साहस ऊर्जाको ७० लाख कित्ता आईपीओ बुधबार आउँदै

साहस ऊर्जाको ७० लाख कित्ता आईपीओ बुधबार आउँदै

काठमाडाैंः साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो।

 

निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन्।

कम्पनीको विवरण पत्रअनुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन्। साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ।

५ असोज, २०७८, १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।