पुरुष तथा महिला भलिबल च्याम्पियनसिप असोज १० गतेदेखि सुरु हुने 

पुरुष तथा महिला भलिबल च्याम्पियनसिप असोज १० गतेदेखि सुरु हुने 

काठमाडौँ : नेपाल भलिबल सङ्घले छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने जनाएको छ।

सङ्घले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने सङ्घका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए।

राखेपको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा पहिलो हुने टिमले चार लाख, दोस्रो हुने टिमले २ लाख र तेस्रो हुने टिमले १ लाख पुरस्कार पाउनेछन्।

यस्तै प्रतियोगिताको उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही २५/२५ हजार पुरस्कार प्राप्त गर्ने सङ्घले जनाएको छ।

दुवै विधाका उत्कृष्ट सर्भर, लिबेरो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही १०/१० हजारका दरले पुरस्कार पाउने चन्दले बताए।

प्रतियोगिताको पुरुषमा टिप टप हेल्प नेपाल, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गलकोट स्पोर्ट्स, मणिमुकुन्द क्लब, बागमती प्रदेश, मिलन क्लब, नयाँबजार सामाजिक क्लब र कर्णाली प्रदेशको सहभागिता रहने सङ्घले जनाएको छ।

यस्तै महिलातर्फ न्यु डाईमण्ड, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, एभरेस्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लबको सहभागिता रहने छ।

३० भदौ, २०७८, २१:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।