डिएसपी मदन कुँवरकै अगाडि मुक्का हानेर लडे पङ्गेनी 

डिएसपी मदन कुँवरकै अगाडि मुक्का हानेर लडे पङ्गेनी 

बुटवल : सोमबार बिहान बुटवल ३ ज्योतिनगरमा पहिरो गएको खबर बुटवल उपमहानगरपालिकामा पुग्न साथ मेयर शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, नगर प्रहरीको टोली निस्कियो।

त्यतिन्जेल इलाका प्रहरी कार्यालय बुटवलमा पनि पहिरोले घर पुरेको सूचना पुगिसकेको थियो। पहिरो गएको क्षेत्रमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवर सहितको टोली खटियो। 

खुट्टामा बुट लगाएर पहिरो निरीक्षण गर्न पुगेका मेयर सुवेदीको दायाँ बायाँ नगर प्रहरी थिए। पछाडि डिएसपी कुँवर सहित अरू प्रहरी, केही पहिरो पीडित पनि साथमा थिए। ज्योतिनगर पुग्ना साथ पहिरो पीडितले यस अघिको पहिरोले नाली बन्द भएको र दुई हप्ता सम्म नाली सफा नभएको भन्दै गुनासो मेयर सुवेदीलाई गरे। 

पहिरो पीडितका कुरा सुन्दै अघि बढ्ने क्रममा दायाँ साइडबाट दौडिएर आएका युवा गणेश पंगेनीले मेयरको मुखमा मुक्का प्रहार गरे। त्यही क्रममा उनी लडे। मेयरलाई बायाँ साइडबाट नगर प्रहरीले अघि बढाए। 

मेयरलाई मुक्का हानेपछिको दृश्यमा डिएसपी मदन कुँवर देखिन्छन्। उनले मुक्का हान्ने पङ्गेनीलाई छोप्छन्। मेयर सम्भावित घटनाको आकलन गर्दै त्यहाँबाट निस्कन्छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी कुँवरले भने पक्राउ पर्ने गरी घटना नघटाएको र आक्रमणको प्रयास मात्र पंगेनीले गरेको बताए। 

४ असोज, २०७८, १४:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।