लुम्बिनी प्रदेशका ४ उपमहानगरका यी हुन् कांग्रेस सभापति आकांक्षी 

लुम्बिनी प्रदेशका ४ उपमहानगरका यी हुन् कांग्रेस सभापति आकांक्षी 

बुटवलः लुम्बिनी प्रदेशका ४ उप–महानगरपालिकामा कांग्रेसको सभापतिका आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्। एक सय ९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा बुटवल उप–महानगरपालिका, घोराही उप–महानगरपालिका, तुल्सीपुर उप–महानगरपालिका र नेपालगञ्ज उप–महानगरपालिका गरी ४ वटा उप–महानगरपालिका छन्।

४ वटै उप–महानगरपालिकामा प्रधानमन्त्री एवं पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले उम्मेदवार घोषणा गरिरहेका छन्। कांग्रेसको तेस्रो धार भनिएको कृष्ण प्रसाद सिटौलाको यी उप–महानगरपालिकामा प्रभाव नगन्य छ। 

बुटवलमा पौडेल पक्षकै आकांक्षी धेरै
गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीको बुटवल उप–महानगरपालिकामा संस्थापन पक्ष भन्दा पौडेल पक्षका आकांक्षी धेरै छन्। जसलाई मिलाएर अघि बढ्नुपर्ने चुनौती पौडेल पक्षलाई छ ।

पौडेल समूहबाट नगर सभापतिमा हालका उपसभापति विमलराज भट्टराई, नेपाल विद्यार्र्थी संघका पूर्व केन्द्रीय उपसभापति प्रकाश राना, नगर  सचिव  ज्योति भण्डारी, हालका क्षेत्रीय सचिव जोगबहादुर केसी लगायतले दाबी गरेका छन्। देउवा समुहबाट महिला नेतृ रिता केसी र प्रजापाल गिरीको नाम चर्चामा छ।

सभापतिमा पौडेल समूहका विमलराज भटट्राई र देउवा निकटका प्रजापाल गिरीबीच मुख्य प्रतिस्पर्धा हुने कांग्रेस नेताहरू बताउँछन्। १३ औं अधिवेशनमा सभापतिमा पराजय भोगेका गिरी र हालका उप–सभापति भट्टराईलाई मुख्य दावेदारको रूपमा हेरिएको छ। 
गिरीलाई गृहमन्त्री खाँणले र भट्टराईलाई महामन्त्री शशांक कोइरालाले साथ दिँदै आएका छन।

हालका सभापति खेलराज पाण्डे पनि पुनः दोहोरिने इच्छा व्यक्त गरेका छन्। उनी स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको नगरप्रमुखको उम्मेदवार थिए। बुटवलमा नेपाली काँग्रेसका ५ हजार ५७० क्रियाशील सदस्य छन् भने क्षेत्रीय प्रतिनिधि ७५० जना छन्।

सभापतिका आकांक्षी भट्टराईले आफू दुई कार्यकाल उपसभापति भएर काम गरेकाले अहिले सभापति निर्विरोध पाउनुपर्ने बताउँछन। ‘२०६७ देखि अहिलेसम्म उपसभापति छु। अब नेतृत्त्व लिने बेला आयो’, उनले भने। अर्का दाबेदार गिरीले नेतृत्वका लागि आफू सही उम्मेदवार भएको बताए। 

नेपालगञ्जमा पनि बढ्यो चुनावी सरगर्मी
कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालाको गृहनगर बाँकेमा क्रियाशील सदस्यता विवादले वडा अधिवेशन नै हुन सकेको छैन। तर, उप–महानगरपालिकाको नेतृत्त्व कसले लिने भन्ने चर्चा भने सुरु भइसकेको छ। 

नेपालगञ्जमा हालका नगर सभापति प्रशान्त विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर र तरुण दल जिल्ला सचिव विनोद रिजाल सभापतिका दाबेदार छन्। विष्ट र रिजाल देउवा निकट हुन् भने उपप्रमुख थापा कोइराला परिवारसँग निकट हुन्। तीन जनामध्ये पनि विष्ट र थापाबीच नै सभापतिमा प्रतिस्पर्धा हुुने कांग्रेस नेताहरू बताउँछन्।

सभापतिमा दाबी गरेकी उमा थापा मगरले सके आफूले मेयरको टिकट पाउने, नसके पार्टीले टिकट दिएका व्यक्तिलाई जिताउने जिम्मेवारी बोक्न सभापतिमा दाबी गरेको बताउँछिन्। 

दाङका दुई उपमहानगरमा पनि गुटको प्रभाव  
दाङको घोराही उप–महानगरपालिकामा २ जनाले सभापति पदमा दाबी गरेका छन्। पौडेल पक्षबाट घोराही–१५ का वडाध्यक्ष रमेश पाण्डे र नेविसंघको राजनीतिबाट आएका दीपक पाण्डेले सभापपति पदको दाबी गरेका छन्।

यस्तै तुल्सीपुर उप–महानगरको सभापतिमा सुरेश हमाल, अनिल कार्की, शोभाकर सापकोटा, हालका सभापती गेहेन्द्र गिरी, युवा नेता नवीन बुढाथोकीले दाबी गरेका छन्। हमाल र सापकोटालाई पौडेल र अनिल कार्की देउवा समूहका हन्। गेहेन्द्र र नवीन दुवै देउवा गुटकै भएका कारण दुई जनामध्ये एउटालाई नगरको नेतृत्त्वमा ल्याउने उनीहरूको इच्छा छ। 

तर, गेहेन्द्रले माथिका अन्य पद दिए आफू नगरसभापतिमा नदोहोरिने संकेत गरेका छन्। 
 

६ असोज, २०७८, १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।