गान्धी जो कहिल्यै आरोपमुक्त भएनन्

गान्धी जो कहिल्यै आरोपमुक्त भएनन्

अहिंसाका पुजारी महात्मा गान्धीले जीवनमा आरोप, दण्ड, सजाय, वियोग र वेदना सबै अनुभूत गर्नु पर्यो। उनी वकिल, पत्रकार, स्वयंसेवक, बन्दी, सत्याग्रही हुँदै स्वतन्त्र भारतका राष्ट्रपिता बने।

मरणोप्रान्त पनि उनलाई आरोप लगाउँदै गालीगलौजमा उत्रिनेहरू पनि कम छैनन्। त्यसैले गान्धीका अनुयायी भन्छन्, 'गोलीले न गान्धी मारिएका छन्, न मूर्ति बनाउँदैमा गोड्से जिन्दा हुनेछन्।' गान्धीलाई  ललकार्नुको कुनै अर्थ नै छैन। युरोप, अमेरिका र एसियाबाट कोही स्मरणीय छ, भने त्यो गान्धी मात्र हुन्। 

उनलाई  आफ्नै देशमा पनि आरोप लाग्ने गरेका छन्। ती हुन्- सहिद भगत सिंहलाई उनले बचाउन चाहेनन्। बल्लभभाइ पटेललाई प्रधानमन्त्री बनाएनन्, जवाहरलाल नेहरुलाई बनाए। विभाजन हुँदा दिने भनिएको ५५ करोड रुपैयाँ पाकिस्तानलाई  दिलाउन अग्रसर भए। त्यसले गर्दा गान्धी मुस्लिमका पक्षपाती थिए भन्ने गरिन्छ। साथै गान्धी स्त्रीप्रति आशक्त थिए। दलित आन्दोलन गान्धीकै कारण लक्ष्यमा पुग्न पाएन। बिआर अम्बेडकर अघि बढ्दा उनले अवरोध गरे  लगायतका अनेकन् आरोप उनलाई लाग्ने गरेका छन्।

त्यसो त उनका हत्यारा नाथुराम गोड्सेको मूर्ति बनाएर पुज्न अग्रसर हुनेहरू पनि भारतमा छन्। उल्लेखित आरोप र कर्मले अहिले पनि गान्धी निर्विवाद छैनन्। तर संयुक्त राष्ट्रसङ्घले उनको जन्म दिन २ अक्टोबरलाई सन् २००७ बाट अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउन सुरु गरेपछि ती सबै आरोपको जवाफ पूर्ण भएको हुनुपर्छ।

स्वतन्त्रता आन्दोलनकै क्रममा उनले अर्धाङ्गिनी कस्तुरबा, निजी सचिव महादेव देसाइलाई आगा खाँ प्यालेसमा बन्दी अवस्थामा गुमाउनु पर्यो, औषधि-उपचारको अभावमा।

त्यसो त नेपालमा पनि आफ्ना सङ्गठनमा संस्कार बसाल्न नसक्नेहरूले पनि गान्धीप्रति आरोप बर्साइरहेका हुन्छन्। उनलाई नेपालबाट लाग्ने गरेको आरोप, गान्धी सामन्ती परिवारमा जन्मिएका धर्मभिरू हुन्। उनी वर्ण व्यवस्थाका पक्षपाती हुन् भन्ने गरेको बेलाबखत सुन्न पाइन्छ।

गान्धीलाई आरोप लगाउने दार्शनिकहरूले उनको जीवनी मात्र नभएर उनको चेत अध्ययन गर्न आवश्यक देखिन्छ। उनको व्यावहारिक दर्शन विश्वका लागि झनपछि झन् सान्दर्भिक हुँदै गएको छ। एक अध्येताका हिसाबले नियाल्दा भन्न सकिन्छ, त्याग, निष्ठा, दया, क्षमा र करुणाले उनको भरिपूर्ण छ। साथै संर्घषशील पनि।

उनको २१ वर्ष दक्षिण अफ्रिकाको बसाइ आरोह–अवरोहयुक्त रह्यो। त्यहाँको २१ वर्ष बसाइबाट नै उनको जीवनमा सङ्घर्ष र ख्याति सुरु हुन पुग्यो। दक्षिण अफ्रिकाबाट सन् १९१५ मा भारत फर्किएपछि पनि उनले आफ्नो निजी निवास बनाएनन्। आश्रमबाट नै गुजारा चलाए। भारतमा उनले कोचँरव, सावरमती र बर्धा आश्रम स्थापना गरे। त्यसअघि दक्षिण अफ्रिका बसाइमा उनले दुई आश्रम स्थापना गरेका थिए।

राजनीतिक गुरु गोपालकृष्ण गोखलेको सल्लाहमा उनी भारत फर्किएका थिए। गान्धीले गोखलेकै सल्लाहमा एक वर्षसम्म देश भ्रमण गरे। अनि मात्र उनले स्वतन्त्र भारतका लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम तय गरे। स्वतन्त्रता आन्दोलनकै क्रममा उनले अर्धाङ्गिनी कस्तुरबा, निजी सचिव महादेव देसाइलाई आगा खाँ प्यालेसमा बन्दी अवस्थामा गुमाउनु पर्यो, औषधि-उपचारको अभावमा।

मानिस मृदुभाषी भएन भने जति नै सत्य बोले पनि उसको सत्यमा विश्वास हुँदैन। त्यसैले ‘सत्य बोलौँ किन्तु प्रिय बोलौँ’ उनको सबैलाई आग्रह रह्यो।

सन् १९४२ अगस्त १५ तारिखका दिन देसाई र सन् १९४४ फेब्रुअरी २१ तारिखका दिन कस्तुरबालाई गुमाए। त्यस बखत उनले भनेका थिए, ‘महादेव र कस्तुरबाको निधनले जीवनमा उज्यालो अस्ताएको अनुभव भयो।’ किनकि दुवै मृत्युका साक्षी बनेका गान्धी कडा पहराबीच मलामी बन्नु परेको थियो।

ती दिन स्मरण गर्ने हो भने साँच्चै उनका लागि कारुणिक रहे। साथै भतिज मगनलाल गान्धी, धर्मपुत्र जमनलाल बजाज लगायतका निकटका विश्वस्तजनको निधनबाट उनले आघात व्यहोर्नु पर्यो। त्यस बखत पनि उनले वियोगको पीडा व्यक्त गर्दै भनेका थिए, ‘आखिर म पनि कति दिनको पाहुना हुँ र?’  किनकि स्वतन्त्रता आन्दोलनको नेतृत्व गरिरहँदा स्वजनको निधनले उनी विक्षिप्त बन्नु परेको थियो।  

निष्ठा र त्यागका प्रतिमूर्ति गान्धीले सत्याग्रहका माध्यमबाट अहिंसात्मक आन्दोलन जारी राखे। ब्रिटिस उपनिवेशकालीन समयमा जन्मिएका गान्धीले आफैँले चलाएको आन्दोलनबाट देशलाई स्वतन्त्र बनाए। तर स्वतन्त्र भारतमा उनी १ सय ६८ दिन मात्र बाँचे। हत्याका बखत पनि पीडा र र प्रतिशोधका एक शब्द पनि उच्चारण नगरी मृत्युलाई सहज रूपमा उनले बरण गरे। त्यसैले वर्तमान विश्वले गान्धीलाई सत्य र अहिंसाका पुजारी भनेर स्मरण गर्दै आएको छ। जीवनको अन्तिम क्षणसम्म पनि उनले सत्यप्रतिको निष्ठालाई निरन्तर साधना गरिरहे।

मानिस मृदुभाषी भएन भने जति नै सत्य बोले पनि उसको सत्यमा विश्वास हुँदैन। त्यसैले ‘सत्य बोलौँ किन्तु प्रिय बोलौँ’ उनको सबैलाई आग्रह रह्यो। जीवनमा उनले स्वयं आफ्ना कमजोरीबाट नै धेरै प्रेरणा लिए। भनिन्छ, जीवनमा एक पटक गरेको गल्ती उनले दोहोर्याएनन्।

उनी सत्यका कुशल साधक बने। सानै उमेरमा पनि उनमा करुणा, मानवीयता र प्रेमभावको गुण थियो। उनले स्वतन्त्रताको आन्दोलनसँगै सामाजिक विभेद विरुद्धका आन्दोलन पनि चलाए। साथै रचनात्मक काम पनि जारी राखे। जस्तै चर्खा अभियान आदि।

आफूलाई सत्यवादी प्रमाणित गर्न अरूमाथि जबरजस्ती सत्य लाद्नु हुँदैन। अरूलाई जबरजस्ती लाद्न खोज्नु हस्तक्षेप हो। हस्तक्षेपले मानिसको स्वतन्त्रतालाई कुण्ठित गराउँछ।

भारत आगमनसँगै सन् १९१७ मा अहमदवादमा मजदुर र महाजनको आन्दोलनमा समन्वय गरेर समाधान गराए। परिणाम मजदुरको पक्षमा देखियो। त्यसै गरी १९१७ मा चम्पारण सत्याग्रह, १९२२ मा चौरीचारा सत्याग्रह, १९२४ मा भैकाम सत्याग्रह। सन् १९२४ को भैकाम सत्याग्रह दलित छुवाछुत विरुद्ध आन्दोलन थियो। स्वतन्त्रता प्राप्तिको आन्दोलन अध्ययन गर्दा उक्त आन्दोलनबारे जानकारी हुन्छ।

सन् १९३० नुन कर विरुद्धको (दाण्डी मार्च) ‘नमक सत्याग्रह’। ती सबै अनुभव पछि मात्र अनुकूल परिस्थितिमा उनले १९४२ मा ‘भारत छोडो’ आन्दोलन चलाए।

उनले आफ्नो आत्मकथालाई ‘सत्यको प्रयोग’ भनेर नामकरण गरे। उक्त पुस्तक विश्वका धेरै भाषामा प्रकाशन हुने पुस्तकको सूचीमा पर्छ। किन त उनले उक्त पुस्तकलाई ‘सत्यको प्रयोग’ नाम दिए? उनले जीवनभर सत्यको साधना गरे। जीवनमा सत्यको प्रयोग गरी रहे। त्यही साधनालाई पुस्तकका रूपमा ल्याए। त्यसैले आत्मकथा नभनेर ‘सत्यको प्रयोग’ भन्न रुचाए।

उनले जीवनमा सत्यको प्रयोग गर्दाका भोगाइ, कमी–कमजोरी जस्ताको तस्तै उतारेकोले उक्त पुस्तकलाई ‘सत्यको प्रयोग’ भन्न रुचाएको उनको कथन छ। पुस्तकमा जीवनका भोगाइ र अनुभव पाठकले विश्वास गर्ने गरी उनले उतारेका छन्।

गान्धीले सत्यको प्रयोगलाई सिद्धान्तका रूपमा स्थापित गरे। हाम्रो सबै गतिविधि सत्यमा आधारित हुनुपर्छ भन्ने उनको मान्यता रह्यो। विचारमा सत्य, वाणीमा सत्य र कर्ममा सत्य हुनुपर्छ भन्ने उनको मान्यता थियो। त्यसको साधना मानवीय जीवनमा सम्भव छ भन्ने कुरा उनले प्रमाणित गरेर देखाए।

सच्चा लोकतन्त्र असत्य र हिंसाको सहाराबाट कहिल्यै प्राप्त हुँदैन। यदि हुन्छ भने टिकाऊ हुँदैन। किनभने त्यति बेला विरोधीको विनाश वा समाप्ति र निष्कासन गरिएको हुन्छ।

सत्य मानिसको जीवनको प्राण तत्त्व हुनुपर्छ। सत्यको साधना बिना जीवनमा कुनै पनि नियम वा सिद्धान्तको पालना असम्भव छ। सत्यको पालना जीवनको प्रत्येक क्षेत्रमा आवश्यक छ। चाहे त्यो राजनीतिमा होस् वा सामाजिक कार्यमा। सत्यको पालनाले मानव जीवनलाई सार्थक बनाउँछ। सत्यको साधना आग्रह, पूर्वाग्रह, दुराग्रह र विकृतिको पक्षपोषक नभएर सहिष्णुता, उदारता र विनम्रताको शिक्षा हो।

लक्ष्य प्राप्तिका लागि सत्यको साधनाबाट विचलित हुनुहुँदैन, उनको अनुभव छ। साथै सत्यको साधक भइरहँदा हठग्राही पनि बन्नु हुँदैन, उनको सुझाव छ। आफूलाई सत्यवादी प्रमाणित गर्न अरूमाथि जबरजस्ती सत्य लाद्नु हुँदैन। अरूलाई जबरजस्ती लाद्न खोज्नु हस्तक्षेप हो। हस्तक्षेपले मानिसको स्वतन्त्रतालाई कुण्ठित गराउँछ। ठुलो जमात वा समूहले निहित स्वार्थवश अस्वीकृत गर्ने सत्य नै पूर्ण सत्य हुन्छ भन्ने उनको अनुभव छ। कसैलाई आरोपित गर्दा कटु भावमा गर्नु हुँदैन, कटुताले सत्यको विनम्रतालाई विनाश गरिदिन्छ।

लोकतान्त्रिक समाज व्यवस्थाका लागि अहिंसा अनिवार्य छ। अहिंसा बिना कुनै पनि लोकतान्त्रिक सरकार वा शासन व्यवस्था चल्न सक्दैन। सच्चा लोकतन्त्र असत्य र हिंसाको सहाराबाट कहिल्यै प्राप्त हुँदैन। यदि हुन्छ भने टिकाऊ हुँदैन। किनभने त्यति बेला विरोधीको विनाश वा समाप्ति र निष्कासन गरिएको हुन्छ। त्यति बेला व्यक्तिगत स्वतन्त्रताको स्थान कहाँ रहन्छ? समाजवादी व्यवस्थाको स्थिरताका बारेमा उनले भनेका छन्, ‘यदि व्यक्ति सहिष्णुतापूर्वक सत्यनिष्ठ एवं विनम्रतापूर्वक सरल बन्न सक्दैन भने त्यस्तो अवस्थामा कुनै प्रकारको समाजवादी व्यवस्था लागू हुन सक्दैन।’

गान्धीले सत्य र अहिंसालाई एकअर्काका परिपूरक मानेका छन्। सत्य र अहिंसालाई एकअर्काबाट अलग गर्नु व्यवहारतः असम्भव रहन्छ भन्ने उनको अनुभव छ। ‘अहिंसा मानव जातिको धर्म हो, जसरी हिंसा पशुको धर्म हो,’ उनले भनेका छन्, ‘अहिंसा कायरको हतियार हैन।’

अहिंसाको अर्थ अत्याचारी समक्ष समर्पण नभएर वीरताको प्रदर्शन हो। अहिंसा व्यक्ति धर्म नभएर व्यक्ति एवं समाजका लागि राजनीतिक र आध्यात्मिक आचरण प्रशिक्षण गराउने मार्गदर्शन हो। उच्चतम सामाजिक आदर्श प्राप्तिका लागि कहिल्यै पनि हिंसाको सहारा लिनु हुँदैन। हिंसाको सहाराले समस्याको समाधान कहिल्यै हुँदैन भन्ने उनको मान्यता रह्यो। तर पनि उनी दोष र आरोपबाट मुक्त भने छैनन्।

कतिपय हिन्दुहरूले उनलाई मुस्लिमका पक्षपाती भन्ने आरोप लगाउँछन्। मुस्लिमले उनी हिन्दुका पक्षपाती रहे भन्ने दोषारोपण गर्दै आएका छन्। कतिपय भारतवासीले पाकिस्तानका पक्षपाती भन्ने गरेका छन्। पाकिस्तानीले उनलाई  भारतका पक्षमा सौदाबाजी गरे भन्ने आरोप लगाउँछन्। तत्कालीन ब्रिटिस शासकले त उनलाई अर्धनङ्गा, पागल, फकिर समेत भन्यो। 

नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले आफ्नो आत्मकथामा गान्धीप्रति साम्यवादीहरूले तत्कालीन समयमा ‘ब्रिटिसहरूको दलाल’ भनेर लगाएको सत्य नभएको तर्क गरेका छन्। त्यही आरोप चित्त नबुझेर साम्यवादीहरूसँग ती दिनमा नजिकिएको भए पनि अन्ततः विच्छेद गर्नु परेको प्रसङ्ग उल्लेख गरेका छन्। 

पुँजीवादीहरूले उनलाई साम्यवादका घोडा भनेर आरोपित गर्दै आएका छन्। समाजवादीहरूले उनलाई ‘राम राज्य’ का कल्पनाकार भन्दै धर्ममा आधारित समाज व्यवस्था पक्षापोषक भन्ने गरेका छन्। त्यति मात्र नभएर कतिपय त उनको चरित्रका बारेमा अफवाह फैलाएर चरित्रहीन साबित गर्न लागिरहे। तर पनि उनीमाथिको आरोप र दोष अहिलेसम्म प्रमाणित हुन सकेको छैन। त्यसैले आधुनिक विश्वले उनलाई अहिंसाका पुजारीका रूपमा स्मरण गर्दै आएको छ।    

रुसमा लेनिनको जसरी भारतमा कुनै दिन गान्धीको स्टाचु तोडफोड गरियो भन्ने सुनिए अचम्म नमाने हुन्छ। एकाथरी अतिवादीहरु उनकै कारण भारतमा कम्युनिस्ट राजनीति स्थापित हुन नसकेको बताउँछन्। अर्काथरी अतिवादीहरूले उनका हत्यारा नाथुराम गोड्सेलाई सहिदको दर्जा दिनुपर्छ भनेर आवाज उठाउँदै आएका छन्। उक्त आवाजका पक्षपाती  यदि भारतीय समाजमा हाबी हुँदै गए गान्धीको योगदान चर्चा हुन छाड्नेछ। उनको योगदान, आदर्श र विचार खोज्न पुस्तकालय पुग्नुपर्ने हुनसक्छ।

व्यवहारवादी आदर्शका पक्षपाती गान्धी धर्म निरपेक्षवादी हुन्। उनले जन्मजात धर्मलाई स्विकारेर राम नामका अनुयायी बने। अन्तिम समयमा उनको सहारा आखिर त्यही राम नाम बन्न पुग्यो। राम नामको सहारा उनले चलाएको सत्याग्रहरूपी आन्दोलनले सन् १९४७ अगस्ट १५ मा भारत स्वतन्त्र बन्न पुग्यो। उनले देश स्वतन्त्र भइरहँदा आफ्नो सहमति विपरीत देश विभाजन भएकोमा दुःख व्यक्त गरे।

१९४७ अगस्ट १५ को मध्यरातमा दिल्ली लालकिल्लामा भएको उत्सवमा उनी अनुपस्थित रहे। गान्धीले उक्त परिणामको शोकमा उपवास नै गरेका थिए। तर पनि उनलाई केही उग्र विचारका अनुयायीले अहिलेसम्म गान्धीकै सहमतिमा भारत विभाजन भएको भन्ने दोषारोपण गरिरहेका छन्।

अमेरिकाको रोचेस्टार विश्वविद्यालयका प्राध्यापक नाती अरुण गान्धीले उक्त तर्क सत्य नभएको यो स्तम्भकारसँग बताए। जीवनभर असत्य विरुद्ध लडाइँ लडेका गान्धीलाई आफ्नै समाजले यतिबेला असत्य तर्कको सहाराले दोषारोपण गरिरहेकोमा उनले दुःख व्यक्त गरे।

हिंसा आज कुनै परिवार र समाजमा लागि नभएर विश्व जगतका लागि टाउको दुखाइको विषय भएको छ। किन त?  हिंसाले मानिसलाई विक्षिप्त र विभाजित हुन प्रशिक्षित गरिरहेको छ। त्यसबाट मुक्तिका लागि विश्वका केही अग्रजले उनको आदर्शलाई पछ्याएका उदाहरण पनि छन्।

उनको आदर्शलाई पछ्याउने महामानवहरूमा अमेरिकाका मार्टिन लुथर किङ र दक्षिण अफ्रिकाका अश्वेत आन्दोलनका नेता नेल्सन मण्डेला लगायतको नाम अग्र पङ्क्तिमा आउँछ। दक्षिण अफ्रिकामा मण्डेलाले चलाएको शान्तिपूर्ण आन्दोलन र पीडकप्रतिको उदारभाव र क्षमा सहितको सदाशयता आधुनिक विश्वका लागि अनुकरणीय रह्यो। त्यसैले सन् २००७ देखि गान्धीको आदर्शलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले अक्टोबर २ मा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन सुरु  गरेको हो भन्न सकिन्छ।

१६ असोज, २०७८, १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।