३५ वर्षका किशोर अर्बका मालिक : सुनखानीदेखि रियल स्टेटसम्म शङ्कास्पद लगानी  

३५ वर्षका किशोर अर्बका मालिक : सुनखानीदेखि रियल स्टेटसम्म शङ्कास्पद लगानी   

काठमाडौँ : नेपाली पासपोर्ट प्रयोग गरी विभिन्न देशमा झन्डै एक दर्जन कम्पनी स्थापना गरेका ३५ वर्षीय किशोर राना शङ्कास्पद कारोबारबाट अर्बका मालिक भएको देखिन्छ।

प्यान्डोरा लिक्समा समावेश विवरण अनुसार सन् २०१७ मा थाइल्यान्डको सुकुम्भित रोडमा बस्दै आएका रानाले कर्ण इन्भेस्टमेन्ट लिमिटेड कम्पनी स्थापना गरेका छन्।

उनले क्रिप्टो करेन्सी बिक्री गरेर आएको रकमले कर्ण इन्भेस्टमेन्ट कम्पनी खोल्ने प्रयास गरेका थिए। सिंगापुरस्थित ल फर्म एशियासिटी ट्रस्टका कर्मचारीहरूले एक आपसमा गरेको इमेल आदानप्रदान विवरण अनुसार उक्त काम मापदण्ड भन्दा बाहिरको थियो।

तर किशोरले क्रिप्टो करेन्सीको कारोबार लगायतको काम गर्ने गरी २५ जुलाई २०१७ मा हङकङमा कर्ण इन्भेस्टमेन्ट नामक कम्पनी खोल्न सफल भए। किशोरको यो कम्पनीको सचिव कम्पनी हङकङस्थित एटीजी सेक्रेटरिज् लिमिटेड हो।

३१ मे २०१७ मा ब्याङ्क अफ सिंगापुरले किशोरका नाममा जारी गरेको ब्याङ्क स्टेटमेन्ट अनुसार उनको क्यानडाको इल्डोराडो गोल्ड कर्पोरेसनमा पनि ६००२९.४ अमेरिकी डलर मूल्य बराबरको २० हजार कित्ता शेयर छ। इल्डोराडोले अमेरिका, युरोप र एसिया क्षेत्रका विभिन्न खानीहरूमा लगानी तथा कारोबार गर्छ।

क्यानडाको गोल्ड स्ट्यान्ड भेन्चर कर्पमा पनि रानाले ९० हजार २ सय कित्ता शेयर लगानी गरेका छन्। उक्त ब्याङ्क स्टेटमेन्ट अनुसार उनले तत्कालीन मूल्य अनुसार प्रति कित्ता २.३२९६२ अमेरिकी डलरका दरले २ लाख १० हजार १३१.७२४ अमेरिकी मूल्य बराबरको शेयर किनेका हुन्।

यस्तै उनले क्यानडाको तान्जनिया रोयल्टी एक्स्प्लोरेसनमा एक लाख कित्ता शेयर लगानी गरेका छन्। रानाले प्रति शेयर ०.४८०६८ सेन्टका दरले उक्त सङ्ख्याको शेयर कुल ४८ हजार ६८ अमेरिकी डलर रकममा लगानी गरेका हुन्। यो मिनिरल तथा सुन खानी सञ्चालन गर्ने कम्पनी हो।

उनले क्यानडाको बोन्टेरा रिसोर्सेज् इंक कम्पनीमा पनि दुई लाख कित्ता शेयर लगानी गरेका छन्। उनले प्रति कित्ता ०.३२०६६ क्यानेडियन डलरमा कुल ६४ हजार १३२ क्यानेडियन डलर मूल्य बराबरको शेयर खरिद गरेका हुन्। बोन्टेरा कम्पनीले विभिन्न मुलुकमा सुन खानी सञ्चालन गरिरहेको छ।

क्यानडाको इन्टिग्रा गोल्ड कर्पोरेसनमा पनि उनले एक लाख ५० हजार कित्ता शेयर लगानी गरेका छन्। उनले प्रति शेयर ०.७७९९२ क्यानेडियन डलरका दरले उक्त कम्पनीमा एक लाख १६ हजार ९८८ क्यानेडियन डलर लगानी गरेका छन्। इन्टिग्राले सुन उत्पादनको काम गर्दै आएको छ।

क्यानडाकै ओर्का गोल्ड इंकमा पनि उनले प्रति कित्ता ०.४३६७९ क्यानेडियन डलरका दरले १ लाख ७ हजार ५०० कित्ता शेयर ४६ हजार ९५४.९२५ क्यानेडियन डलरमा खरिद गरेको देखिन्छ। यो कम्पनीले पूर्वी अफ्रिकामा सुन खानीहरू सञ्चालन गरिरहेको छ।

क्यानडाको प्योर गोल्ड माइनिङ इंक नामक अर्को सुन खानी सञ्चालन गर्ने कम्पनीमा उनले ६० हजार कित्ता शेयर लगानी गरेका छन्। रानाले उक्त कम्पनीमा प्रति कित्ता ०.६८३०५ क्यानेडियन डलरका दरले कुल ४० हजार ९८३ मूल्य बराबरको शेयर खरिद गरेको खुलेको छ। यो विश्वकै सबैभन्दा ठूलो सुन खानी सञ्चालन गर्ने कम्पनीमा पर्छ।

किशोरले ३ फेब्रुअरी २०१७ मा क्यानडाको क्यामेको कर्पोरेसनमा १० हजार कित्ता शेयर लगानी गरेको पाइएको छ। यो विश्वकै ठूलो युरेनियमको व्यापार गर्ने कम्पनी हो। यो सबै विवरण ३१ मे २०१७ मा ब्याङ्क अफ सिंगापुरले किशोरका नाममा जारी गरेको ब्याङ्क स्टेटमेन्टबाट देखिएको हो।

सोही ब्याङ्क स्टेटमेन्ट अनुसार रानाले अमेरिकाको युरेनियम रिसोर्सेज् इंकमा ३० हजार कित्ता शेयर लगानी गरेका छन्। उनले प्रति कित्ता १.९८७६० अमेरिकी डलरका दरले ५९ हजार ६२८ अमेरिकी डलर मूल्य बराबरको शेयर खरिद गरेको सम्बद्ध कागजातले देखाउँछ।

थाइल्यान्डको सुकुम्भित रोडमा समेत बस्ने उनको अर्को मुकाम सिंगापुर हो। सिंगापुरको कम्पनी दर्ता गर्ने एजेन्टको कार्यालयमा पेस गरेको विवरण अनुसार उनी त्यहाँका गैर आवासीय नागरिक हुन्।

उनको कम्पनी कर्ण इन्भेस्टमेन्ट हङकङमा दर्ता भएकाले उनी त्यहाँ पनि बस्ने गरेका छन्। यसअघि आईसीआईजे र नेपालस्थित खोपकेले गरेको खुलासामा पनि रानाको नाम उल्लेख थियो।

“आईसीआईजेकै सन् २०१७ को प्याराडाइज पेपर्सले सार्वजनिक गरेको सूचीमा पनि नेपाली नागरिक किशोर रानाको नाम थियो” सन् २०१९ मा खोपकेले गरेको नेपालिक्स खुलासामा भनिएको छ, 'इचङ्गु काठमाडौँ ठेगाना उल्लेख भएका रानाले ट्याक्स हेभन मुलुक माल्टामा सेलेस्टियल इन्भेस्टमेन्ट लिमिटेड कम्पनीमा लगानी गरेका छन् । माल्टास्थित कम्पनीको पुरै शेयर उनको नाममा छ ।'

रानाले भर्चुअल मुद्राको कारोबारका लागि खाता खोल्ने क्रममा बेलायतको बिटस्टाम्प लिमिटेडले लगानीको स्रोत खोज्दै इमेल गरेको विवरणहरू फेला परेको छ।

यसमा प्रतिक्रिया दिँदै रानाले कम उमेरमै यसमा लगानी थालेको र उनको व्यक्तिगत बचत तथा धेरै ठाउँमा गरेको लगानीको आम्दानी नै यसको स्रोत भएको बताएका छन्।

रानाले कर्ण इन्भेस्टमेन्ट लिमिटेडका नाममा सिंगापुरको बैङ्क अफ सिंगापुरमा पनि भर्चुअल मुद्रा कारोबारका लागि खाता खोलेका छन्।

सिंगापुरको युनाइटेड ओभरसिज ब्याङ्क लिमिटेडले पटक–पटक उनको आर्थिक स्रोतबारे प्रश्न गरेको छ।

किशोरको अथाह मौज्दात

हङकङको युनाइटेड ओभरसिज् ब्याङ्क लिमिटेडमा रहेको कर्ण इन्भेस्टमेन्ट लिमिटेडको खातामा भएको विवरण अनुसार ३१ जनवरी २०१९ सम्ममा कम्पनीको खातामा २ लाख ४८ हजार ६३१.५९ अमेरिकी डलर जम्मा भएको देखिन्छ।

यो मितिसम्ममा कम्पनीको खाताबाट उक्त रकममध्ये ३५ हजार ९८२.३ अमेरिकी डलर निकालेको देखिन्छ। यसबाहेक किशोरको व्यक्तिगत ब्याङ्क खातामा पनि रकम जम्मा भएको देखिन्छ ।

३१ मे २०१७ मा ब्याङ्क अफ सिंगापुरले किशोर रानाका नाममा जारी गरेको ब्याङ्क स्टेटमेन्ट अनुसार उनको क्यास, सजिलै क्यासमा रूपान्तरण गर्न सकिने वस्तु (जस्तै सुन वा चाँदी) र अन्य विभिन्न स्रोत बापत गरी कुल झन्डै दुई लाख अमेरिकी डलर बराबरको रकम थियो।

ब्याङ्कको रेकर्ड अनुसार ३१ मे २०१७ सम्ममा उनको शेयरमा मात्र ५ लाख ६० हजार २९७.९६ अमेरिकी डलर लगानी भएको देखिन्छ। यसरी विभिन्न स्रोतबाट उनले ३१ मे २०१७ सम्ममा कुल ७ लाख ३० हजार ६९० अमेरिकी डलर बराबरको रकम उनको खातामा जम्मा गरेको देखिन्छ।

रानालाई ह्वाट्स एपमार्फत सम्पर्क गरेर उनको अफशोर कम्पनीमा लगानी र क्रिप्टोकरेन्सीको कारोबार बारे प्रतिक्रिया माग्दा उनले ‘नेपालसँग कुनै कनेक्सन नभएको’ भन्दै प्रतिक्रिया दिन मानेनन्।

को हुन् किशोर ?

किशोर रानाको बायोडेटा अनुसार उनले सन् २०१२ मा अमेरिकाको फ्लोरिडास्थित एम्ब्री रिडल एरोनटिकल युनिभर्सिटीबाट एरोनटिकल साइन्समा स्नातक तहको अध्ययन गरे। त्यसपछि उडान प्रशिक्षकका रूपमा काम गरेका उनी सन् २०१४ मा नेपाल आएका थिए। परिवारसँग नजिक रहनका लागि उनी थाइल्यान्ड गएको विवरण फेला परेको छ।

सन् २०१५ मा उनले आफ्नो परिवारबाट एक करोड अमेरिकी डलर रकम विरासतमा पाएको बायोडेटामा उल्लेख छ। उनी थाइल्यान्डमा ३० लाख अमेरिकी डलर मूल्य बराबरको रियल स्टेट सम्पत्तिको मालिक भएको पनि कागजातमा देखिन्छ।

सिंगापुरको टौरस वेल्थ एडभाइजर नामक कम्पनीका प्रबन्ध निर्देशक धीरज भर्वानीले एशियासिटीका कर्मचारीलाई इमेल मार्फत पठाएको विवरण अनुसार उनले सुरुआतमा स्टार्टअप प्रविधि र विद्युतीय मुद्रामा लगानी गरेका थिए।

किशोरले भर्वानीलाई सिंगापुरको ईएफजी बैङ्कमा खाता खोल्नका लागि उक्त विवरण पठाएको देखिन्छ। कम्पनीमा के कसरी लगानी गर्ने भन्नेबारेमा परामर्श दिने धिरजसँग किशोर पनि सोही कामको लागि सम्पर्कमा आएको देखिन्छ।

*सिआइजेले १६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी शिर्षकमा प्रकाशित  सामाग्रीमा रहेको रानाबारेको सामाग्रीको सव हेडलाइन परिवर्तन गरेर प्रकाशित गरिएको हो

१७ असोज, २०७८, ००:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।