अति महत्त्वाकाङ्क्षाले डुबे धुर्मुस–सुन्तली

अति महत्त्वाकाङ्क्षाले डुबे धुर्मुस–सुन्तली

भूकम्प जाँदा अमेरिकामा थिए उनीहरू। अमेरिकाबाट स्वदेश फर्कँदा सहृदयी नेपालीले भूकम्पबाट दैनिक जीवन खल्बलिएको नेपालीको सहयोगका लागि दिएको केही रकम सँगै लिएर फर्किएका उनीहरूमा एकाएक समाजसेवाको रङ चढ्यो।

भूकम्पबाट घरबारहीन बनेका र आफ्नै बलबुतामा पुन छानो ठड्याउन नसक्नेहरूका लागि एकीकृत बस्ती बनाउने योजना आयो दुवैको मनमा। धुर्मुस–सुन्तली एकीकृत बस्ती नाम दिएर गिरानचौरमा एकीकृत बस्ती बनाए। बस्ती निर्माणको चर्चा फैलियो। सहयोगीहरू बढ्न थाले।

सहयोग रकम पनि आएको आयै, चर्चा पनि बढेको बढ्यै। पहरी बस्तीपछि महोत्तरीको बर्दिबासमा एकीकृत बस्ती बनाएका उनीहरूले रौतहटको सनतपुरमा नमुना एकीकृत बस्ती बनाए।

उनीहरूको अधिकांश दाता गैर आवासीय नेपालीहरू थिए। उनीहरूसँगको सहकार्यमा चार वटा बस्ती बनाउन सफल भएका यी दुबैमा एकाएक ठुलै प्रोजेक्ट बनाउने महत्त्वाकाङ्क्षा पलायो। सरकारले समेत नआँटेको अन्तर्राष्ट्रियस्तरको रंगशाला। लागत तीन अर्ब माथि।

छानो विहीनहरूका लागि छानो बनाइदिनु त पुण्यको काम भयो। सबैले उनीहरूको यो कामको प्रशंसा गरेका नै थिए। तर रङ्गशाला किन?

अब चैँ गलत काममा हात हाले भनेर आलोचना भए पनि उनीहरू पछि फर्किएनन्। चार वटा बस्ती बनाउँदा आएको सहयोग देखेर हुनसक्छ उनीहरू हौसिए।

कहिले बस्ती निर्माण भनेर त कहिले रङ्गशाला निर्माण भनेर हिँड्दा उनीहरूको कलाकारिता यात्रा ओझेल पर्दै थियो। बस्ती निर्माणमा आएको सहयोग र खर्च विवरणको पारदर्शीताबारे प्रश्नहरू उठिरहेकै थिए।

अति महत्त्वाकाङ्क्षाले सहयोग उठाएर बनाउन अलि हम्मे पर्ने परियोजनामा हात हालेका उनीहरू सहयोग र सरकारी निकायबाट आएको ५४ करोड खर्च गरेपछि ‘१६ करोड ऋण लाग्यो, अब रङ्गशाला बनाउन सकिन्न’ भन्दै हिँडिरहेका छन्।

कलाकारिताले जन्माएको महत्त्वाकाङ्क्षा

२०६१ तिर सुरु भएको दीपकराज गिरी र दिपाश्री निरौलाको हास्य टेलिश्रृङखला ‘तितो सत्य’ले दर्शक हँसाउन छाड्दै थियो। सधैँ एकै प्रकारको अभिनय र उस्तै व्यङ्ग्यले कार्यक्रम नाम झैँ तितो हुँदै गयो।

त्यही बेला आइपुग्यो अर्को हास्य टेलिश्रृङखला, ‘मेरी बास्सै’।

तितो सत्य भन्दा झन्डै तिन वर्षपछि नेपाल टेलिभिजनबाट प्रसारणमा आएको ‘मेरी बास्सै’मा सुरुवाती चरण खासै जमेन। दमन रुपाखेतीको घिसेपिटे घर ज्वाइँको रोल नचलेपछि सिताराम कट्टेल र केदार घिमिरेले मेलो सम्हाले। यी दुइको सहकार्य दर्शकले मन पराए।

‘मेरी बास्सैले’ ‘तितो सत्य’लाई टक्कर दिन थाल्यो। केही समय दुवैको चर्चा बराबर भयो। बिस्तारै ‘तितो सत्य’ थाक्दै गयो, ‘मेरी बास्सै’ले आफ्नो गति बढाउन थाल्यो।

‘तितो सत्य’ले सहरको कथा भनिरहँदा, ‘मेरी बास्सै’ले गाउँको कथा भन्यो। अन्ततः तितो सत्यलाई पराजित गर्दै नेपाल टेलिभिजनमा सबैभन्दा चर्चित बन्न पुग्यो हास्य टेलिश्रृङखला ‘मेरी बास्सै’।

हास्य शृङ्खलासँगै पात्रहरू पनि जम्न थाले। ‘दारी बा’ ,‘मुला साग’ ,‘चम्सुरी’ ,‘राजु माड्साप’ ,‘बान्द्रे’ ,‘बल्छी धुर्बे ’ ,‘इकु’ ,लगायतका पात्रहरू अहिले पनि ‘मेरी बास्सै’कै कामले बाँचिरहेका छन्। 

‘मेरी बास्सै’ बाट केदार घिमिरेले ‘माग्ने बुढा’को चरित्रलाई स्थापित गरे। यता सिताराम कट्टेल र कुञ्जना घिमिरेका लागि पनि ‘मेरी बास्सै’ वरदान बनेर आयो। टेलिश्रृंखलामा श्रीमान्–श्रीमतीको अभिनय गर्दागर्दै दुवैको मन साटियो र वास्तविक जीवनमा पनि श्रीमान्–श्रीमती भए। 

धुर्मुस र सुन्तली अहिले पनि ‘मेरी बास्सै’कै चरित्रमा चलिरहेका छन्। समाजसेवा गर्न बनाइएको फाउन्डेसनको नाम ‘धुर्मुस–सुन्तली’कै नामबाट राखे। समाजसेवातिर लाग्दा कलाकारिताबाट बनेको छवि भने बिस्तारै विवादतिर लम्किरहेको थियो। उनीहरूले यो भेउ नपाएका हैनन्। तर नेपालीको मन बहकिइहाल्छ नि भनेर भेउ नपाएझैँ गरिरहे।

अन्तमा न ‘धुर्मुस–सुन्तली’ पर्दामा जम्न सके न रङ्गशालाको मैदानमा।

घाँटीको साइज नहेर्दा...

भूकम्प अघि नेपाल सरकारले धुर्मुस र सुन्तलीलाई सरसफाइ दूतमा नियुक्त गरेको थियो। धुर्मुस–सुन्तली सरसफाइ दूतकै नाताले अमेरिका पुगेका थिए।

तराइका मुसहर बस्तीमा सरसफाइ सम्बन्धी जनचेतना फैलाउने उनीहरूको जिम्मेवारी थियो। त्यही प्रोजेक्ट अन्तर्गत उनीहरूले ‘लोटे चर्पी’ र ‘मुन्नी’ नामका छोटो फिल्म बनाए पनि। यी दुबैमा धुर्मुस र सुन्तलीको अभिनय प्रशंसा लायक छ। 

सरसफाइ दूतको नाताले कार्यक्रम गर्न अमेरिका जाँदा नेपालमा भूकम्प गयो। त्यही समयमा एक व्यक्तिले लेखेको फेसबुक स्ट्याटस देखिन् ‘हामीलाई सरोकारवालाले हेरेन’। 

उक्त स्ट्याटस देखेपछि सुन्तलीको मनमा लाग्यो रे, ‘कुरो सामाजिक सञ्जालमा पुगिसक्यो, आखिर कहाँ गए त कलाकार!’ 

कलाकार पनि यो देशको सचेत नागरिक हुन् भन्ने सोच आएसँगै उनीहरू नेपाल फर्किएर समाजसेवामा लागेको कुञ्जनाले बताउने गरेकी छिन्।

एकीकृत बस्तीको साख जोखिममा

एकीकृत बस्ती बनाउन सक्रिय भएसम्म यी दुवैको कामको राम्रो प्रशंसा भएको थियो। आर्थिक पारदर्शितामा कमजोरी नदेखिएको हैन। तर काम प्रशंसनीय नै थियो।

काम अनुसार उनीहरूको प्रशंसा पनि चुलियो नै। ‘धुर्मुस सुन्तली जस्ता महान् सामाजिक हस्तिहरू नेपालमा अरू पनि जन्मेको भए साँच्चिकै नेपाल स्वीजरल्याण्ड र सिंगापुर भन्दा अगाडी भइसक्ने थियो’ जस्ता प्रतिक्रिया आउन थाले।

प्रशंसाले हौसिएर हो या अति आत्मविश्वासको कमाल। उनीहरूले एकाएक अति महत्त्वाकाङ्क्षी योजना घोषणा गरे जुन निर्माण सम्पन्न गर्न एकीकृत बस्तीको मोडलको आर्थिक सहयोगले मात्र सम्भव थिएन। 

छाना नभएकाहरूलाई छाना बनाउने अभियानले जसरी दाताको मन तानिनसक्छ त्यसरी क्रिकेट रङ्गशालाको योजनाले मन तान्न जोखिम थियो। भयो पनि त्यही। तीन अर्बको योजनाको सुरुवात देखि नै रङ्गशाला बनाउने जग्गादेखि धेरै विवादहरू आए। आर्थिकपक्षबारे प्रश्न उठे। तर उनीहरू रोकिएनन्। 

लकडाउनकै बिचमा रङ्गशाला निर्माणका लागि भन्दै यो जोडीले ‘सेन्टी भाइरस’ नामक फिल्म पनि बनायो। फिल्म बेकार थियो। रङ्गशाला निर्माणका लागि डोनेसन भयो भन्दै चित्त बुझाए दर्शकले।

अन्तमा ५५ करोड खर्च भएर १६ करोड ऋण लागेपछि उनीहरू अहिले ‘ऋण लाग्यो’ भन्दै हारगुहार गर्दै छन्।

किन असफल भयो यो जोडी ?

यो जोडिले यस अगाडि सम्पन्न गरेको काम हेर्ने हो भने पाँच करोड हाराहारीका काम छन्। उनीहरूको कुनै योजना पनि घाटामा गएको देखिन्न। बरु रकम जोगिएकै देखिन्छ।

एकीकृत नमुना सन्तपुर बस्ती बनाउँदा पाँच करोड ९५ लाख सहयोग उठाएर पाँच करोड ५४ लाख खर्च गरे। एकीकृत नमुना मुसहर बस्ती बनाउँदा ७ करोड ६३ लाख सहयोग उठ्दा पाँच करोड ४ लाखमा काम सकियो।

गिरानचौर एकीकृत नमुना बस्तीका लागि ६ करोड १८ लाख सङ्कलन भएकोमा पाँच करोड १३ लाख खर्च भयो। एकीकृत नमुना पहरी बस्तीका लागि ६७ लाख २० हजार सहयोग उठेर त्यति नै खर्च भएको फाउन्डेसनमा उपलब्ध विवरणमा उल्लेख छ।

रङ्गशालाको लागत भने तीन अर्ब हाराहारीको थियो। स्रोत सङ्कलनको मोडल नमुना बस्ती बनाउँदाकै देखियो। त्यही मोडलमा तीन अर्ब रकम सङ्कलन सम्भव थिएन। भएन। अनि करिब उस्तै खालका ११ वटा नमुना बस्ती बनाउन सकिने बजेट सक्दा पनि ३५ प्रतिशत मात्र काम सक्काएर ‘अब सकिएन’ भन्न बाध्य भए दुवै कलाकार।

अब कता ?

रङ्गशाला बनाउने रकम अभाव भएपछि प्राय मिडियामा आइरहन्छन् यी जोडी। कहिले विद्यालयमा विद्यार्थीहरूबाट रकम सङ्कलन गर्ने योजना बनाउँदै आउँछन् त कहिले तीन अर्बको रङ्गशाला बनाउन सहयोग रकम जुटाउने भन्दै पानी पुरी बेच्न थाल्छन्।

अहिले उनीहरू १६ करोड ऋण लाग्यो, अब फाउन्डेसनले रङ्गशाला बनाउन सक्दैन भन्दै मिडियामा आएका छन्। यो परियोजनाप्रति ध्यान तान्ने रणनीति हो या उनीहरूले परियोजना फाउन्डेसनबाट सरकारी निकायलाई हस्तान्तरण गर्ने तयारी त्यो भने खुलेको छैन।

कलाकारितामा फर्किएलान् ?

अहिले चलेका नयाँ पुस्ताका हास्य कलाकार तथा सितारामका भाइ कुमार कट्टेल (जिग्री) आफ्नो दाइ र भाउजू लामो समय कलाकारिताबाट टाढा भएकाले कलाकारितामा फर्कने हो भने अब आफूलाई अपडेट गर्न जरुरी रहेको बताउँछन्। 

उनले आफू दाजु–भाउजूको अभिनयको जज गर्ने क्षमताको नभए पनि अब पुरानै लयले भने काम नचल्ने बताउँछन्।

‘उहाँहरू जुन समय निकै पिकमा हुनुहुन्थ्यो, त्यही समयमा समाजसेवामा लाग्नुभयो। समाजसेवामा जति सफल हुनुभयो, यदि त्यही मेहनत कलाकारितालाई दिएको भए, यताको उचाइ निकै माथि पुग्थ्यो होला,’ उनले भने।

जुन बेलामा फलाम तातेको थियो, त्यो समयमा ठोक्न नसकेको उनको बुझाई छ। कुमारले भने, उहाँहरूसँग प्रतिभा छँदै छ बिस्तारै आफूलाई परिष्कृत गर्दै लैजानुहोला।’

तर अब यी जोडी आफ्नो गल्ती स्विकार्दै कलाकारितामा फर्कन्छन् या रङ्गशाला पुरा गर्ने घिडघिडो बोकेर हिँड्छन् उनीहरूले खुलाएका छैनन्।

सार्वजनिक भएका उनीहरूको अभिव्यक्ति हेर्दा यी दुवै लागेको १६ करोड ऋण सल्टाएर रङ्गशाला निर्माणको काम सरकारी निकायलाई हस्तान्तरण गर्ने मुडमा देखिन्छन्।

कलाकार हुन्। मुड कतिखेर बदलिन्छ के थाहा ।

३१ भदौ, २०७८, २०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।