कुलमान र केवल व्यवसायीबीच तारको वार

कुलमान र केवल व्यवसायीबीच तारको वार

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले पोलमा राखिएका केवल टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीका तार हटाउने चेतावनी दिएपछि अहिले यी दुबैबीच  तारको वार सुरु भएको छ।

प्राधिकरणले पोलको भाडा बढाउँदै नतिरे इन्टरनेट र केवल टिभी सेवाको तार काट्ने चेतावनी दिएको छ। प्राधिकरणको चेतावनीपछि यी दुवै सेवा प्रदायकहरू आन्दोलनको तयारीमा जुटेका छन्।

प्राधिकरण विरुद्ध आन्दोलन गर्न उनीहरूले दिनेश सुवेदीको नेतृत्वमा सङ्घर्ष समिति नै बनाइसकेका छन्। सुवेदीका अनुसार हाल नेपालमा ७ सय भन्दा धेरै केबल टिभी सेवा प्रदायकहरूले लाइसेन्स लिएका छन्। 

‘हामी व्यवसायी हौ, विद्रोही हैन,’ उनले भने,‘हामीले विगत ३ दशक देखि केवलको माध्यमबाट गाउँगाउँमा  टेलिभिजन पुर्याएका छौ।’

आफूहरूले विद्युत् प्राधिकरणले तोकेको पोलको भाडा समयमै तिरेको उनको दाबी छ। तर प्राधिकरणले एक्कासि पोलको भाडा बढाएर केवल व्यवसायीहरूको व्यवसाय नै धराशायी बनाउन खोजेको उनको आरोप छ।

यस अघि केवल व्यवसायीहरूले साबिकको महानगरमा प्रति पोल २५० रुपैयाँ, उपमहानगरमा प्रतिपोल २०० रुपैयाँ, नगरपालिकामा १५० र गाविसमा १०० रुपैयाँ तिर्ने गरेको तर अहिले प्राधिकरणले उक्त पोल भाडा ३५० प्रतिशत बढाएको सङ्घर्ष समितिका संयोजक सुवेदी बताउँछन्। 

उनका अनुसार अहिले प्राधिकरणले प्रतिकिलोमिटर १४ हजार भाडा पुर्याउने निर्णय गरेको छ। उक्त भाडा दर नतिर्ने व्यवसायीहरूको केवल असोज १५ गते देखि काटिदिने विद्युत् प्राधिकरणले बताइसकेको छ।

तर व्यवसायीहरू प्राधिकरणको उक्त निर्णय विरुद्ध उत्रिएका छन्।

तारले सहर कुरूप बन्यो : कुलमान

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जथाभावी तार तानेर सहर नै कुरूप बनाउन नपाउने बताउँछन्।

प्राधिकरणको पोल मार्फत केवल टिभी र इन्टरनेट घरमा पुर्याउनको लागि बढाइएको भाडाका कारण सेवा प्रदायकलाई केही समस्या नपर्ने घिसिङको दाबी छ।

‘उनीहरूले एक-एक वटा तार तान्दै छन्, सेवा प्रदायक धेरै हुँदा उनीहरूलाई केही समस्या परेको होला,’ घिसिङले उकेरासँग भने,‘सबै मिलेर एउटै केवल बनाए भई गयो नि।’

अहिले ५–६ केवल अपरेटरहरूले मात्र नियमित पोल भाडा तिरेका बताउँदै उनले जसले तिरिरहेका छन् उनीहरू प्राधिकरणको निर्णयको पक्षमा हुने दाबी गरे।

अर्थ मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय लगायतका सम्बन्धित निकायले बसेर गरेको निर्णय व्यवसायीहरूले मान्नु पर्ने घिसिङले बताए। 

पोलको भाडा अहिले बढेको नभई पहिले नै बढेको उनको दाबी छ। 

‘सबै मिलेर एउटै तार तान्यो भने प्राधिकरणलाई अहिले भन्दा आधा पनि पैसा आउँदैन। उनीहरूले मिलेर त्यसै गरे पनि भयो। तार नै तार तानेर सहरको सौन्दर्य नै बिगारेका छन्,’ उनले भने,‘एउटा केबल बिग्रियो भने १० वटा तार तानेर पोल्न नै ढल्ने बनाएका छन्। अहिले तानिएका ९५ प्रतिशत केवल काम नै नलाग्ने छन्।’

१५ असोज, २०७८, ०७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।