष्पा श्रेष्ठ

२०४० साल। जनकपुरबाट काठमाडौंका लागि जनज्योति बस सञ्चालनमा आएको दुई वर्ष भएको थियो। त्यतिबेला एसएलसी दिँदै थिए, जनकपुर नगरपालिका-१३, पिढारीका रामबाबु साह।

स्कुले जीवनमै काठमाडौंको बारेमा धेरै कहानी सुनेका थिए रामबाबुले। जनकपुरबाट काठमाडौं आउन पनि त्यति समस्या थिएन, जनज्योति बसका कारण। बस सञ्चालनमा आएपछि धेरै धनुषाबासी पशुपतिनाथलाई भेट्न काठमाडौं आए। 

रामबाबु पनि कानले सुनेको सहरको तारिफ आफ्नै आँखाले देख्न ३५ रुपैयाँ बोकेर काठमाडौंको गाडी चढे सोही साल।

गाडी चढिरहँदा उनको दिमागमा काठमाडौंका मान्छे कस्ता होलान्?, भोलेनाथ बस्ने ठाउँ कस्तो होला?, आँखाले के-के नयाँ देख्छ होला?, देश-विदेश जाने ठाउँ कस्तो होला? यस्तै-यस्तै प्रश्नहरु थिए। यी प्रश्नको उत्तर पाउन उनलाई केही घन्टामात्र कुर्नुपर्ने थियो।

०००
निम्न आर्थिक अवस्थाको परिवार थियो रामबाबुको। ब–आमा बटैया गर्थे। आफ्नो एक बिघा जमिन थियो। खान जसोतसो पुगेको थियो। किसानी पेसाको विकल्प थिएन।

रामबाबु भने खेती–किसानी गर्न उति मन पराउँदैनथे। आफ्नो खेतको बालीले मात्र पेट पाल्न नपुग्ने, अरुको बटैया ग¥यो, दुःख धेरै। ब–आमाको किसानीले मिहिनेत अनुसारको फल दिएको छैन भन्ने उनलाई लागिरहन्थ्यो। त्यसैले उनी किसान नबन्नेमा पक्का थिए। 

त्यसो भए के बन्ने त? उनीसँग त्यसको उत्तर पनि थिएन।

रामबाबुका पितालाई पनि आफ्ना दुई छोरा अनपढ भएर आफू जस्तै किसानीमा नअल्झिउन् भन्ने लाग्थ्यो रे। दुई भाइले नै एसएलसी राम्रोसँग पास गरे। 

गाउँमा रामबाबुको इमान्दार केटो छवि थियो। उनी धार्मिक पनि थिए। २० वर्षको उमेरमा नै एसएलसी दिएका थिए।

त्यसबेला एसएलसीसम्म पढ्नु गजबको कुरा थियो। जागिर पाउन पनि उति समस्या हुन्नथ्यो। पढेलेखेका मान्छे कम हुन्थे, त्यसैले अवसर धेरै हुन्थ्यो। उनको लागि गाउँमै धेरै विकल्प पनि आउन सक्थे। तर रामबाबुलाई सहर देख्ने रहर जाग्यो। 

०००
जनज्योति बसमा चढेर काठमाडौंको  रत्नपार्क झर्दासम्म पनि उनी सुनेको सहर देखेर गाउँ फकिर्ने, गाउँ फर्किर जागिरे बन्ने सोचमा थिए। तर केमा जागिर गर्ने रामबाबुलाई नै थाहा थिएन।

उसो त उनलाई आफ्नो समाजका मान्छे नै राम्रो नलाग्दो रहेछ। सकभर छलकपट गर्ने समाजको प्रवृत्तिदेखि उनी वाक्क थिए।

‘गाँउमा हुदाँ मान्छेले काठमाडांैको खुब तारिफ गर्थे। राजा बस्ने ठाउँ। मान्छे देश–विदेशबाट आउने ठाउँ। पशुपतिको भूमि। मान्छेहरु भन्थे, काठमाडौंमा पशुपतिनाथ मात्र होइन, मान्छे नै पनि पशुपतिजस्तै दयालु छन्। 

०००
दिउँसो ३ बजे रत्नपार्कमा जनज्योति बस रोकियो। यात्रुहरु झरेर आफ्नो गन्तव्यमा लम्किन थाले। अरु यात्रु जस्तै रामबाबु पनि बसबाट ओर्लिए र पहिलो पटक काठमाडौं सहरमा उभिए। 

न कतै चिनेजानेका मान्छे छन् न बस्ने नै कुनै ठेगाना छ। अहिले जस्तो सहजै बास बस्ने होटलहरु पनि थिएन उतिबेला। 

दोहोरीलत्त सडकमा हिँडिरहेका मान्छेहरु। सडक किनारमा व्यापार गरिरहेका साना व्यापारी। हतारमा गुड्दै गरेका गाडी। हँसिला–रसिला अनुहार। कथामा सुनेको रामराज्य यही नै हो जस्तो लाग्यो उनलाई।

पाँच मिनेट रत्नपार्कको सिसौको रुखमुनि उभिएर सोच्दा रामबाबुलाई मनले रोजेको ठाउँ त काठमाडौं पो रहेछ भन्ने लागिहाल्यो।

‘पशुपति दर्शन गर्छु। यसो यताउता घुम्छु र गाउँ  फर्कन्छु भन्ने मनमा थियो,’ रामबाबु सम्झन्छन्, ‘तर काठमाडौं झर्ने वित्तिकै मन त फेरिइहाल्यो। जसले जे गर्दा पनि भएको छ सफा मनले। मलाई चाहिएको पनि यस्तै समाज थियो।’

काठमाडौं त आए तर उनलाई खाने–बस्ने समस्या प¥यो। उनी जाने ठाउँ कतै थिएन। सडक किनारामा उभिएर साना व्यपारीको व्यापार हेर्दै थिए। उनको खुट्टा एकाएक एक जना कपडा व्यापारीतर्फ अघि बढ्यो।

‘दाइ, म भर्खर काठमाडौं आएको। कतै चिनेको छैन। मलाई पाँच रुपैयाँको लुगा दिनूस्। म पनि तपाईंसँगै बसेर बेच्छु,’ उनी भन्छन्, ‘विराटनगरतिरका थिए ती व्यापारी। तिनले फ्याट्टै मलाई लुगा दिए र उनकै छेउमा व्यापार गर्न थालें। त्यतिबेला गाडीबाट ओर्लिएको १० मिनेट पनि भएको थिएन होला।’

घरबाट ल्याएको १० रुपैयाँ गोजीमै थियो। विनायोजना राजधानीको सडकमा कपडा व्यापारी बने रामबाबु। तिनै कपडा दिने व्यापारीले उनलाई तीन दिनसम्म भोटेबहालस्थित आफ्नै डेरामा राखे। कपडा बेचेपछि मात्र लिए, पैसा पनि। उनले विना लगानी व्यापार सुरु गरे।  

विना लगानी सुरु गरेको व्यापारबाट रामबाबुले तीन दिनमा ६० रुपैयाँ कमाइसकेका थिए। 

‘चौथो दिन ११ बजेतिर हामी सुन्धरामा सडकमा लुगा पसल राखेर बसेका थियौं। एक पानवाला पान बेच्दै आए,’ उनी सुनाउँछन्, ‘तराईको मान्छे पान त खाइरहेकै हो। खाउँखाउँ लाग्यो। खाएँ।’

पान खाँदै गर्दा रामबाबुले पानवालासँग अन्तर्वार्ता नै गरे रे। पान बेच्नुको फइदाको लामै लिस्ट उनले फेला परे।

‘पानवालाको एक कुराले मलाई निकै प्रभाव पा¥यो। तिनले काठमाडौंमा पान खाने त ठूला मान्छे बढी हुन्छन्। पैसामा पनि किचकिच गर्दैनन् भने,’ उनी भन्छन्, ‘लुगा बेच्नभन्दा पान बेच्न सजिलो हुन्छ जस्तो लाग्यो।’

त्यसपछि रामबाबुले आफूले बेच्न ल्याएको लुगा तिनै पसलेलाई फिर्ता दिए। भोटेबहालमा डेरा खोजे। 

‘कोठा खोजेपछि सुन्धारामा तिनै पान व्यापारीसँग होलसेलमा गएँ। उनी भन्छन्, ‘भोलिपल्टबाटै १५ रुपैयाँ लगानीमा सुन्धरामा जस्ताले बारेको सानो टहरोमा पान पसल राखें। नगरपालिकाले पनि बस भन्यो। त्यहाँ मैले १० वर्ष पान बेचें।’

०००
सुरुसुरुमा ग्राहकले नै पान बेर्न सिकाउनुपर्ने रामबाबुले विस्तारै पानका पत्ताका बारेमा बुझ्दै गए। कत्था दल्न सिक्दै गए। मिठा पानमा उनको हात बस्यो। विस्तारै सबै खाले पान बनाउन थाले। अहिले सयौंथरीका पान बनाउँछन् रामबाबु।

‘ग्राहकले सिकाएको पान व्यापारी हुँ म,’ उनी भन्छन्, ‘आज मेरो पान ठूलाठूला होटलसम्म पुग्छ। विदेशमा समेत मेरो पानको चर्चा हुन्छ।’

०००
काठमाडौं घुम्न आएका रामबाबु गाउँ फर्किएनन्। श्रीमती र दुई छोरालाई पनि २०४५ सालमा काठमाडौं बोलाए। कान्छा छोरा यतै जन्मे। अहिले उनको परिवार नै पानको व्यापार गर्छ।

‘जेठो छोराको जैसिदेवलमा पान पसल छ। माइलोको पाटनमा छ। कान्छो छोरा र म  सोल्टिमोडमा छौं,’ उनी भन्छन्, ‘काठमाडौं त मेरो लागि भगवान नै भयो।’ 

ती लुगा पसले जसले लुगा दिए। ती पानवाला जसले पानको व्यापारबारे जानकारी दिए। ती मान्छेहरु आफ्नो जीवनका देवता हुन् भन्छन् रामबाबु।

‘तर ती मान्छेहरु आज कता छन् थाहा छैन।  तिनीहरुको नाम पनि थाहा छैन। उनीहरु जहाँ छन् खुसी रहून्,’ रामबाबु पुरानो कुरा सम्झन्छन्।

०००
१० वर्षमा पानका पात, प्रकार र आकार सबै कन्ठस्थ भइसकेको थियो रामबाबुलाई।

भाग्य चम्कने दिन नजिक आयो उनको। एक भारतका व्यापारी थिए, सोल्टी होटल अगाडि पान पसल चलाउने। उनको पान राजधानीमा प्रख्यात पानमा गनिन्थ्यो। एक दिन रामबाबु ती व्यापारीकहाँ पुगे।

‘ती व्यापारीले पान पसल बेच्न खोज्दै रहेछन्। नाम चलेको पान पसल, त्यो पनि सोल्टी अगाडि, उनी भन्छन्, ‘२५ हजारमा टहरो सहित किनें। त्यसपछि मेरो पान यात्राले छलाङ मा¥यो।’

सुन्धाराको टहरोबाट परिवार पाल्न सहज त भयो। तर सोचेजस्तो कमाई भएन। जब उनी सोल्टी अगाडिको पान पसलमा पुगे तब व्यापार बढ्न थाल्यो। तर पनि ठूलाबडा मान्छे कोही आएनन्।

सुन्धारामा पान बेचिरहँदा उनका ग्राहक मारबाडी बढी थिए। तिनैको संगत झन् फस्टाउन थाल्यो सोल्टीमा पान पसल थापेपछि। 

उनी मारबाडीको विहे, ब्रतबन्ध या कुनै उत्सवमा पान लिएर जान थाले। यस्तै क्रम चल्दै थियो। 

उनले भारतीय पानवालासँग किनेको सोल्टीअघिको छाप्रो छोड्नुपर्ने भयो किनेको दुई वर्षमै। त्यसपछि उनी सोल्टिमोड चोकमा आइपुगे।

‘चोकमा आएपछि फेरि कमाल भयो। मेरो पानको चस्काले किसुनजी (कृष्णप्रसाद भट्टराई) जीलाई छोयो,’ रामबाबु सुनाउँछन्, ‘सुरुसुरुमा पिएलाई पठाउनुहुन्थ्यो। पछि त उहाँ आफैं आउन थाल्नुभयो।’ 

त्यसपछि उनको श्याम पान भण्डार किसुनजीका कारण चर्चामा आयो। धेरै राजनीतिक भोजहरुमा उनी पान लिएर पुग्थे। किसुनजीपछि कांग्रेस नेता गोपालमान श्रेष्ठ उनका पानका पारखी भए। 

‘गोपालमानसँग त मेरो अहिले पनि पारिवारिक सम्बन्ध जस्तै छ,’ उनी भन्छन्, ‘पान खाने मान्छे ती पानवालाले भने जस्तै साँच्चै राम्रा हुने रहेछन्।’

रामबाबुले आफ्ना पान पसलमा ‘किसुनजीले पान खाने ठाउँ’ भनेर भित्तामा टाँसेर राखेका रहेछन्। ‘मान्छेहरु ओहो! गजबको ठाउँ रहेछ भन्छन्,’ उनी भन्छन्, ‘गोपालमानको पनि फोटो राखेको छु मन्त्री भएदेखि।’

०००
१० वर्षअघि जावलाखेलमा एक भव्य पार्टी थियो। सोही पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी रहेछन्। त्यो पार्टीमा पानको जिम्मा रामबाबुको थियो। पार्टीमा ज्ञानेन्द्रले पनि अरु सहभागीले जस्तै पान खाए।

‘ज्ञानेन्द्र शाहले पान मुखमा हालेपछि एकछिन स्वाद लिनुभयो। अनि हामीतिर हेर्नुभयो। हामी पान बनाएर दिँदै थियौं,’ शाह सुनाउँछन्, ‘त्यसपछि उहाँले हात उठाएर हल्लाउनुभयो। अनि एक छिनसम्म मुठी कसेर बुढी औंला देखाउनुभयो।’

साधारण जनताको हातबाट बनेको पानको तारिफमा पूर्वराजाले हात हल्लाउनु रामबाबुलाई ठूलै कुरा हो जस्तो लाग्छ।

पान नै आफ्नो ज्यान भएको बताउँदै रामबाबु भन्छन्, ‘जस्तै पान पनि अर्डर अनुसार बनाउन सक्छु। पान खानेको मुखमा, स्वाद मेरो मुखमा, तब न म पानवाला।

१८ असोज, २०७८, १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।