किशोरीहरूलाई किन मन पर्दैन नेपाली फिल्म ?

किशोरीहरूलाई किन मन पर्दैन नेपाली फिल्म ?
साङ्केतिक तस्बिर

काठमाडौं : कलंकी बस्ने रवीना मानन्धरले फिल्म ‘प्रसाद’ हलमै पुगेर हेरिन्। १७ वर्षकी रवीनालाई फिल्मको गीत ‘लैलै लैलै कठैबरीलै’ले फिल्म हेर्न हलसम्म तानेको थियो। उनले चलचित्र हेरिरहँदा कलाकारको अभिनयमा खोट लगाउने ठाउँ भेटिनन्। तर फिल्म हेर्दा उनलाई कथावस्तु भने मन परेन।

१२ कक्षाको परीक्षा सकेर 'फिल्म' पढ्ने योजना बनाएकी रवीनालाई महिला कलाकारलाई चलचित्रमा जसरी प्रस्तुत गरियो, त्यो फिटिक्कै मन परेन। उनले भनिन्, ‘फिल्ममा सुरुमा महिला पात्र बोल्ड छिन्। बाहुनकी छोरी भएर पनि एउटा गरिब दलित केटोसँग परिवारको विरुद्धमा गएर विवाह गरेकी छन्। तर उनले बलात्कारबाट जन्मिएको बच्चा स्वीकार्नू विरोधाभाषपूर्ण लाग्यो।’

रवीना प्रश्न गर्छिन्– ‘त्यस्ती साहसी पात्रले बलात्कारबाट जन्मेको बच्चालाई प्रसादको रूपमा ग्रहण गरेको देखाउन मिल्छ?’

चलचित्रको प्रभावमा आएर समाजमा यस्तै घटना भए महिलाहरूले विद्रोह गर्न छाडी स्वीकार्दै जाने प्रवृत्ति बढ्न सक्ने भन्दै उनले चिन्ता पोखिन्। 

रवीना फिल्मसँग जोडिएका विषय खोजीखोजी पढ्छिन्। अन्तर्राष्ट्रिय अवार्ड पाएका फिल्महरू हेर्छिन्। तर विषय राम्रै लागेर हेरेका नेपाली फिल्मले भने आफूलाई नतान्ने उनले बताइन्।

यता एनिमेशन फिल्म तथा सिरिजकी पारखी कोटेश्वरकी १६ वर्षिया सन्तोषी सिंखडालाई पनि नेपाली फिल्मले आकर्षित गर्दैन। उसो त एनिमेटेड नेपाली चलचित्र खासै बनेका पनि छैनन्। जसोतसो उनले केही नेपाली फिल्म हेरिन् तर उनलाई मन परेन।

‘हलमा गएर ‘छक्का पञ्जा’ हेरेकी थिएँ। परिवारसँग हेरेको फिल्म खासै मज्जा आएन,’ उनले भनिन्, ‘फिल्म हेरेर अरू हाँसिरहेका थिए तर मैले हाँस्ने ठाउँ नै पाइन।’

अर्की किशोरी १७ वर्षिया आंशिका जिसीले पनि ‘छक्का पञ्जा २’ हेरिन्। तर विदेश जान मरिहत्ते गर्ने एक पात्रले उनलाई रिस उठाएछ।

‘पैसा हुनेहरू भिजिट भिसामा विदेश जान सक्छन्। पढाइ हुनेहरू पढ्न विदेश जान सक्छन्,’ उनले भनिन्, ‘बरु आजभोली केटाहरू डिपेन्डेन्ट भिसामा जान जे पनि गर्छन्। केटीहरूले केटाहरूलाई डिपेन्डेन्टमा लैजाने चलन चलेको बेला, फिल्मले भने उल्टो देखाइरहेको छ।’

संयोगवश फिल्म हेर्न गएको समयमा उनी विदेश जाने तयारीमा थिइन्। फिल्म हेरेर घर आइसकेपछि उनका अभिभावकले कतै छोरी नक्कली विवाह गरेर डिपेन्डेन्टमा जान लागेको त हैन भन्ने शंका गरेछन्।
०००
प्राय: फिल्म निर्माता तथा निर्देशकहरूले आफ्नो फिल्म युवा पुस्ताले नरुचाएकोमा गुनासो गर्छन्। तर उनीहरूले किन नेपाली फिल्म रुचाउँदैनन् भन्ने पक्षमा भने उनीहरूले सोधखोज गरेको भेटिन्न।

हालै प्लान इन्टरनेशनल नामक संस्थाले नेपाली फिल्मलाई अहिलेका किशोरीहरूले कसरी लिइरहेका छन् भनेर अध्ययन गरेको थियो। अध्ययनले ‘महिलालाई सधैं रुढीवादी ढंगले देखाउने गरेकाले अहिलेका किशोर–किशोरीलाई नेपाली फिल्म मन नपर्ने' निश्कर्ष निकालेको छ।

सो रिसर्चमा ४७ वटा चलचित्र र अन्य २८ वटा टेलिभिजन कार्यक्रम, अनलाइन सामग्री र विज्ञापन गरी ७५ वटा सामाग्री देखाएर उनीहरूको धारणा बुझिएको थियो। करिब ६ महिनाको अध्ययनमा सहभागी २२ चलचित्रकर्मीले यस्तो धारणा राखेका थिए।

सहभागीले महिला तथा किशोरीलाई नेतृत्त्वदायी भूमिकामा नदेखाइएको, पुरुषको उपभोग्य वस्तुको रूपमा देखाइएको अनि महिलालाई प्रायः श्रीमती, आमा, सुसारेको रूपमा चित्रण गरिएकाले चलचित्र मन नपराएको बताएका छन्।

यस्तै नेपाली चलचित्रमा प्रस्तुत हुने महिला पात्रमा ८६ प्रतिशत आर्य महिला हुने गरेको पनि अध्ययनले देखाएको छ। यस्तै ४ जनामध्ये केवल १ जनामात्र महिला निर्माता हुने गरेको पनि अध्ययनले देखाएको छ। 

लेखनमा पनि नेपाली चलचित्रमा केवल १० मध्ये एक महिला हुने र निर्देशकमा १७ मध्ये एक जना मात्र महिला हुने अध्ययनमा बताइएको छ। यस्तै चलचित्रको क्रु मेम्बरमा पनि १० मध्ये केवल एक जना महिला हुने गरेको अध्ययनमा उल्लेख छ। 

यस्तै अर्को आश्चर्यजनक तथ्य के छ भने, नेपाली चलचित्रमा महिला पात्रको तुलनामा पुरुष पात्रको संवाद १८ गुणा ज्यादा रहने गरेको छ। 
 
के भन्छन् चलचित्रकर्मी ?
निर्देशक मनोज पण्डित किशोरी मात्रै हैन, वृद्ध, बालबालिका, अपाङ्गता भएका व्यक्ति, महिला, जनजाति, अल्पसंख्यक कसैलाई पनि नेपाली फिल्म मन नपर्ने गरेको दाबी गर्छन्।

दर्शकले चलचित्रका पात्रसँग आफूलाई जोड्न नसक्दा कुनै वर्गविशेषका मानिसले चलचित्र मन नपराउने उनको भनाइ छ। उनले भने, ‘हाम्रो सिनेमाको बौद्धिकता दर्शकको बौद्धिकता भन्दा धेरै पछाडि छ।’

पण्डितका अनुसार नयाँ पुस्ता नेपाली चलचित्रबाट विरक्तिनुमा बौद्धिकतामा कम लगानी भएर हो। 'हामी खर्च भन्ने बित्तिकै तीन करोड, चार करोडको फिल्म भन्छौं तर बौद्धिकता कति खर्च भएको छ हेर्दैनौं।’ 

फिल्म लेखक, निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेको भनाइ पनि पण्डितको जस्तै छ। चलचित्रलाई कलाका रूपमा हेर्नेहरूले आफूलाई त्यहाँ नभेटेरै मन नपराएको उनी बताउँछन्।  

फिल्ममा महिला र पुरुषलाई बराबर देखाउन नसक्दा किशोरीहरू नेपाली चलचित्रमा रमाउन छोडेका हुन्। ‘यथार्थवादी फिल्म बनाइरहेका छौं भन्छौं तर यथार्थ देखाउन चुकिरहेका छौं, यो ठूलो गल्ती हो,’ उनले भने।

यसको समाधानका लागि महिलाहरू नै फिल्म निर्माणमा आउनुपर्ने उनको धारणा छ। उनी भन्छन्, ‘हामीले हेर्ने दृष्टीकोण र महिला स्वयंले हेर्ने दृष्टिकोणमा फरक हुन्छ।’ 

फिल्म लेखक धिरजन थपलिया नेपाली समाज बाँझिएको र एउटाको कथा अर्को समाजसँग नमिल्दा समस्या हुने बताउँछन्। उनी ‘स्पेसिफिक’ फिल्म बन्न नसक्नुमा फिल्मको बजारलाई मुख्य समस्या देख्छन्।

‘हाम्रा किशोरीहरू कोरियन फिल्म र ड्रामामा रमाउन बानी परेका छन्। उनीहरू रियालिटी मन पराउँदैनन्,’ उनको तर्क छ, ‘फिल्ममा नयाँ पुस्ता भन्ने बित्तिकै घरमा नबस्ने, परिवारले भनेको नमान्ने, चुरोट रक्सी खाने भनेर देखाइएको हुन्छ। यो सानो मात्रामा वास्तविकता हो। यसरी वास्तविकता देखाइएकाले मन नपरेको पनि हुनसक्छ।’

नेपाली फिल्म ‘छक्का पञ्जा’ र ‘सेतो सुर्य’को तुलना गर्दै धिरजनले भने, ‘धेरैले ‘छक्का पञ्जा’ मन पराए, ‘सेतो सुर्य’को बारेमा कमैले थाहा पाए। समीक्षकदेखि अन्तर्राष्ट्रिय मिडियाले ‘सेतो सुर्य’ राम्रो भने पनि समाजले किन मन पराएन?’

उनले पुरुष निर्माताले महिलाको मनोविज्ञान समेट्न नसक्दा पनि यस्तो भएको हुनसक्ने बताए। ‘फिल्म क्षेत्रमा पुरुषहरू हावी छन्। उनीहरूले किशोरी र महिलाको मनोविज्ञान नबुझेको हुनसक्छ,’ उनले भने, ‘फिल्म निर्माण र निर्देशनमा महिलाको संख्या बढे एक हदसम्म यो समस्याको समाधान निस्कन सक्छ।’

१७ असोज, २०७८, १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।