डाक्टरसा' ब के लेख्या ? प्रेस्क्रिप्सनमा न चिकित्सकको नाम हुन्छ ,न बुझिने अक्षर

डाक्टरसा' ब  के लेख्या ? प्रेस्क्रिप्सनमा न चिकित्सकको नाम हुन्छ ,न बुझिने अक्षर

यदि यति पालना नगरी कसैले प्रेस्क्रिप्सन जारी गर्छ भने त्यो आचारसंहिता विपरीतको काम हुन्छ।

अब चिकित्सकले जारी गर्ने प्रेस्क्रिप्सन सम्झौँ त। चिकित्सकले प्रेस्क्रिप्सनमा लेखेको अक्षर बुझिन्छ ? उनीहरूले औषधीको नामसँगै जँचाउन आउने व्यक्तिमा देखिएको स्वास्थ्य समस्या र उपचार प्रक्रियाबारे लेख्दा क्यापिटल अक्षर प्रयोग गर्छन् ?

उनीहरूको पुरा नाम, काउन्सिलको नम्बर अनि हस्ताक्षर हुन्छ ?

चिकित्सकहरूले दिने अधिकांश प्रेस्क्रिप्सन हेर्ने हो भने काउन्सिलको संहितामा औषधी सिफारिस गर्दा अनिवार्य रूपमा अपनाउनुपर्ने यी प्रक्रिया पुरा भएको देखिँदैन।

केहीले आफ्नो नाम र काउन्सिलको नम्बर राखिएको प्रिन्टेड प्रेस्क्रिप्सन प्रयोग गर्ने गरेको देखिन्छ। तर जब औषधीको नाम, जँचाउन आएका व्यक्तिमा देखिएको स्वास्थ्य समस्या र उपचारमा अपनाएको विधि र सुझाव लेखिएको हुन्छ ती अक्षर बुझिँदैन। 

उनीहरूले क्यापिटल लेटरको प्रयोग गर्ने त कुरै छाडौँ राम्रै साक्षरलाई समेत के लेखेको हो त्यो ठम्याउन हम्मे हम्मे नै पर्छ। यस्तो गर्न मिल्छ र?

यो कुनै अस्पताल या कुनै चिकित्सको मात्रै हैन, आम समस्या हो। उदाहरणका लागि उकेराले एभरेस्ट हस्पिटल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दिएको प्रेस्क्रिप्सनको विवरण। 

२०७७ असार १४ गते कुकुरले टोकेपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका एक व्यक्तिको नाममा जारी गरेको प्रेस्क्रिप्सनमा चिकित्सकले लेखेको न कुनै शब्द बुझिन्छ न उपचार गर्ने चिकित्सकको नाम उल्लेख छ।

अर्को प्रेस्क्रिप्सन निजी अस्पताल एभरेस्ट अस्पतालले जारी गरेको। २०२१ अप्रिल २२ को मितिमा जारी भएको प्रेस्क्रिप्सनको भाषा बुझिने खालकै छ। चिकित्सकको नाम पनि छ। तर उनी काउन्सिलमा दर्ता भएका चिकित्सक हुन् या हैनन् खुल्ने काउन्सिल नम्बर छैन। 

काउन्सिलका अध्यक्ष प्रा. डा भगवान कोइरालाको बिरामीको पुर्जामा औषधी लगायतका विवरण लेख्दा चिकित्सकले प्रस्ट बुझिने भाषामा लेख्नुपर्ने संहिता नै भएकाले त्यसको पालना गर्नै पर्छ। यो बाध्यकारी हो। 

कोइरालाले चिकित्सकको गाइडलाइनस् अनुसार औषधिको नाम ठुलो (क्यापिटल) अक्षरमै लेख्नुपर्ने अनि प्रेस्क्रिप्सनमा काउन्सिलको नम्बर अनि चिकित्सकको नाम समेत प्रस्ट बुझिने गरी लेख्नुपर्ने बताए।

उनले भने,‘बुझिने गरी प्रेस्क्रिप्सन  लेख्नुपर्ने र आफ्नो परिचय खुल्ने गरी लेख्नुपर्ने हाम्रो इथिकल गाइडलाइन छ।’ 

यो बारे चिकित्सकहरू जानकार नभएको पनि हैन। तर उनीहरू बुझ्ने गरी लेख्दा पनि लेख्दैनन्। 

चिकित्सकले किन प्रस्ट बुझिने गरी लेख्दैनन् त? काउन्सिलका अध्यक्ष कोइराला बिरामीको चापका कारण हतारमा लेख्दा पूर्ण नलेख्ने अनि अक्षर लतरपतर हुने गरेको तर्क गर्छन्। उनले यो तर्क त गरे पनि यसले संहिता विपरीतको कामको बलियो बचाउ भने हुन सकेन। 

प्रस्ट नलेख्नु गडबडीको सङ्केत 

काउन्सिलका अन्य पदाधिकारी अनि केही चिकित्सकहरूसँग यो समस्याबारे कुराकानी गर्दा कतिपय चिकित्सकले औषधिको स्पेलिङ भुल्दा गज्याङगुजुङ पारेर लेख्ने गरेको तर्क गरे। 

केही चिकित्सकहरूले अनावश्यक नहुने भिटामिन अनि फुड सप्लिमेन्ट लेखिदिने अनि यसरी प्रेस्क्रिप्सन लेख्ने चिकित्सक को हो भनेर खुल्दा कतै उजुरी परे समस्यामा पर्न सक्ने भएकाले जोगिन संहिता विपरीत जाने गरेको समेत देखियो।

प्रा.डा. दिनेश बाँस्तोला आर्थिक लगायतका स्वार्थका कारण केही चिकित्सकले कुनै निश्चित फार्मेसीले मात्रै बुझ्ने भाषा लेख्ने बताउँछन्।

उनले भने,‘कतिपय चिकित्सकले आफूले चाहेको औषधि पसलेले मात्र अक्षर बुझोस् भनेर जानाजान नबुझिने अक्षर लेख्ने गरेको पनि देखिन्छ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी ठुलो अक्षरमा बुझिने गरी प्रेस्क्रिप्सन लेख्नुपर्ने बताउँदै सबै चिकित्सकले यो पालना नगर्ने स्वीकार गरे।

कतिपय चिकित्सकले आफूले चाहेको भन्दा अन्य फार्मेसिस्टले अक्षर नबुझुन् भनेर प्रस्ट नलेख्ने गरेको डा. मरासिनीले बताए।

उनले भने,‘कतिपय ठाउँमा बदमासी पनि भएको छ। औषधिको नाम क्यापिटल अक्षरमा लेख्नै पर्ने बनाउने हो भने यस्तो बदमासी कम हुन्छ।’

डा कोइराला ठुलो अक्षरमा नलेखी सानो अक्षरमा लेख्ने हो भने पनि बुझिने भाषामा लेख्दा त्यत्ति ठुलो समस्या नहुने बताउँछन्। तर डा. बाँस्तोला प्रेस्क्रिप्सन ठुलै अक्षरमा लेख्नु बाध्यकारी नै हुने बताउँछन्। 

उल्टो औषधिको डर

कतिपय औषधी उस्तै उस्तै नामका हुन्छन्। जसले गर्दा चिकित्सकले बिरामीको प्रेस्क्रिप्सनमा औषधिको नाम प्रस्ट नलेख्दा बिरामीलाई उल्टो औषधि पर्ने गरेको डा. कोइरालाले नै सुनाए। उनले भने,‘उस्तै उस्तै नामका औषधि हुन्छन्। नबुझिने लेखिदियो भने त झुक्किने सम्भावना  भयो।’ 

चिकित्सकले प्रस्ट अक्षर नलेख्दा फार्मेसिस्ट तथा औषधि विक्रेताले औषधिको अक्षर नबुझेर बिरामीलाई अर्कै औषधि दिने जोखिम पनि हुन्छ नै।

डा. बाँस्तोलाले भने,‘ एक किसिमको रोगका लागि प्रयोग गर्नुपर्ने औषधि अर्कै रोगका लागि प्रयोग भयो भने त औषधिको साइड इफेक्टले व्यक्तिको ज्यान जाने जोखिम हुन्छ। त्यसैले औषधी बुझ्ने भाषामै लेख्नुपर्छ।’

नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य डा. ढुण्डिराज पौडेल औषधी जीवन मरणसँग जोडिएकाले प्रेस्क्रिप्सन लेख्ने सवालमा चिकित्सकहरू सच्चिनुपर्ने बताउँछन्। 

उनले भने,‘यो त जीवन मरणसँग सम्बन्धित छ। औषधिकै नाम फरक पर्छ। एउटा औषधि खानुपर्ने नबुझेर अर्को औषधि खाएको पनि देखिएको छ।’

बिरामीको पुर्जामा चिकित्सकको नाम र एनएमसी नम्बर नलेखेको अवस्थामा चिकित्सकले प्रेस्क्रिप्सन लेख्ने क्रममा गल्ती तथा त्रृटी भए यस्तो त्रुटि गर्ने चिकित्सकको पहिचान गर्न समस्या हुने र कुनै कारबाही योग्य घटना भए कानुनी रूपमा बिरामी प्रमाणहीन हुने जोखिम रहन्छ।

कुनै प्रेस्क्रिप्सनमा लेखिएको औषधी र मात्राबारे अन्योल भएको अवस्थामा त्यसमा चिकित्सकको नाम भए फोन गरेर सोध्न सहज हुने डा कोइरालाले बताए।

कतिपय चिकित्सकले लेखेको प्रेस्क्रिप्सनमा अन्यौलहुँदा नर्सहरूले आफूलाई फोन गरेर सोध्ने गरेको अनुभव सुनाउँदै डा कोइरालाले भने‘ प्रेस्क्रिप्सनमा चिकित्सकको सम्पर्क सहितको परिचय खुलाइए औषधि विक्रेताले अक्षर नबुझेको अवस्थामा फोन गरेर सोध्न सक्छन्। यो त राम्रो अभ्यास हो।’ 

अर्को समस्या सङ्केतको

केही प्रेस्क्रिप्सनमा छोटा अक्षरहरू मात्र लेखिएको पनि देखिन्छन्। जुन सामान्यतया चिकित्सक र औषधीबारे जानकारबाहेक अन्यले बुझ्न सक्दैनन्। टी, ओडी, जस्ता शब्दहरू समेत भेटिन्छन् प्रेस्क्रिप्सनमा।

‘कतिपय कुराहरू छोटकरीमा लेख्ने चलन हुन्छ। जस्तै: ‘टी’ लेख्यो भने ट्याब्लेट, ‘ओडी’ लेख्यो भने एक दिन भन्ने हुन्छ,’ डा. कोइरालाले भने‘ यसरी लेख्नु प्रेस्क्रिप्सनको ढाँचा हो। यस्तो ढाँचामा लेख्दा बिरामीले नबुझ्न पनि सक्छन्। तर बुझ्ने गरी लेख्नु राम्रो अभ्यास हो।’

डा. बाँस्तोला चिकित्सकले यसरी छोटकरीमा लेख्ने परिपाटीकै अन्त्य हुनुपर्ने बताउँछन्। आफूलाई के भएको हो र कस्तो औषधी दिएको हो भन्ने जान्न पाउनु मानव अधिकारभित्रै पर्ने उनले बताए।

सम्भव भएसम्म बिरामीले बुझ्न सक्ने नेपाली वा स्थानीय रूपमा बुझिने भाषामा प्रेस्क्रिप्सन लेखे अझ राम्रो हुने कोइरालाको सुझाव छ। 

पढाई हुन्छ तर व्यवहारमा आउँदैन

डा. कोइराला ‘प्रेस्क्रिप्सन’ लेखनको एकै ढाँचा हुने भएकाले अध्ययनको क्रममा चिकित्सा शिक्षाका विद्यार्थीलाई पढाउने र सिकाउने गरेको बताउँछन्।  उनले भने,‘प्रेस्क्रिप्सन लेखनको फर्म्याट छ।  अध्ययनमा लेखनको ढाँचा पढाइएको पनि हुन्छ। सिकाएको पनि हुन्छ।’ 

प्राध्यापक समेत रहेका डा. बाँस्तोलाले चिकित्सा शास्त्रको स्नातक तहको पाठ्यक्रममा  चिकित्सकीय प्रेस्क्रिप्सनको लेखन सम्बन्धी अध्ययन हुने बताए। उनी चिकित्सा शास्त्रका विद्यार्थीलाई स्नातक तहमा सैद्धान्तिक एक घण्टा र प्रयोगात्मक तीन घण्टाको कक्षामा ‘चिकित्सकीय प्रेस्क्रिप्सन’मा कसरी लेख्ने, बिरामी तथा बिरामीका आफन्तलाई कसरी बुझाउने भन्ने विषयमा अध्ययन र अभ्यास हुने गरेको बताउँछन्। 

तर पढेको कुरा व्यवहारमा अभ्यास गर्ने चिकित्सकहरू भने दुर्लभ छन्। 

फार्मेसीको पारा पनि उस्तै

बिरामीको प्रेस्क्रिप्सनमा चिकित्सकले लेखेको औषधि र उपचारको विवरण औषधी किन्न आउनेलाई बुझाउने जिम्मेवारी फार्मेसिमा कार्यरत जनशक्तिको पनि हो। 

कुन औषधी कसरी खाने भनेर सम्झाउने उनीहरूको दायित्व भए पनि त्यसको समेत पालना हुने गरेको देखिँदैन। फार्मेसिस्टको सो व्यवहारका कारण पनि चिकित्सकले प्रेस्क्रिप्सनमै प्रस्ट लेखिदिए बिरामीलाई सहज हुने उनले बताए।

‘कसरी खाने, कति पटक खाने, स्टोर गर्ने तरिका आदी लेखेर दिने मूल दायित्व फार्मेसीको हो,’डा. कोइरालाले भने‘तर, त्यो काम उनीहरूले नगर्ने हुनाले डाक्टरहरूले गरिदिए भने बिरामी सुरक्षित हुन्छन्।’ 

चिकित्सकले लेखेको प्रेस्क्रिप्सन नबुझीकन, औषधिको नाम प्रस्ट नभईकन बिरामीलाई औषधि दिन नहुने नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डे बताउँछन्।

नेपालमा यसरी गलत औषधि विक्रिवितरण हुने गरेको घटना प्रशस्तै हुने गरेको रजिस्ट्रार पाण्डेले स्वीकार गरे। 

उनले भने,‘यस्तो समस्या पर्याप्त पाइन्छ। प्रेस्क्रिप्सन प्रस्ट नभएको धेरै केसहरू छन्।’ 

चिकित्सकले पनि आचार संहिता अनुसार बुझिने गरी प्रेस्क्रिप्सन लेख्नुपर्ने रजिस्ट्रार पाण्डेको जोड छ। 

१२ असोज, २०७८, २२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।