बहुपति प्रथाकाे कथा लिएर आयाे चलचित्र 'टुल्की'

बहुपति प्रथाकाे कथा लिएर आयाे चलचित्र 'टुल्की'

काठमाडाैंः चलचित्र 'टुल्की'काे टिजर सार्वजनिक गरिएकाे छ। बुधबार काठमाडाैंमा एक कार्यक्रमका बीच चलचित्रकाे टिजर सार्वजनिक गरिएकाे हाे। 
 

निर्माण पक्षका अनुसार चलचित्र बहुपति प्रथामा आधारित छ। उच्च हिमाली भेगमा प्रचलित बहुपति प्रथामा घरका एक भाइले विवाह गरे अन्य दाजुभाइले विवाह गर्नुपर्दैन। एक भाइले विवाह गरेकाे महिलाबाटै सबै दाजुभाइले सन्तान जन्माउने, घर गृहस्थी चलाउने जस्ता कार्य गरिन्छ।

चलचित्र निर्माता शेखर लामाका अनुसार ‘टुल्की’मा एउटी युवती कसरी संस्कारका नाममा घरका सबै दाजुभाइको यौनप्यास मेटाउने माध्यम बन्छिन् भन्ने पक्षलाई देखाइएकाे छ। चलचित्र डाेल्पामा छायाङ्कन गरिएकाे हाे। 

करिब एक कराेडकाे लागतमा ‘द पाल्म ग्रुप’ले निर्माण गरेको चलचित्रमा देवजंग थापाकाे निर्देशन रहेकाे छ भने छायाङ्कन पनि उनैकाे रहेकाे छ। चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र लामा, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बू, दीर्घ लामा, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, भक्तसिंह कठायतलगायतका कलाकारले अभिनय गरेका छन्।

चलचित्रका कालाकारमध्येका एक नरेन्द्र लामा भन्छन्, 'यस्ता चलचित्रले नेपाली चलचित्रमा अभाव देखिएकाे कथाकाे पाटाेलाई त पूरा गर्छ नै सँगसँगै नेपालका विविध संस्कृतलाई विश्वसामु देखाउन पनि मद्दत गर्छ।' 

३१ भदौ, २०७८, १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।