क्रियटिभ काम हैन लोक दोहोरी

क्रियटिभ काम हैन लोक दोहोरी

केटाः कालो चस्मा लाएर ढल्केको
छौ कि कतै कोहीसँग पल्केको
केटीः बोलाइहाल्यौ मोहनी बोलीले
तिर्खाएको बुझ्दैन खोलीले
केटाः आउलान् फेरि भमरा हुल बाँधी
मगमग बसाउने फूलमाथि
केटीः नगर न काँचै खाने झैं
कमलो मन पग्लिन्छ नौनी झैं

माथि उल्लेख गरिएको रेकर्डेड दोहोरी गीतलाई युट्युवमा झण्डै ६३ लाख पटक हेरिएको छ। अब अर्को उदाहरण हेरौः

केटीः सँगै छोरो लैजान्छु हेर
कति बस्नु म आँशु पिएर
केटाः केही भाछैन पुग्नुछ लक्ष्यमा
म त अझै नछुट्ने पक्षमा
केटीः बस्नै जाति छ अब छुटेर
हैरान पार्यौ दिनरातै कुटेर
केटाः साना कुरा सकिन पचाउन
मै मरेर चाहन्थें बचाउन

यो पनि लोक दोहोरी नै हो। नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘दोहोरी च्याम्पियन’का प्रतिस्पर्धीले प्रत्यक्ष गाएको दोहोरीको झलक हो यो। 
यी दुईको फरक के हो भने– पहिलो लोक दोहोरी गीत कस्तो अवस्थामा गाइएको थियो पत्ता लगाउन सकिँदैन। केटाले के भन्दैछ, केटीले के उत्तर दिँदैछिन् पत्तो पाउन मुस्किल छ। टुक्का मिलाउन मात्रै शब्दहरूको प्रयोग गरिएको छ। केटा र केटीले गरेको कुरोको एक छेउ पनि बुझिँदैन।

त्यस्तै दोस्रो लोक दोहोरी गीतमा अवस्था स्पष्ट बुझ्न सकिन्छ। श्रीमान श्रीमती छुट्टिन लागेका छन्। श्रीमती छोरोसँगै लिएर जाने पक्षमा छिन्, श्रीमान मिलेर बसौँ भन्ने पक्षमा छन्।

त्यस्तै गीतमा माथिल्लो हरफले तल्लो हरफलाई ‘सपोर्ट’ गरेको छ। टुक्का मिलाउन मात्रै शब्दको प्रयोग गरिएको छैन।

रेकर्ड गरिएको दोहोरी गीत कसरी एकैछिनमा रचिएको गीतभन्दा झनै तल्लो स्तरको हुन पुग्यो त? लोकगायक बद्री पंगेनी भन्छन्, ‘केटा र केटी दुवैको भूमिका एकैले लेख्दा फितलो भएको हुनसक्छ।’

उनका अनुसार रेकर्डेड गीत एउटा गीतकारको मूडमा भर पर्ने कुरा हो। उसको दिमागमा के खेलिरहेको छ भन्ने कुराले केटा र केटी दुवैको गीति संवादमा प्रभाव पार्छ।

अर्कातिर श्रोताले रेकर्डेड गीतमा खासै ध्यान नदिने भएकाले पनि फितलो बन्नसक्ने उनले बताए। भने, ‘लाइभ दोहोरीमा केटाले यसो भन्यो, केटीले के भन्ला या केटीको प्रश्नमा केटाको कस्तो उत्तर आउला भन्ने चासो हुन्छ। दर्शकले चाख मानेर दोहोरी सुनिरहेका हुन्छन्। त्यसको उल्टो रेकर्डेड गीतमा भने दुई लाइन बाहेक दर्शकले खासै याद गर्दैनन्।’

यस्तै आजभोलि भिडियो बन्ने गरेकाले श्रोताको ध्यान भिडियोले मात्रै तान्ने हुँदा पनि शब्दमा खासै मेहनत नदेखिएको अनुमान पंगेनीले गरे।
लोक दोहोरी गीतमा एकले अर्काको प्रश्नको उत्तर दिने गरिन्छ। जुन कलात्मक हुन्छ।

लोक गीत क्रियटिभ काम हैन

तर लेखक तथा गीतकार राजेन्द्र थापा भने लोक दोहरी गीत क्रियटिभ काम अन्तर्गत नपर्ने बताउँछन्। उनले भने, ‘लोक गीत परम्परागत गीत हो। यसमा क्रियटिभीटी खोज्नु हाम्रै मुर्खता हो।’

थापाका अनुसार, गीत तिन प्रकारको हुन्छ– शास्त्रीय, परम्परागत र आधुनिक। शास्त्रीय गीतमा गलाको कला प्रस्तुत गरिन्छ। शब्द, क्रियटिभिटी लगायतका कुरा शास्त्रीय संगीतमा महत्त्वपूर्ण विषय हैन। यहाँ गलाको कलालाई प्राथमिकता दिइन्छ।

त्यस्तै, आधुनिक गीतमा सिर्जनात्मकता हुन्छ। गीतकारको ओभपूर्ण, अर्थपूर्ण शब्द, संगीतकारको संगीतको विविधता आधुनिक गीतमा खोजिन्छ।
तर परम्परागत गीत भने सिर्जनात्मक हुँदैन। परम्परागत गीतमा लोक गीत, भक्तिभाव, भजनलगायत पर्छन्।

लोक गीतमा भन्न खोजेको पंक्ति नै एक लाइनको हुने भन्दै उनले भने, ‘गायकले मनमा मात्रै माया बाँकी भो भन्न खोजेका हुन्छन्, तर उनीहरूमा सिर्जनशिल क्षमता हुँदैन। त्यसपछि वरपर हेर्छन्, टाँकीको बोटमा फूल फूलिरहेको देख्छन् र भन्छन्,

फूल फूल्यो बनमा टाँकीको
माया मात्रै मनमा बाँकी भो।’

थापाका अनुसार उनीहरू आशु कवि भने हुन्। ठाउँका ठाउँ अवस्था र वातावरण हेरेर सवालको जवाफ फर्काउन सक्ने प्रतिभा लोक दोहोरी क्षेत्रका गायक गायिकामा हुने उनले बताए।

युरोपियन अनुसन्धानकर्ता लोक गीतमा ‘हुक’ अर्थात बल्छि थाप्ने लाइन हुने र यसैले आम श्रोतालाई तानिरहने निष्कर्ष निकालेको पनि उनले बताए। 
उदाहरणका लागि अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाएको गीत ‘रेशम फिरिरी’लाई लिन सकिने उनले बताए। भने, ‘रेशम फिरीरी, रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भङ्ज्याङ रेशम फिरिरी, यहाँ तीन पटकसम्म रेशम फिरिरीको कुरा गरिएको छ तर भन्न खोजेको कुरा उडेर जाउँ कि डाडाँमा भङ्ज्याङ मात्रै हो। रेशम फिरिरी बल्छी थाप्ने पंक्ति हो।’

भारतको लोक गीत र नेपालको लोक भने फरक रहेको उनले बताए। भारतमा माानिसहरू शिक्षित बने, त्यसैले उनीहरू क्रियटिभ बने। त्यहाँको लोकगीतमा नेपालको जस्तो हुक लाइन त हुन्छ तर अगाडिको हरफले अर्थ नदिने हुँदैन। 

नेपालमा आधुनिक गीत भनिएकाहरू पनि लोक गीतभन्दा माथि उठ्न नसकेको उनको भनाइ छ। माधव घिमिरेले लेखेको चर्चित गीतको उदाहरण दिँदै उनले भने, 

फूलको थुँगा बगेर गयो गंगाको पानीमा
कहिले भेट होला र राजै यो जिन्दगानीमा

‘दुई लाइनमा मिलाप छैन। फूलको थुंगा गंगामा बगेर गएपछि कहिल्यै फर्केर आउँदैन। यो कुरा थाहा हुँदा हुँदै दोस्रो पंक्तिमा कहिले भेट होला र राजै यो जिन्दगानीमा भन्न मिल्छ? यदि सचेत श्रोता थिए भने यसमा प्रश्न उठाउन सक्थे तर हामीमा त्यस्तो छैन’, थापाले भने।

उनका अनुसार लोक गीत भनेका नक्सा पास भइसकेका गीतहरू हुन्। जसको डिजाइन परिवर्तन गर्न सकिन्छ तर नक्सा परिवर्तन गर्न सकिँदैन। 
उनले भने, ‘लोक गीतमा कसैको रोयल्टी लाग्दैन। यो पब्लिक डोमेन हो। जसले पनि प्रयोग गर्न पाउँछन्।’

केही समयअघि गायक प्रकाश सपुतको गीतमा कपिराइटको कुरा आएको बारे पनि थापाले भने, ‘अरुण उपत्यकाको मीठासमा प्रकाशको गीत छ। जसमा जीवन शर्मा, शम्भु राईलगायतले गीत बनाएका छन्।’ 

प्रकाशले गाएको गीतमा कसैको अधिकार नलाग्ने थापाको भनाइ छ। ‘यस्ता विषयले कुन दिन ठूलै विवाद खडा गर्नेवाला छ’, अन्त्यमा थापाले भने।

६ असोज, २०७८, ०७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।