सिआइजे खुलासा : विदेशमा अवैध लगानी गर्नेमा खर्बपति विनोददेखि गुण ग्रुपका शाक्यसम्म

सिआइजे खुलासा : विदेशमा अवैध लगानी गर्नेमा खर्बपति विनोददेखि गुण ग्रुपका शाक्यसम्म

काठमाडौँ : नेपालको २ व्यापारिक घराना चौधरी समूह र गोल्छा समूहले ट्याक्स हेभन मुलुकमा कम्पनि खोलेर अबैध रुपमा लगानी गरेको खोज पत्रकारिता केन्द्र (सिआइजे) ले खुलाएको छ। आइसिआइजेले केन्द्रलाई उपलब्ध गराएको विवरणलाई आधार बनाएर केन्द्रले चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिस भर्जिन आइल्याण्ड, सिंगापुर र पनामामा कम्पनीहरु रहेको रिपोर्टमा उल्लेख छ।

केन्द्रका अनुसार चौधरी समूहका सदस्यको नाममा ब्रिटिस भर्जिनमा तीन, सिंगापुरमा एक र पनामामा एक कम्पनी दर्ता रहेको खुलेको छ।

‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिस भर्जिन आइल्याण्डमा सिनोभेसन इन्कर्पोरेटेड, सिजी होटल्स एण्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामका कम्पनी चौधरी परिवारका सदस्यहरूको नाममा दर्ता छ,' सिआइजेको रिपोर्टमा उल्लेख छ।

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैङ्कमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् ।

तर चौधरीले पुस्तकै लेखेर आफूले कसरी छलेर विदेशमा लगानी गरिरहेको सोबारे उल्लेख गरेका थिए। चौधरी आफैँले लेखेको पुस्तकै सो कानुन अनुसार कारवाहीका लागि प्रमाण समान हुनसक्ने भए पनि हालसम्म विदेशमा उनले अवैध रूपमा गरेको लगानीबारे सरकारी तहबाट अनुसन्धान भएको छैन। लामो समय एमालेमा आबद्ध चौधरी अहिले नेपाली काँग्रेसको समानुपातिक सूचीबाट सांसद छन्।

चौधरीले उनका छोरा राहुल र वरुणले गैर आवासीय नेपालीको हैसियतमा विदेशमा लगानी गरेको दाबी गर्दै आएकोमा प्यान्डोरा लिक्सका अनुसार, विनोद चौधरीको श्रीमती सारिकादेवी र जेठा छोरा निर्वाणको नाममा समेत ब्रिटिस भर्जिन आइल्याण्डमा लगानी भेटिएको छ।

'ब्रिटिस भर्जिन आइल्याण्डको सिनोभेसन इन्कर्पोरेटेडमा उनी सहित परिवारका पाँच जना सदस्यको लगानी रहेको भेटिएको छ,'सिआइजेको रिपोर्टमा उल्लेख छ'सिंगापुरको सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा उनका तीन छोरा र श्रीमतीको लगानी छ।'

गोल्छा पनि अफसोरमा

सिआइजेको रिपोर्ट अनुसार गोल्छा परिवारका लोकमान्य गोल्छा, उनका दिवङ्गत दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी रहेको खुलेको छ।

‘फ्ल्याटउड लिमिटेड’ नामक कम्पनीमा उनीहरुको लगानी रहेको खुलेको हो।

'जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्ड अनुसार उक्त कम्पनी मार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्याण्डस्थित बार्कलेज बैङ्कमा खाता पनि खोलेका छन्,' रिपोर्टमा उल्लेख छ'उक्त खाता सञ्चालनका लागि १२ फेब्रुअरी २००८ मा दिवाकर, हितेश र लोकमान्य गोल्छालाई कम्पनीले अधिकार दिएको कागजातबाट स्पष्ट हुन्छ।'

पुराना खेलाडीका नयाँ खुलासा

सिआइजेले यस अगाडि नै ट्याक्स हेभन देशसँग कारोबारमा संलग्न रहेको भन्दै सार्वजनिक गरिएका अजेयराज सुमार्गीको अफशोर कारोबारका थप विवरण समेत सार्वजनिक गरेको छ। सुमार्गीका साझेदार अर्जुन शर्माको पनि ट्याक्स हेभन देशमा कम्पनी रहेको रिपोर्टमा उल्लेख छ।

गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्य समेत यो प्रकरणमा जोडिएका छन्। रिपोर्ट अनुसार ब्रिटिस भर्जिन आइल्याण्डको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुलचोक ललितपुरका राजेन्द्र शाक्यको लगानी छ।

गुण ग्रुपले गुण एयरलाइन्ससँगै सहकारी र घरजग्गामा लगानी गर्दै आएको छ। नेपालमा किया गाडिका बिक्रेता सुह्रदराज घिमिरे र उनका साझेदार पुरुषोत्तम पौडेल, बनवारीलाल मित्तलका छोरा सुधीर मित्तलले समेत अवैध रूपमा विदेशमा कम्पनी खोलेर लगानी गरेको सिआइले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरेको छ।

१७ असोज, २०७८, २३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।