प्रदेश १ सरकारको नेतृत्वमा विपक्षी गठबन्धनमै खटपट

प्रदेश १ सरकारको नेतृत्वमा विपक्षी गठबन्धनमै खटपट

अल्पमतको सरकारले असोज २२ गते प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेको छ। हिउँदे अधिवेशनमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तयारी गरेका छन्।

अहिलेकै राजनीतिक अवस्थामा आचार्यले विश्वासको मत पाउने सम्भावना भने देखिएको छैन। आचार्य मुख्यमन्त्री नरहने भएपछि विपक्षी गठबन्धनका नेताहरूबीच प्रदेश सरकारको नेतृत्वमा विवाद देखिन थालेको छ।

विपक्षी गठबन्धनमा अहिले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय लोकतान्त्रिक मञ्च छन्। पाँच दलीय गठबन्धन भएपनि कांग्रेस  र नेकपा एकीकृत समाजवादी मध्ये कसले सरकारको नेतृत्व गर्ने भन्नेबारे टुङ्गो लाग्न सकेको छैन। 

काँग्रेस संसदीय दलका नेता राजीव कोइराला र नेकपा समाजवादी संसदीय दलका नेता राजेन्द्र राईबीच मुख्यमन्त्रीको दौड चलेको छ। माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा चासो देखाउन थालेका छन्।

विपक्षी गठबन्धनले मुख्यमन्त्री कसलाई बनाउने भन्ने निर्णय गरेको छैन। निर्णय नगरेका कारण मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउन नसक्ने अवस्थामा गठबन्धन पुगेको छ। 

नेकपा समाजवादीले संसदीय दलको मान्यता पाउने बित्तिकै मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने भनेपनि कसलाई मुख्यमन्त्री प्रस्ताव गर्ने भन्नेमै विवाद देखिएको छ। संविधानको धारा १८८ (५) अनुसार अविश्वासको प्रस्ताव पेस गर्दा मुख्यमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गर्नुपर्ने हुन्छ। 

केन्द्रीय नेताको चासो

मुख्यमन्त्री बनाउने विषयमा अहिले तत्काल प्रादेशिक नेताहरू टुङ्गोमा पुगेका छैनन्। तर, केन्द्रीय स्तरका नेताहरू भने मुख्यमन्त्री ‘हामीले पाउँछौ’ भन्ने दाबी गरिरहेका छन्।

केही दिन अगाडी मात्र नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले कांग्रेसले प्रदेशको नेतृत्व गर्ने बताएका थिए। महाधिवेशनको तयारी स्वरूप गृह जिल्ला विराटनगर पुगेका उनले मुख्यमन्त्री कांग्रेसले पाउनुपर्ने र सोही अनुसार प्रदेश १ मा काँग्रेसकै सरकार बन्ने बताए। बाग्मती र प्रदेश १ मध्ये एउटा र नभए दुवै प्रदेशमा कांग्रेसले सरकार बनाउने उनको भनाई थियो। 

उनले भने, ‘माधव नेपालले दुई वटै प्रदेशको मुख्यमन्त्री पाउने दाबी अस्वाभाविक भएकाले कांग्रेसले प्रदेश १ को मुख्यमन्त्री लिएरै छाड्ने छ।’

कोइरालाले सरकारको नेतृत्व पाउने दाबी गरेकै दिन एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भने प्रदेश १ र बाग्मती प्रदेशमा आफूहरूकै नेतृत्वमा सरकार बन्ने बताए। संसदीय दलका नेता राजेन्द्र राईले पनि आफूहरूको नेतृत्वमा सरकार बन्ने बताए। 

९३ जना सांसद रहेको प्रदेशसभामा सत्ता परिवर्तनको लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ। नेकपा एमालेसँग सभामुख सहित ४१ सांसद छन्। राप्रपा बाहेक बाँकी गठबन्धनसँग ५० सांसद छन्।

५ असोज, २०७८, ०९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।