माधव नेपालको पार्टी अवैध भएको ओलीको आरोप 

माधव नेपालको पार्टी अवैध भएको ओलीको आरोप 

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको पार्टी अवैध भएको आरोप लगाएका छन्।

नेपाल निजामती कर्मचारी सङ्गठनको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेबाट विद्रोह गरेका नेपाल नेतृत्वको पार्टी अवैध रहेको बताएका हुन्। ‘अवैध ढङ्गले निर्वाचन आयोगमा दर्ता भएको छ,’ओलीले भने,‘निर्वाचन आयोग र सभामुखले तमासा गरेका छन्।’

उनले सत्ता गठबन्धन फ्रिजबाट झिकेको आइसजस्तै भएको आरोप पनि लगाए। एमालेसँग डराएर पाँच दलीय गठबन्धन तर्सिएको तर्क गरे। चुनाव भनेपछि पाँच दलीय गठबन्धनमा रहेका दलहरूको सातो जाने ओलीले टिप्पणी गरे। 

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा ‘म पनि भ्रष्टाचार गर्दिनँ अरूलाई पनि गर्न दिन्नँ’ भन्ने नीति अघि सारेको बताए। ओलीले भन्सार छुट दिने नदिने भन्ने विषयमा अर्बौँको  खेल भएको बताए। 

उनले कसैले घूस खुवाउन खोजे खान्न भन्ने हिम्मत कर्मचारीले गर्नुपर्ने बताए। ओलीले वर्तमान सरकारले कर्मचारीलाई जथाभाबी सरुवा गरेको आरोप पनि लगाए।

२ असोज, २०७८, २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।