कर्णालीको सिद्ध बहिरा विद्यालयले भवन पायो, शिक्षक पाएन 

कर्णालीको सिद्ध बहिरा विद्यालयले भवन पायो, शिक्षक पाएन 

केही वर्षदेखि  भवन, खानेपानी, शैक्षिक सामाग्री, शिक्षक र स्रोतसाधनको अभावमा चल्दै आएको विद्यालयले यो वर्ष नयाँ भवन पायो। तर, विद्यार्थीलाई पढाउने शिक्षक पाउन सकेको छैन।

शिक्षकको अभाव भएपछि कार्यालय सहयोगीले कक्षा ५ सम्म पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक याङलाल कँडेलले बताए।

विद्यालयमा १५ जिल्लाका १०२ जना बालबालिकाले अध्ययन गरिरहेका छन्। 

‘अहिले कक्षा ९ सम्म सञ्चालन गर्नका लागि भर्ना लिएका छौँ, ९ कक्षासम्म पढाउनका लागि कम्तीमा पनि १७÷१८ जना शिक्षक आवश्यक पर्छ। तर, यहाँ ८ जनाको मात्रै दरबन्दी छ, ५ जना अस्थायी शिक्षक छन्,’उनले भने, ‘विशषेशगरी नेपाली, अंग्रेजी, सामाजिक विषय पढाउने शिक्षक छैनन्। जसका कारण कार्यालय सहयोगीले समेत पढाउनुपर्ने बाध्यता छ।’

विद्यालयले शिक्षक नियुक्त गर्न नसक्ने अवस्था भएकोले विद्यार्थीको पढाई प्रत्यक्षरुपमा प्रभावित भएको प्रधानाध्यापक कँडेलले बताए।

बहिरा बालबालिकालाई कोरोनाका कारण भर्चुअल माध्यमबाट अध्यापन गराउँदा कुनै प्रभावकारी नहुने उनको भनाई छ। विद्यालयमा १५ जिल्लाका १०२ जना बालबालिकाले अध्ययन गरिरहेका छन्। 

केही वर्ष पहिले विद्यालयमा शिक्षक, भवन र अन्य स्रोत साधनको अभावभएपछि ९ कक्षाबाट ८ मा झरेको थियो। 

गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भवन बने पनि शौचालय, खेलमैदान जस्ता कुराहरूको अभाव भने विद्यालयले भोग्दै आएको छ।

सुर्खेतकै बड्डीचौर, मालारानी, गुमी र वीरेन्द्रनगरका चार वटा विद्यालयहरू मर्ज गरेर सिद्ध बहिरा बाल विद्यालय चलाइएको थियो। 

विशेष शिक्षा मार्फत सञ्चालन भएको स्कुलमा बहिरा विद्यार्थीलाई पढाउने शैक्षिक सामाग्रीको अभाव हुँदा गुणस्तरीय शिक्षा दिन नसकेको अंग्रेजी शिक्षक रमेशकुमार कार्कीले बताए। 

‘विशेष शिक्षा अन्तर्गत शिक्षा मन्त्रालयद्धारा केही सहयोग भए पनि पुर्णरुपमा विद्यालयलाई सहयोग हुन नसक्दा समस्या भएको छ,’उनले भने, ‘अन्य स्कुलका शिक्षक सरह हाम्रो तलब पनि हुँदैन।’

२ असोज, २०७८, १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।