असोज १ बाट पोखराका विद्यालय खुल्ने

असोज १ बाट पोखराका विद्यालय खुल्ने

पोखराः कोभिडका कारण बन्द रहेका पोखरा महानगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरू असोज १ गतेदेखि खुल्ने भएका छन्। पोखरा महानगरको नगर शिक्षा समितिले मंगलबार सूचना जारी गर्दै विद्यालय खोल्ने र भौतिक रूपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। 

विद्यालय सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्राङ्गण पूर्णरूपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न पाइनेछ।

पोखरा महानगर शिक्षा समितिको भदौ २८ गतेको बैठकको निर्णयअनुसार सम्पूर्ण विद्यालय, पूर्वप्राथामिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण केन्द्रलाई स्वास्थ्यसम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचा २०७७ मा उल्लेखित मापदण्ड तथा सूचनामा तोकिएका मोडालिटीअनुरुप कक्षा सञ्चालन गर्न भनिएको छ।

‘विद्यालय सञ्चालन गर्दा कार्य योजना बनाएर विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गराई शिक्षा महाशाखामा समेत त्यसको प्रति पेस गर्नपर्नेछ,’ जारी सूचनामा भनिएको छ, ‘विद्यार्थी धेरै भएका विद्यालयले भौतिक दूरी कायम गर्न जटिलता भएमा फरक दिन फरक कक्षा सञ्चालन गर्न सक्ने र भौतिक दूरी कायम गरेर सबै कक्षा एकैचोटि सञ्चालन गर्न असम्भव भएमा फरक फरक दिनमा कक्षा कोठामै पठनपाठन गराउन सकिने छ।’ 

विद्यालयमा मास्क, साबुन, पानी, सेनिटाइजर अनिवार्य गरिएको छ। विद्यालय खुले पनि नियमित प्रार्थना, खेलकुदलगायत भीडभाड हुने कार्यक्रम नगर्न महानगरको सूचनामा उल्लेख गरिएको छ। 

३० भदौ, २०७८, १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।