१२ वर्षपछि समातिएका अपहरणका अभियुक्तले पाए सफाई, अदालतले भन्यो 'दाबी पुगेन'

१२ वर्षपछि समातिएका अपहरणका अभियुक्तले पाए सफाई, अदालतले भन्यो 'दाबी पुगेन'

काठमाडौँ : सरकारले सात वर्ष कैद मिनाहा गर्दै कुख्यात अपहरणकारी प्रह्लाद महत छाडेको सार्वजनिक भएकै दिन उनकै समूहका अर्का सदस्य दाबी गरिएका दुर्गाबहादुर बुढाथोकीले अपहरण अभियोगबाट सफाई पाएका छन्।

घटना लगत्तै फरार रहेको भनिएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १२ वर्षपछि २०७७ पुस १५ मा दार्जिलिङमा पक्राउ गरेर नेपाल ल्याएको थियो।

कानुनी रूपमा भारतमा पक्राउ भन्न नमिलेपछि पशुपतिनगरमा समातिएको दाबी गरिएका उनलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले मङ्गलवार अपहरणमा संलग्न रहेको दाबी नपुग्ने भन्दै सफाई दिएको हो।

सर्लाही हरिवन नगरपालिका–९ ठेगाना भएका ‘सोले’, ‘कुमार’ भन्ने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकी प्रहरीको खोजी सूचिमा थिए।

२०६५ पुस १ गते भएको अपहरणमा बुढाथोकी लगायत प्रह्लाद महत, विष्णु जिसी, ‘बङ्गुरे’ भन्ने विकास कार्की, ‘सोल्टी’ भन्ने टासी गुरुङ, विनोद कार्की र अनिल गुरुङ संलग्न रहेको दाबी गरिएको थियो।

त्यो बेला पक्राउ परेका अभियुक्तको अपराध प्रमाणित भएर अपहरणमा १२ वर्ष र अपहरणकोक्रममा आफ्नै समूहको सदस्यको हत्या गरेको कसुरमा आजन्म कैद तोकिएको थियो।
अभियोगको मागवादी नपुगेको भन्दै सफाई पाएका बुढाथोकीको साथबाट प्रहरीले ‘प्रकाश क्षेत्री’ नामको भारतको निर्वाचन आयोगको कार्ड समेत सार्वजनिक गरेको थियो। भारतको दार्जिलिङ बजारमा उनले ‘प्रकाश स्टोर’ नामको कपडाको होलसेल पसल खोलेका थिए।

१२ वर्ष अगाडिको घटनाका अभियुक्त भनिए पनि अदालते त्यो स्वीकार गरेन।

५ असोज, २०७८, २२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।