अमेरिका जाने सपना : जर्मनीमा अलपत्र १० जना कोलम्बिया उड्दै 

अमेरिका जाने सपना : जर्मनीमा अलपत्र १० जना कोलम्बिया उड्दै 

काठमाडौं : जर्मनीको विमानस्थल फ्रयाङफ्रटमा अलपत्र ८५ जना नेपाली मध्ये १० जना बोर्डिङ पास बनाएर कोलम्बिया तर्फ जाने तयारीमा रहेका छन्।

उनीहरू विगत १० दिन देखि फ्रयाङ्कफ्रट एयरपोर्टमा थिए। 

उनीहरूले नेपालबाट नै फ्याक्स मार्फत कोरोनाको रिपोर्ट मगाएर कोलम्बियाको राजधानी बोगटा तर्फ जाने तयारी गरेका हुन्। स्रोतका अनुसार उनीहरूले कोरोना परीक्षण नै नगरी रिपोर्ट लिएर कोलम्बिया जान लागेका हुन्।

यसरी कोलम्बिया जाने तयारीमा १० जना भएको स्रोतले जनाएको छ। उनीहरू मध्ये केहीले बोर्डिङ पास समेत लिइसकेको स्रोतले बतायो। 

विगत १० दिन देखि अलपत्र उनीहरू मध्य केहीसँग नक्कली भिसा भएको र केही मेक्सिकोको अध्यागमनले डिपोर्ट गरेर पठाएको थियो। 

नेपालबाट दुबई हुँदै जर्मनीको फ्रयाङ्कफ्रट एयरपोर्टमा पुगेका मध्य १८ जनालाई  जर्मनको प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो। जसमा ६ जनाको नक्कली पासपोर्ट भेटिएको थियो भने अन्यको पनि नक्कली कागजात भएको पाइएको थियो। 

उनीहरूसँग जर्मनीको भिसा नभएको कारण विमानस्थलको निश्चित स्थान भन्दा बाहिर जान दिइएको छैन। केही दिन अगाडिसम्म एकै ठाउँमा बसेका उनीहरू एयरपोर्ट भित्र नै फरक– फरक स्थानमा बस्न थालेका छन्। 
‘उनीहरूका एजेन्टले एकै स्थानमा नबस्न भने पछि उनीहरू फरक फरक स्थानमा बस्न लागेको बुझिएको छ। 
कसरी पुगे जर्मनी 

उनीहरू मध्ये एउटा टोली मस्कोबाट फ्रयाङ्कफ्रट एयरपोर्टलाई ट्रान्जिट बनाएर मेक्सिको जाने तयारीमा थिए भने अर्को टोली मेक्सिकोबाट डिपोर्ट भएर फर्किएका हुन्।  

नेपालबाट गैर कानुनी रूपमा अमेरिका हिँडेका ती नेपालीहरूले जनही ४० लाख भन्दा धेरै बुझाएको पाइएको छ। अलपत्र परेका नेपालीहरूले दिएको जानकारी अनुसार उनीहरू नेपालबाट फरक– फरक दलाल मार्फत गएका देखिन्छन्। 

उनीहरू काठमाडौँबाट दुबई हुँदै मस्को पुगेको पाइएको छ। मस्कोबाट उनीहरू जर्मनीको फ्रयाङ्कफर्ट पुगेका हुन्। 
फ्रयाङ्कफर्टबाट उनीहरू मध्ये केही मेक्सिकोको कानकुन एयरपोर्ट पुग्ने तयारीमा थिए। भने केही मेक्सिकोबाट डिपोर्ट भएका हुन्। 

उनीहरु मध्ये केहीलाई परिवारले घर ल्याउन प्रयास गरिरहेका छन्।

कोलम्बियाको बाटो झनै असुरक्षित
दलाललाई मोटो रकम दिएर अमेरिका जाने सपना देखेका ती नेपालीहरूले जसरी पनि अमेरिका छिर्ने लक्ष लिएको देखिन्छ। गैर कानुनी रूपमा अमेरिका छिर्न चाहेका उनीहरूलाई मेक्सिकोको अध्यागमनले नेपाल नै फिर्ता हुन भनेको थियो। 

उनीहरू रसियाको मस्को हुँदै जर्मनी पुगेकोले त्यही रुट हुँदै फर्कन अध्यागमनले सुझाव दिएको थियो। तर उनीहरूले मेक्सिको हुँदै फर्कन पाउनु पर्ने माग राखेको दूतावासले जनाएको छ। उनीहरू जर्मनी छिरेको बाटो अर्थात् मस्को हुँदै फर्कन पाउने त्यहाँको प्रहरीले दूतावासलाई बताएको छ।

गैर कानुनी तरिकाबाट अमेरिका छिर्ने बाटो मध्ये कोलम्बिया हुँदै जाने बाटो पनि एक हो। कोलम्बियाको राजधानी बोगटाबाट क्यारेबियन सागर हुँदै पुनः मेक्सिकोबाट अमेरिका जाने गर्दछन्। 

तर यो उनीहरूले रोजेको बाटो सुरक्षित मानिँदैन। गैर कानुनी रूपमा हिँडेका कारण क्यारेवियन सागरमा सानो डुङ्गा चढेर जानु पर्ने, स्थल मार्गमा पनि पैदल नै जानु पर्ने भएको कारण यो बाटो सुरक्षित मानिँदैन। 

२०७८ असार ५ गते नेपालबाट अमेरिका जाने सपना बोकेर गएका ८ जना नेपाली कोलम्बियाबाट कपुरगाना हुँदै जाँदा क्यारेबियन सागरमा खसेका थिए। उनीहरूसँगै १० जना बङ्गलादेशी पनि थिए। 

१८ जनामध्ये १२ जना बेपत्ता भए। एक नेपाली र ५ बङ्गलादेशीले भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए। संयुक्त राष्ट्र सङ्घका अनुसार गत २०१९ मा मात्रै उक्त बाटो हुँदै १७ हजार ६६८ जना गैर कानुनी रूपमा प्रवेश गरेको र २०२० मा ३ हजार ८८७ जना अमेरिका प्रवेश गरेका थिए। 

अलपत्र परेकामध्ये केहीलाई नेपाल फर्काउने तयारी गरिएकाे छ।

यसअघि मानव तस्करीसम्बन्धी उकेराले प्रकाशन गरेकाे समाचार तलकाे लिङ्क क्लिक गरी हेर्न सक्नुहुनेछ।

७ असोज, २०७८, २१:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।