देउवालाई मन पर्दैन संसद् बैठक : साढे तीन वर्षमा २४२ दिन बैठक, ६० दिन मात्रै उपस्थित

देउवालाई मन पर्दैन संसद् बैठक : साढे तीन वर्षमा २४२ दिन बैठक, ६० दिन मात्रै उपस्थित

आफूले प्रधानमन्त्रीमा दाबी गर्दागर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि उनी बहुमत संसद्को हस्ताक्षर बोकेर सर्वोच्च अदालत गए। सर्वोच्चको संवैधानिक इजलासले देउवाले गरेको तर्क स्वीकार गर्दै संसदीय सर्वोच्चताको पक्षमा फैसला गर्दा उनी प्रधानमन्त्री भए।

२०७४ को निर्वाचनपछि बनेको प्रतिनिधी सभाले साढे तीन वर्ष पार गर्दा २ सय ४२ दिन संसद् बैठक बसिसकेको छ। ती बैठकमा पहिला प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका हालका प्रधानमन्त्री देउवा जम्मा ६० दिन मात्रै उपस्थित भए।

२०७४ देखि २०७८ साल साउनसम्मको संसद् सचिवालयले उपलब्ध गराएको हाजिरी विवरण अनुसार देउवा संसद्मा प्रतिनिधित्व गर्ने शीर्ष नेतामध्ये सबैभन्दा कम उपस्थित हुने नेताको सूचीमा अग्रपङतिमा छन्।

२०७४ मंसिंरमा निर्वाचनताका उनी प्रधानमन्त्री थिए। पुसमा नतिजा सार्वजनिक हुँदा उनी प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पुगे। सत्ता हस्तान्तरणमा ढिलाइ हुँदा फागुनमा मात्रै प्रतिनिधि सभाको बैठक बसेको थियो।

२०७४ मा माओवादी र एमाले चुनावमा एकीकृत भएर जाँदा झन्डै दुई तिहाइ बहुमत ल्याएका थिए। नेपाली काँग्रेस प्रतिपक्षमा पुग्यो। प्रतिपक्षी दलका संसदीय दलका नेता समेत रहेका देउवा सबैभन्दा कम प्रतिनिधि सभामा उपस्थित भएका देखिन्छ।

फागुन र चैत गरी दुई महिनामा जम्मा १० दिन बसेको बैठकमा देउवा ७ दिन मात्र उपस्थित भए। त्यस्तै २०७५ कार्तिक र मङ्सिरबाहेक प्रतिनिधि सभाको बैठक बसेको देखिन्छ। १०  महिनामा  १०३ दिन बैठक बसेको थियो। १ सय ३ दिन बैठक बस्दा देउवा जम्मा १६ दिन मात्रै उपस्थित भए।

२०७६ मा पनि देउवाले प्रतिनिधि सभाको बैठकमा जान रुचि देखाएनन्। कात्तिक, मङ्सिर र चैत बाहेक ९ महिनामा प्रतिनिधि सभाको बैठक ८५ दिन बस्यो। जसमा देउवा २२ दिन मात्रै उपस्थित भए। २०७७ मा समेत संसद्मा देउवाको उपस्थिति न्यून देखिन्छ।

कोरोनामा महामारीका कारण र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुई पटक सदन विघटन गर्दा बैठक बस्न सकेन। वैशाख, जेठ, असार, फागुन र चैतमा जम्मा ३४ दिन मात्रै प्रतिनिधि सभाको बैठक बसेको थियो। देउवा ११ दिन मात्रै उपस्थित भए।

पटक-पटक सदन विघटन गरेका तत्कालीन केपी शर्मा ओलीको कदम विरुद्ध आन्दोलनमा होमियो काँग्रेस। तर यही पार्टीका सभापति भने शीर्ष नेतामा सबैभन्दा कम सदनमा उपस्थित भए। गत असारमा सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय उल्टाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

त्यसपछि पनि प्रतिनिधि सभाको बैठकमा सकेसम्म नजाने उनको बानीमा सुधार आएन। २०७८ मा जम्मा १० दिन बैठक बसेकोमा ४ दिन मात्रै उपस्थित भए उनी। २०७४ देखि साउनसम्मको हाजिरीमा देउवा सबैभन्दा कम सदनमा उपस्थित हुने शीर्ष नेतामै पर्छन्। साढे तीन वर्षमा २ सय ४२ दिन प्रतिनिधि सभा बैठक भएकोमा देउवा १ सय ८२ दिन गयल भए, ६० दिन मात्रै सदनमा उपस्थित भए।

बैठकमा नजाने दोस्रोमा केपी, तेस्रोमा प्रचण्ड

२०७४ मा तत्कालीन नेकपाले झन्डै दुई तिहाइ बहुमत ल्याएपछि सांसदप्रति सबैभन्दा अनुदार तत्कालीन प्रधानमन्त्री ओली देखिए। उनै ओलीले दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरे। भलै उनको निर्णय सर्वोच्च अदालतले उल्टाइदियो।

संसद् सचिवालयले उपलब्ध गराएको हाजिरीमा एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओली जम्मा ६४ दिन मात्र संसद्मा उपस्थित भएको देखिन्छ। २०७४ मा ९  दिन, २०७५ मा २५ दिन, २०७६ मा १५ दिन,२०७७ मा १२ दिन र २०७८ मा जम्मा दिन मात्रै सदनमा हाजिरी भएका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ सय ४२ दिन संसद् चलेकोमा जम्मा ७७ दिन मात्रै उपस्थित भए। २०७४ मा जम्मा ५ दिन ,२०७५ सालमा २४ दिन ,२०७६मा २४ दिन,२०७७ सालमा १९ दिन,२०७८ सालमा ३ दिन मात्रै सदनमा उपस्थित भए।

शीर्षमा नेपाल सबैभन्दा बढी उपस्थित

प्रधानमन्त्री बाबुराम भट्टराई १ सय ७४ दिन मात्रै सदनमा उपस्थित भएका छन्। २०७४ मा ४ दिन,२०७५ मा  ६३ दिन, २०७६ मा ६९ दिन, २०७७ मा ३० दिन भने २०७८ मा ८ दिन उपस्थित भएका छन्।

त्यस्तै पूर्व प्रधानमन्त्री झलनाथ खनाल १ सय ९५ दिन सदनमा उपस्थित भएका छन्। २०७४ सालमा १० दिन संसद् चलेकोमा १० दिन नै उपस्थित भएका छन् भने २०७५ मा १०३ दिन संसद् बैठक बसेकोमा  ७८ दिन  उपस्थित भएका छन्।

२०७६ मा  ८५ दिन संसद् चलेकोमा ७३ दिन, २०७७ मा ३४ दिन बैठक बसेकोमा ३४ दिन नै उपस्थित भएका छन्।  २०७८ मा उनी संसद् बैठकमा उपस्थित भएका छैनन्। २०७८ मा खनाल मिर्गौला प्रत्यारोपणका लागि नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचाररत थिए।

त्यस्तै माधवकुमार नेपाल  २०७४ मा ८ दिन २०७५ मा ७८ दिन २०७६ मा ७१ दिन २०७७मा  ३२ दिन र ९ दिन २०७८मा  गरी १ सय ९८ दिन उपस्थित भएका हुन्। 

सबैभन्दा धेरै उपस्थित हुने सांसद माया देवी न्यौपाने

प्रतिनिधि सभाको बैठक  २ सय ४२ दिन बस्यो। २ सय ४२ दिनमा २ सय ३९ दिन उपस्थित भएकी छिन् सांसद माया देवी न्यौपाने। त्यस्तै नन्दलाल रोका क्षेत्री २ सय ३६ दिन ,देव गुरुङ २ सय ३५ दिन ,कृष्णलाल महर्जन २ सय ३५ , मिना सुब्बा ,भूपेन्द्र बहादुर थापा , विमला नेपाल ,विजय सुब्बा ,दिव्यमणि राजभण्डारी २ सय ३४ दिन ससंदमा हाजिरी भएका छन्।

हाजिरीको सम्पूर्ण विवरण

१० असोज, २०७८, १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।