बुटवल पहिरो : ९ घर पुरिए, दर्जन बढी घरमा क्षति

बुटवल पहिरो : ९ घर पुरिए, दर्जन बढी घरमा क्षति

बुटवल : अविरल वर्षाका कारण बुटवल ३ ज्योनिगरमा पहिरोले ९ वटा घर पुरेको छ। यसअघि गएको भदौ १३ गते पहिरोले सोही ठाउँका  ७ वटा घर पुरिएका थिए। २० वटा घरमा लेदो सहितको पहिरो पसेको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले ७ घर पुरिएको र १ दर्जन भन्दा बढी घरमा लेदो सहितको पहिरो खसेको बताए।

सोमबार बिहानैदेखि परेको अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा फेरि पहिरो झर्न थालेको छ। निरन्तर पानी परि रहेकोले अहिले पनि उक्त क्षेत्रमा ढुङ्गा सहितको लेदो झरी रहेको प्रहरीले बताएको छ।

ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा ध्वजा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न थालेको हो। त्यतिवेला पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि अहिले फेरि पहिरो झरेपछि स्थानीय त्रसित बनेका छन्।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। बस्तीमा झरेको पहिरो बुटवल उपमहानगरपालिकाको सहयोगमा पन्छाएर अन्यत्र लैजाने गरिएको उनले जानकारी दिए।

पहिरोले सडकमा क्षति पुर्याएर आवागमन अवरुद्ध भएको छ भने सडक किनारमा राखिएका बिजुलीका पोल पनि बगाएको छ।

बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिङ्गो बुटवल नै प्रभावित हुने विज्ञहरूले चेतावनी दिएका छन्।

४ असोज, २०७८, १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।