रूप फेरिरहने प्रमाेद: कहिले तेस्रो लिङ्गी बने, कहिले चलचित्रको सेटमै बेहोस भए

रूप फेरिरहने प्रमाेद: कहिले तेस्रो लिङ्गी बने, कहिले चलचित्रको सेटमै बेहोस भए

चरित्रमा प्रवेश गर्न र अभिनय गरुञ्जेल उनी हिँड्दा पनि केटीको चप्पल लगाएर हिँड्थे। हातमा मेहेन्दी, कानमा झुम्का टुट्दैनथ्यो। मण्डलाका उनका केटा साथीहरू उनलाई ‘केटी भएको भए बिहे गर्थेँ' भनेर जिस्काउँथे।

प्राणनारायण, राजकुमारीको हेरचाह गर्ने पात्र हो। उसलाई ८ वर्षको उमेरमा नपुंसक बनाइएको हुन्छ। उनलाई यस पात्रको भूमिकामा आउन जम्मा १५ दिन लाग्यो। रिहर्सल पनि एक दिन मात्रै भयो। यद्यपि प्रमोदलाई प्राणनारायणसँग छुट्टै लगाव छ। उनी यो चरित्रलाई फिल्ममा उतार्न चाहन्छन्। 

प्रमोदले हाँस्दै भने, ‘मलाई वाक्स गरेर, वान पिस र मेकअप लगाएर ठमेलमा उभिन मन छ। लेहेङ्गा लगाएर माधुरी दीक्षित नाचेको गीतमा कम्मर मर्काउने रहर छ। फिल्ममा कुरा चलिरहेको छ, सपना पक्कै पूरा हुन्छ।’

प्रमोदको कथा
प्रमोद धेरैपटक हिरो बन्न काठमाडौं आए। बल्लबल्ल पाएको चलचित्रमा खासै छाप छोड्न सकेनन्। त्यसपछि भारत पुगे। थप हण्डर खाए, गहिरोसँग क्यारेक्टर बुझे। अनि काठमाडौं आएर ‘उमा’ फिल्ममा काम गरे।

फिल्मको पात्र थियो– विनीत। प्रमोदलाई विनीत पनि खूबै मनपर्छ। विनीत खास लाग्नुबारे प्रमोदले भने, ‘ऊ मेरो पहिलो परीक्षा थियो। विनीत पास भएकैले अहिलेसम्म प्रमोद यहाँ छ।’ 

प्रमोदलाई ‘पाण्डव’को रवि, ‘ग्याङस्टार ब्लुज’को अब्जल, ‘छक्का पञ्जा’को बाबा मस्तमौला, ‘संरक्षण’को चितकबरालगायतका पात्रहरू पनि मनपर्छ। उनले भने, ‘कहिलेकाहीँ सोचेजस्तो राम्रो काम हुँदैन। ती एकदुई पात्रलाई म मेरो नजरबाट टाढै राख्न चाहन्छु।’

प्रमोद आफूले न्याय गर्न सक्ने पात्रलाई सकभर उम्कन दिँदैनन्। ‘मैले नगरे कसले गर्ने?’, उनले भने।

मधेशको पात्रमा खेलाँची भएको छ
उनका अनुसार अहिलेसम्म मधेशका पात्रहरूमा खेलाँची भएको छ। ‘केही कलाकारबाहेक पहाडी कलाकार नै अनुहारमा कालो पोतेर, सकी नसकी लवज बिगारेर अभिनय गर्छन्। त्यस्तो हुन दिनुभन्दा आफूलाई त्यस्ता पात्रको प्रस्ताव आए खुसी हुँदै न्याय दिन्छु’, उनले भने।

उनका अनुसार नेपाली चलचित्रमा मधेशका पात्र सधैँ पानवाला, पानीपुरीवाला मात्रै देखाउन खोजिन्छ। काठमाडौं ओरियन्टेड पावर र राज्यसत्तालाई उनी यसर्थमा गलत देख्छन्।

चरित्रले बिथोलिरहन्छ
प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक’को छायांकन सकिएपछि निर्देशक मनोज पण्डितले उनलाई तीन महिनासम्म फोन गरेनन्। उनी चरित्रमा यसरी डुबेका थिए कि, मनोज प्रमोदलाई देख्यो कि डराउने भएका थिए। 

छायांकनको समय सम्झदैँ उनले भने, ‘क्लाइमेक्स सुटिङ हुँदै थियो। त्यो पात्रले यति धेरै इनर्जी खर्च गरिदियो कि, त्यो बेला म सेटमै बेहोस भएँ।’ 

उसो त निर्देशक मनोज पण्डित जस्तै प्रमोद पनि बेला बेला कन्ट्रोभर्सीमा आउँछन्। 

उनले अभिनय गरेको ‘कथा काठमाडौंको’ चलचित्र केही सिन काटिएर मात्रै प्रर्दशनमा आयो। केही पत्रकारले त उनलाई दृश्य हेर्ने बित्तिकै सोधेछन्, ‘प्रमोद जी, त्यो सिन गर्दा कस्तो भयो?’

उनले यसरी जवाफ दिए– ‘त्यहाँ प्रमोद अग्रहरि थिएन, त्यहाँ त सौरभ (सो चलचित्रको पात्र) थियो। त्यो कुरा सौरभलाई गएर सोध्नुपथ्र्यो, मलाई हैन।’ तर चलचित्रमा देखाइएको सबै कुरा दुरुस्तै ‘फलो’ गर्नका लागि देखाइएको नहुने उनको तर्क छ। उनका अनुसार चलचित्रमा सिम्बोल देखाइने हो, यथार्थ देखाइने, त्यस्तै गर्नु भनेर सिकाइएको होइन। 

केही समय घोत्लिएर फेरि भने, ‘त्यो क्यारेक्टरले गाली खानै पथ्र्यो। गाली खायो, यो मेरो सफलता हो। कुमारी हलमा यही फिल्म हेरेर फर्कने बेला दुई जना आन्टीहरूले कुटुँला झैँ गर्नुभयो, यस्तो काम पनि गर्ने हो? भनेर थर्काउनुभयो। तर त्यो गाली मलाई हैन सौरभलाई हो नि त।’

प्रमोद भनेर नचिनुन्
‘म त क्यारेक्टर फेरिरहने मान्छे। जुन बन्छु त्यहि भनेर मात्रै चिनिन पाउँ। प्रमोद भनेर नचिनुन् भन्ने लाग्छ’, उनले भने।  

प्रमोद प्रायः नेगेटिभ क्यारेक्टरमा देखिन्छन्। तर उनी दर्शकले जस्तो रूपमा चाह्यो त्यस्तै रुपमा आउन तयार छन्। 

'ग्यांगस्टार ब्लुज'मा अब्जलको नेगेटिभ क्यारेक्टरमाथि युवतीहरू फिदा भएको भन्दै उनले भने, ‘सुटिङको क्रममा राजधानीबाहिर थिएँ, यताबाट एकजना दाइले फर्कँदा टिकाटालो गर्ने गरेर आउ भनेर जिस्काउँदै हुनुहुन्थ्यो। भिलेन क्यारेक्टरसँग पनि लभ पर्यो भनेपछि त्यो मेरो सफलता हो।’

एकै फिल्मलाई दुई वर्ष
प्रमोदले दाह्री पालेको झण्डै २ वर्ष पुग्न लाग्यो। त्यसबेला एउटा क्यारेक्टरकै लागि उनले दाह्री पालेका थिए। 

त्यो चलचित्रको अन्तिम भाग छायांकन हुनै बाँकी छ। ‘एउटा मानिस २ वर्ष अस्पताल बसेपछिको अवस्था देखाउनु छ’, उनले भने। 
यसबीच आफ्नो क्यारेक्टरलाई असर नगर्ने भएकाले उनले दाह्री पालेरै ‘ए’मा पनि काम गरे। 

६ असोज, २०७८, १९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।