कर्णालीका सडकमा अपाङ्गलाई सास्ती !

कर्णालीका सडकमा अपाङ्गलाई सास्ती !

२१ वर्षीया दिलकुमारी जन्मजात नै दृष्टिविहीन हुन्। उनी सुर्खेत शिक्षा क्याम्पसमा बिएड प्रथम वर्षमा अध्यनरत छिन्।

उनी बस्ने कोठा र उनको क्याम्पसबीचको दूरी करिब दुई किलोमिटरको छ। कोठादेखि घरसम्म आइपुग्न उनलाई निकै सकस पर्छ। कारण– अस्तव्यस्त सडक। 

प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरका सडकमा अव्यवस्थित पार्किङ र सडक छेउका रुखका कारण २० मिनेटको बाटो छिचोल्न पनि ४५ मिनेटभन्दा बढी समय लाग्ने गरेको छ। 

‘यहाँका सडकहरू अपांगमैत्री छैनन्। भएका सडक पनि साँघुरा, जताततै खाल्डाखुल्डी मात्रै छन्’, उनले भनिन्, ‘कति पटक त यी खाल्डामै पछारिएर गुहार समेत मागेकी छु। न जेब्रा क्रसिङको व्यवस्था छ, न त ट्राफिक व्यवस्थापन नै गतिलो छ।’

वीरेन्द्रनगरका सडकमा आँखा देख्न सक्नेलाई पनि हिँड्न सास्ती हुने गरेको छ। यस्तोमा दिलकुमारी जस्ता दृष्टिविहीनलाई सडकमा हिँड्नै नपरे हुन्थ्यो झैँ लाग्छ।

सडक, क्याम्पस, शौचालय र सार्वजनिक सेवा प्रदायक संस्थाहरू अपांगमैत्री नबन्दा दैनिक दुःख भोग्नु परेको दिलकुमारीको गुनासो छ।

‘गाउँदेखि शहरसम्मका विभिन्न संरचनामा सास्ती भोग्नुपर्छ, आधा घण्टाको बाटो दुई घण्टा लगाएर हिँड्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘त्यस्ता संरचनामा हामी सेतो छडीका माध्यमले यात्रा गछौं।’

कार्यलयमा पनि सकस
सडक मात्रै नभएर कर्णालीका स्थानीय र प्रदेश सरकारका कार्यालयहरू समेत अपांगमैत्री नबन्दा दैनिक कामकाजमा समस्या पर्ने गरेको सुर्खेत नेत्रहीन संघका अध्यक्ष तोरण अधिकारीले बताए।

आँखा गुमाए पनि आँखाको जत्तिकै काम छडीले गर्नुपर्ने भएका कारण सोही अनुसारको संरचना बनाउन सरोकारवालालाई उनले अनुरोध गरेका छन्। सडकको नाला र बीचमा रहेका रुखहरूका कारण दृष्टिविहीन नागरिकलाई दैनिक सास्ती हुने गरेको बताउँछिन् सुर्खेत नेत्रहीन संघकी सचिव एवं शिक्षिका सोमना खड्का।

‘सडक पनि अस्तव्यस्त, त्यसैमाथि वरपरका नाला पुरिएका हुँदैनन्। जेब्राक्रसिङको त कुरै छोडौं’, उनले भनिन्, ‘असुरक्षित पार्किङ र सवारी साधनले त कुन दिन ज्यान जाने हो भन्ने चिन्ताले पिरोल्छ।’

यस्तो मान्छे नहिँडेको भए पनि हुन्थ्यो भन्ने खालका टिकाटिप्पणीहरूले गर्दा झनै पीडा हुने गरेको सोमनाको भनाइ छ। भौगोलिक रूपमा कर्णाली प्रदेश विकट भए पनि नेतत्त्वमा बसेकाहरूमा झनै विकट मानसिकता भएको सिम्ता गाउँपालिकाका योगेन्द्र शाहीले आरोप लगाए।

‘सडकमा हिँड्न जति असहज छ, त्यो भन्दा बढी असहज सार्वजनिक कार्यालयहरूमा छ’ उनले भने, ‘प्रदेश विकट होईन, यहाँको नेतत्त्वमा बसेकाहरूको सोच विकट छ।’

सडक पार गर्ने क्रममा अपांगमैत्री जेब्राक्रससमेत नहुँदा निकै अप्ठ्यारो भएको जुम्लाकी पानकली बुढाले बताइन्।

उनीहरू जस्तै विभिन्न कारणले दृष्टिविहीन र अपाङ्ग भएका नागरिकहरूले कर्णालीमा निकै सास्ती व्यहोर्नु परेको छ। सरकारले विकास र समृद्धिका अनेक सपना बाँड्ने गरे पनि अपांगता भएकाहरूको जीवनयापन सहज बनाउनेतर्फ नसोचेको गुनासो उनीहरूको छ।

४ असोज, २०७८, १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।