मेयरलाई मुक्का हान्ने कार्यकर्ता पक्राउ गर्न एमालेको माग 

मेयरलाई मुक्का हान्ने कार्यकर्ता पक्राउ गर्न एमालेको माग 

बुटवल : नेकपा एमाले रुपन्देही बुटवल नगर कमिटीले मेयरमाथि मुक्का हान्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।

नगर अध्यक्ष बाबुराम पन्थीले विज्ञप्ति निकालेर बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि मुक्का हान्नेलाई कारबाही गर्न माग गरेका हुन्। 

मुक्का हान्नेलाई कारबाही नगरे आफ्ना नेता कार्यकर्ताको संरक्षणका लागि प्रतिरक्षामा उत्रन बाध्य हुने नगर कमिटीले चेतावनी दिएको छ।

प्रहरी प्रशासनकै उपस्थितिमा अराजक र उच्छृङ्खल व्यक्तिहरूले सामाजिक मर्यादा विपरीत हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको हो। 

विज्ञप्तिमा आफ्नो पार्टीका हरेक नेता कार्यकर्तामाथि गरिने कुनै पनि प्रकारको दुर्व्यवहार र अनुचित व्यवहार सैह्य नहुने लेखिएको छ। ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई आज बिहान मुक्का हानेका थिए। उनी एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु लुम्बिनी वाणिज्य क्याम्पसका जिल्ला कमिटी सदस्य हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मदन कुँवरले  भने पहिरो प्रभावित केही व्यक्तिहरूले मेयर सुवेदीसँगै पहिरो अवलोकनको लागि पुगेको टोलीमाथि आक्रोश व्यक्त गरेको भए पनि चर्चा गरिएजस्तै कुटपिट नै नभएकोले पक्राउ नगरिएको बताएका छन्।

४ असोज, २०७८, १५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।