खुङ्खार अपहरणकारीलाई सरकारी उपहार : सात वर्ष कैद ,८७ लाख जरिवाना  माफ

खुङ्खार अपहरणकारीलाई सरकारी उपहार : सात वर्ष कैद ,८७ लाख जरिवाना  माफ
कैद छुट पाएका महत र जिसी । जिसीको तस्बिर स्रोत : शिलापत्र डटकम

काठमाडौँ : काठमाडौँका व्यापारी र मेडिकल कलेज सञ्चालकहरूमा भारतीय नम्बरबाट कल आएपछि सातो जाने अवस्था थियो २०६३ ताका। धेरै व्यापारी र मेडिकल कलेज सञ्चालक अनि चिकित्सकहरूको अपहरण भइरहेको थियो। अपहरण अगाडि भारतीय नम्बरबाट फोन गर्ने व्यक्ति हुन्थे अमर टण्डन।

उनी सिधै अपहरणको धम्की दिँदैनथे। आफ्नो केही व्यवहार मिलाउनु छ भन्दै व्यापारी र चिकित्सकसँग पैसा माग्थे। नदिए अपहरण गरेर पनि असुल्थे।

ओमकार भट्टचन, पशुपति पेन्ट्सका महेश मुरारका सहित शिव सरावगी, सुमीत शेरचन, पवन अग्रवाल, अमित्य गुरुङ, उमेश गर्ग, दिलीप अग्रवाल, ईश्वरदत्त पाण्डे, टिकाराम अर्यालसँग यो समूहले अपहरण गरेर रकम असुली सकेका थिए।

टण्डन भारतमा बस्थे। उनको समूहका अर्का सदस्य थिए भारतीय नागरिक उदय सेट्टी। जुन व्यापारीसँग पैसा मागेको हो उसले नदिए नेपालमा रहेका उनको समूहका सदस्य प्रह्लाद महत, विष्णु जिसी, बुढाथोकी, बङ्गुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की अनि अनिल गुरुङले व्यापारीको अपहरण गरेर रकम असुल्थे।

नेपालमा श्रृंखलाबद्ध अपहरणका घटना भएपछि महानगरीय प्रहरी अपराध महाशाखाले टण्डनलाई खोज्न एक प्रहरीलाई भारतमै पठाएर उतैबाट पक्राउ गरेर नेपाल ल्याएको थियो। टण्डन पक्राउपछि पनि सेट्टीले नेपालमा अपहरणको धन्दा जारी राखे।

नीरज कक्षपति र बाबुराजा रावलको अपहरण गरेर फिरौती असुलेको घटनाको अनुसन्धाकोक्रममा यी दुवै उदयसँगै प्रह्लाद समेत पक्राउ परेका थिए। यो समूह कारागार पुगेपछि काठमाडौँका व्यवसायीहरूले केही राहत पाएका थिए।

त्यही बेला पक्राउ परेका थिए प्रह्लाद महत अनि विष्णु जिसी। उनीहरूले १२ जनाको अपहरण गरेको खुलेपछि अपहरण तथा शरीर बन्धकको अभियोग लाग्यो।

व्यवसायी पशुपति मुरारकाको अपहरणकोक्रममा तर्साउन पेस्तोल निकाल्दा पेस्तोल पड्किएर गोली लाग्दा आफ्नै समूहका सदस्य सुदीप मैनाली घाइते भएपछि उपचार गर्न लैजाँदा पोल खुल्ने भयले गोली हानेर हत्या गरेका थिए।  

उनीहरूले तिलगंगा क्षेत्रमा मैनालीको हत्या गरेर गौरीघाट पूर्याएर शव फालेका थिए। मैनालीको परिवारले कर्तव्य ज्यानमा जाहेरी दिएका थिए।

टण्डन समूहमाथि यी दुवै केसमा मुद्दा अगाडि बढ्यो। कर्तव्य ज्यानमा २० वर्ष अनि अपहरणमा १२ वर्ष कैद सजाय भयो सबैलाई। तीनै समूहका सदस्यहरूमध्ये २ जना तोकिएको कैद सजाय पुरा हुनु ७ वर्ष अगाडि नै कारागारमुक्त भएका छन् असल चालचलनको नाममा।

सरकारले संविधान दिवसका दिन असल चाल चलन देखिएका कैदीलाई छाड्ने निर्णय गर्दै असोज ३ गते कारागारमुक्त गरेको ५ सय २२ जनामध्ये यी नै खुङ्खार अपहरणकारी प्रह्लाद महत र विष्णु जिसी समेत हुन्।

अमर टण्डन र उदय

यी दुवै रामेछाप र रुपन्देही कारागारबाट मुक्त भइसकेका छन्। रुपन्देही कारागारका जेलर नारायण पन्थीले सरकारले गरेको निर्णय अनुसार असोज ३ गते जिसीलाई कारागारमुक्त गरेको जानकारी दिए। रामेछाप कारागारका जेलर रामकृष्ण घिमिरेले पनि महत छुटेको बताए।

'प्रह्लाद महत मात्रै हैन सरकारले गरेको निर्णय अनुसार सर्लाही, मुकेश कुमार पण्डित, मुहम्मद मुसलमान रुपन्देही, उमेश यादव धनुषा, अम्बीक बहादुर कार्की उदयपुर, परेक सार्की कालिकोट र रामकुमार प्याकुरेल नुवाकोट पनि छुटेका छन्' उनले भने।

उनीहरूको ६० देखि ६२ प्रतिशत भुत्तान भइसकेकाले कैद सजाय छुट सम्बन्धी मापदण्ड अनुसार सिफारिस गरिएको र महत लगायतकाले कैद छुट पाएको घिमिरेले बताए। सङ्गठित र जघन्य अपराधमा दोषी ठहर भएकालाई चालचलन राम्रो भयो भनेर छाड्न मिल्छ भन्ने उकेराको जिज्ञासामा उनले मापदण्ड पुगेकाको सिफारिस गर्ने जिम्मेवारी पुरा गरेको दाबी गरे।

कसैको दबाब पो आयो कि भन्ने प्रश्नमा उनले भने, ‘मलाई उनको कैद मिनाहा गर्न कसैले दबाब दिएको-नदिएको बारे बोल्न चाहन्न।’

सर्वोच्चले घटाइदियो जरिवाना

यी दुवै संलग्न रहेको पुष्टि भएका अपहरणका घटनाबा २ करोड फिरौती उठाएको पुष्टि भएपछि काठमाडौँ जिल्ला अदालतले महतलाई ४६ लाख ५० हजार जरिवाना तोकेको थियो। अनि जिसीलाई ४५ लाख।

उनीहरूले जिल्लाको फैसलाविरुद्ध हालेको पुनरावेदन सर्वोच्चमा पुग्दा अपहरण र हत्यामा उनीहरुमाथि भएको सजाय सदर भए पनि जरिवानामा भने भारी छुट दियो सर्वोच्चले।

उकेराले पाएको विवरण अनुसार महतलाई ४६ लाख जरिवाना भएकोमा सर्वोच्चले  घटाएर २ लाख मात्र कायम गरेको थियो। जिसीलाई ४५ लाख जरिवाना भएकोमा एक लाख ७५ हजार मात्र जरिवाना तोकियो। जबकि यी दुवै भएर भएको रावलको अपहरणमा मात्र उनीहरूले एक करोड ३० लाख फिरौती असुलेका थिए। कक्षपतीको परिवारसँग ३५ लाख फिरौती असुलेका थिए।

सङ्गठित अपहरणका योजनाकार

पहिला टण्डनसँग मिलेर अपहरण सुरु गरेका उनीहरू टण्डनको पक्राउसँगै केही समय निष्क्रिय भएका थिए। पछि उनीहरूलाई भारतीय नागरिक उदय सेट्टीले पुन सङ्गठित बनाएर अपहरण सुरु गरेका थिए। महाराजगन्ज क्षेत्रबाट कक्षपतीको अपहरण गरेर सोही दिन फिरौती लिएर मुक्त गरेका थिए।

प्रहरीले सो घटनाको अनुसन्धान गर्दागर्दै रावल अपहरणमा परे र फिरौती बुझाएर मुक्त भए। प्रहरीले पहिला सेट्टीलाई पक्राउ गरेको थियो। उनले कक्षपतीको अपहरण स्विकारे तर रावलको स्विकारेनन्।

कक्षपतीको अपहरणमा महतसहितको टोली संलग्न रहेको खुलेपछि खोज्दै जाँदा महाराजगन्ज क्षेत्रमा उनी पक्राउ परेका थिए।

'एउटा क्याफेमा केही केटाहरू सहित महत बसिरहेका रहेछन्। हामी गएर झ्यापझुप समातेर गाडीमा हाल्यौ। उनीहरूले प्रतिवाद गरे, महतलाई पक्राउ गर्न संलग्न एक प्रहरी अधिकारीले भने' प्रहरीमाथि नै जाइलागेपछि मुखमा पेस्तोल घुसारेर हतकडी लगाउनुपरेको थियो।'

पक्राउपछिको अनुसन्धानमा महतले नै रावलको अपहरणको योजना बनाएर कार्यान्वयन गराएको खुलेको थियो।

५ असोज, २०७८, १८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।