आफूलाई मुक्का हान्नेलाई छाड्न बुटवल मेयरको आग्रह

आफूलाई मुक्का हान्नेलाई छाड्न बुटवल मेयरको आग्रह

बुटवल : आफूलाई मुक्का प्रहार गर्ने युवालाई छाड्न बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रहरीलाई आग्रह गरेका छन्।

आफूमाथि आक्रमण भएपछि पक्राउ परेका युवा गणेश पङ्गेनीलाई छाड्न प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरिएको बताए ।

‘विपतको समयमा जनताहरूमा आक्रोश हुनु स्वाभाविक हो। मेरो कसैप्रति आग्रह–पूर्वाग्रह छैन । त्यसैले उनलाई छाड्न मैले जिल्ला र इलाका प्रहरीलाई फोन गरेर आग्रह गरेको छु,’ मेयर सुवेदीले भने।

सोमबार बिहान बुटवल–३ ज्योति नगरको पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा पङ्गेनीले बुटवल उपमहानगरका प्रमुख सुवेदीमाथि मुक्का प्रहार गरेका थिए।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले भने पक्राउ गरिएका व्यक्तिको बारेमा आवश्यक अनुसन्धान अघि बढ्ने बताए। उनले मेयर सुबेदीसँग कुरा भएको जानकारी दिए।

आफ्नै सुरक्षा घेराभित्र उपमहानगर प्रमुख कुटिएपछि तनावमा देखिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवरले यस विषयमा कुरा गर्न चाहेनन्। सोमबार बिहान कुँवरकै अगाडि मेयर सुवेदी कुटिएका थिए।

५ असोज, २०७८, १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।