६ महिलाको उद्यम, जसले रोजगारीका लागि भारत जानुपर्ने बाध्यता हटायो

६ महिलाको उद्यम, जसले रोजगारीका लागि भारत जानुपर्ने बाध्यता हटायो

सुर्खेतः पञ्चपुरी नगरपालिका–५ की भावना रावल अहिले महिला उद्यमी भएकी छिन्। केही वर्षअघिसम्म पनि उनी घरको चुलोचौकोमा मात्र सीमित हुन्थिन्। 

२०७१ सालमा उनीसहित ६ जना महिला मिलेर ‘दिदी–बहिनी चाउमिन उद्योग’ स्थापना गरेका थिए। अहिले चाउमिन उद्योगले उनीहरूलाई स्थापित गराइदिएको छ। 

उनीहरू मात्र होइन, चाउमिन उद्योगले उनीहरूका श्रीमान्लाई पनि रोजगारीका लागि भारत जानैपर्ने बाध्यता टारिदिएको छ। ‘पहिले घरायसी काममा मात्र सीमित थियौँ, सानोतिनो घरखर्चका लागि पनि भारत गएका श्रीमान्को भर पर्नुपर्थ्याे’, रावलले भनिन्, ‘अहिले सबै खर्च कटाएर मासिक ८० हजारसम्म नाफा कमाउने गरेका छौँ। अहिले हाम्रा श्रीमान् भारत जानुपर्दैन।’

नाफा जति ६ जनालाई नै भाग लगाउछन् उनीहरू। दैनिक दुई सय रुपैयाँ उद्योगको नाममा सहकारीमा बचत पनि गर्छन्। अहिले उनै रावल उद्योग सञ्चालक समितिकी अध्यक्ष समेत छिन्। 

२०६९ सालमा यी ६ जना महिलाले ‘आवाज’ संस्थाबाट तीन महिने तालिम लिएका थिए। तालिमले उनीहरूलाई सामूहिक उद्योग खोल्ने प्रेरणा दियो। ‘मेडेप’ र ‘आस्था नेपाल’ नामक संस्थाले आवश्यक मेसिन र उपकरणहरू सहयोग गरे। 

हरेक दिन बिहान ४ बजेदेखि ८ बजेसम्म उनीहरू चाउमिन उत्पादन गर्नमा व्यस्त हुन्छन्। ९ बजेभित्र स्थानीय बजारमा चाउमिन पुगिसकेको हुन्छ। अहिले घरपरिवारका आवश्यकता परिपूर्ति गरेर पनि विभिन्न समूहमा बचत समेत गर्ने गरेको अध्यक्ष रावलले बताइन्।

दैनिक एक सय ५० किलो चाउमिन उत्पादन गरि सुर्खेत पश्चिमका पञ्चपुरी, बराहताल र चौकुनेमा पठाउँदा आफूजस्तै महिलाहरूले रोजगारी पाएको पनि अध्यक्ष रावलले बताइन्। ‘उद्योगबाट हामी त स्वरोजगार भयाैँ नै, स्थानीय स्तरमा पनि चाउमिन बजारसम्म पुर्याउने, पैसा उठाउने जस्ता कामका लागि ८ जना महिलाले प्रत्यक्ष रोजगारी पाएका छन्’, उनले भनिन्।

उद्योगको लागि जग्गा भाडामा लिएर आफ्नै भवन बनाएका उनीहरूले आफ्नै जग्गा खरीद गरि भवन निर्माण गर्ने योजना रहेकोमा कोरोनाले प्रभाव पारेको उद्योग सञ्चालक समितिकी सचिव उषा बलामीले बताइन्। उद्योग सञ्चालन गर्दा भोगिने विभिन्न कठिनाई, कानुनी प्रक्रिया, बजारको अनुभव, अनुदान पाउन गर्नुपर्ने प्रक्रिया जस्ता विषयवस्तुमा अनुभव भएको बलामीको भनाइ छ।

स्थानीय व्यापारीको मागअनुसार समयमा नै चाउमिन पुर्याउने भएका कारण पनि यहाँका व्यपारीहरूको रोजाइमा आफूहरूको उत्पादन पर्ने गरेको उनको भनाइ छ। उनीहरूले प्रति किलो ८० रुपैयाँका दरले चाउमिन बिक्री गर्ने गरेका छन्। 

दैनिक ४ किलोबाट उत्पादन सुरु गरेका उनीहरूले आजभोलि एक सय ५० किलो उत्पादन गर्दा पनि ग्राहकको माग थेग्न हम्मेहम्मे पर्ने गरेको छ। 

५ असोज, २०७८, १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।