लखनउ पुग्नु पर्ने बिरामीको कर्णाली प्रदेश अस्पतालमा उपचार  

लखनउ पुग्नु पर्ने बिरामीको कर्णाली प्रदेश अस्पतालमा उपचार  

सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अनलाइनबाटै टिकट काटिने भएको छ।

अस्पतालमा बिरामीको चाप बढेपछि चेकजाँचका लागि ओपिडी टिकट लिन पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काटिने अस्पतालका निर्देशक डा. डम्मर खड्काले बताए।

अस्पतालले आकस्मिक कक्षमा उपचार गराइरहेका बिरामीका लागि २४ सैं  घण्टा ल्याब, बिलिङ र औषधि सेवा पनि सुरु गरेको छ। आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका बिरामीका लागि निःशुल्क खानाको व्यवस्था गर्ने योजना बनाएको खड्काले बताए।  

अस्पतालले कर्णालीमै पहिलो पटक आन्द्रा, टाउको, पित्त थैलीको, एपेण्डीसाइटिस लगायतका शल्यक्रिया सुरु गरेको खड्काले बताए। यो सेवा लिनका लागि कर्णालीका नागरिक नेपालगन्ज, काठमाडौँ र लखनउ जान बाध्य थिए। 

यस्तै अस्पतालले आफ्नै लगानी र दाताको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरेको छ।

‘हामी थप प्लान्ट सञ्चालनको तयारीमा छौँ, अब बिरामीले अक्सिजनको सिलिन्डर खोज्नुपर्ने अवस्था आउने छैन। दसैँअघि नै पाइपलाइनबाटै हरेक बेडमा अक्सिजन आपूर्ति हुने व्यवस्था गर्दैछौं,’ अस्पतालका निर्देशक डा. खड्काले भने, ‘अस्पतालमा थप सेवा र चिकित्सकहरू उपलब्ध गराउनका लागि सरकारसँग माग समेत गरेका छौँ।’

६ असोज, २०७८, १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।