घरमै पायल्स कसरी निकाे पार्ने ? यस्ताे छ 'टिप्स्'

घरमै पायल्स कसरी निकाे पार्ने ? यस्ताे छ 'टिप्स्'

आधुनिकतासँगै मानिसको सामाजिक जीवन, रहन सहन, खानपान, बसोबास जस्ता कुरामा परिवर्तन आइरहेको छ। यस्ता परिवर्तनले मानिसमा विभिन्न किसिमका स्वास्थ्य समस्या र रोगहरू निम्त्याइ रहेको हुन्छ। पायल्स, ती मध्येकै एक रोग हो। 
 

पायल्स के हो?
गलत खानपान र आधुनिक जीवनशैलीले धेरै मानिसहरू यो रोगबाट पीडित रहेका छन्। मलायस र मलद्वारको भित्तामा हुने रक्तनलीहरू सुन्निएर उत्पन्न हुने समस्यालाई पायल्स भनिन्छ। 

यो रोगलाई सुरु सुरुमा धेरैले लाज मानेर लुकाउन खोज्छन्। उपचार नगर्नेहरू धेरै हुन्छन्। तर समयमै उपचार नगरे, पछि रोग बढेर विभिन्न जटिल समस्याहरू उत्पन्न हुने गर्दछ। पायल्सको सुरुआती चरणमा यदी खानपानमा परिवर्तन गर्ने हो भने निको पार्न सकिन्छ। तर धेरै नै असर गरिसकेको र रोग पुरानो भैसकेको अवस्थामा भने अपरेसन नै गर्नु पर्छ। 

पायल्सका प्रकारः
पायल्स विभिन्न प्रकारको हुन्छ। समान्यतया  मलद्वारबाहिरको पायल्स र भित्रपट्टि हुने पायल्स धेरैले सुनेका हुन्छन्। तर यसका प्रकार बारे गहन अध्ययन गर्ने हो भने अरू विभिन्न किसिमहरू पनि रहेका छन्। जस्तैः 

१. रक्तशिराहरू सुन्निएर डल्लो हुने र मलाशयमा रहने तर बाहिर नआउने
२. ती शिराहरू सुन्निएर बाहिर आउने र पछि भित्र जाने 
३. दिसा गर्दा ती शिराहरू बाहिर रहने र पछि स्वयंले घचाडेर भित्र राख्नुपर्ने 
४.सुन्निएका नसाका डल्लाहरू बाहिर नै रहने इत्यादी। 

बालबालिका पनि पीडित
हाल धेरै बालबालिकाहरू पायल्सबाट पीडित हुने गरेका छन्। जसले गर्दा उनीहरू अनावश्यक रूपमा रिसाउने, झगडा गर्ने, खाना नखाने, रुने, पढाइमा कमजोर हुँदै जाने, अरूसँग सजिलै घुलमिल हुन नसक्ने साथै उनीहरूमा मानसिक समस्याहरू पनि देखा पदर्छन्। 

यो समस्याबाट मुक्त हुन हामीले विशेषतः खानपानमा ख्याल राख्नु पर्दछ। बजारमा किनेको खानेकुरालाई  भन्दा घरमै बनेको खानेकुरामा जोड दिनु पर्दछ। 

कारण कब्जियतः
पायल्य जटिल किसिमको रोग हो। यसको मुख्य कारण कब्जियतलाई मानिन्छ। 

दिशा गर्दा मलद्वारमा बल पर्दछ, त्यहि बलले गुद्वार भित्रका रक्तशिराहरूलाई तन्काइ दिन्छ। यो क्रम फैलन थाल्दछ र गिर्खा बन्न थाल्दछ र यसैलाई कब्जियत भनिन्छ। कब्जियत हुनका कारण पनि हामीले आफ्नो खानपानमा ध्यान नदिनाले हो। 

बढी तेलजन्य खाना, मासु, फास्ट फुड बढी खाने र रक्सी चुरोट खाने र पानी कम पिउने मानिसलाई कब्जियतको समस्या बढी देखिएको छ। 

पायल्स रोगीले के खाने?
पायल्सका रोगीहरूले फाइबरयक्त खाना बढी खानु पर्दछ। केरा स्याउ, आटा, काउली, बन्दा, नरिवल, स्ट्रबेरी, गेडागुडी, क्वाँटी, लौका, ऐँसेलु, मेवा, घ्युकुमारीको जुस, छोगडा, त्रिफला चुर्ण, अमला, हर्रो, बर्रो, उसिनेको आलु, बदाम, ब्रोकाउली, काँक्रो, मुलाजस्ता खानेकुरा प्रशस्त मात्रामा खानुपर्दछ। 

पायल्स रोग लागेमा मैदाबाट बनेका खानेकुराहरू खान हुँदैन। व्यायाम गर्ने, कब्जियत हुन नदिने, पानी प्रशस्त मात्रामा पिउने, खानपानमा विशेष ध्यान दिने गर्नु पर्दछ।

घरमै कसरी निको पार्ने पायल्स?
पायल्स रोग सुरुआती चरणमा छ भने घरेलु विधिबाट उपचार गरेर पनि निको पार्न सकिन्छ। घरेलु विधि अपनाउन सर्वप्रथम एक चम्चा मह, एक चम्चा बेसार र एक बिर्को गुलाबजल लिने र राम्रोसँग फिट्ने। 

लेदो बनेको औषधिलाई एउटा सिसीमा हाली बिर्काे बन्द गरी राख्ने र मलद्वारको घाउमा लगाउने। यसरी १०÷१५ दिन लगातार लगाउँदा घाउ निको भएको कुरा यस रोगबाट पीडित भएकाहरू बताउँछन्। 

तर घाउ धेरै भएको छ भने डाक्टरको सल्लाह बमोजिम गर्नु पदर्छ। खानपानमा पनि सुधार गर्दै जानु पर्दछ। रोग लुकाएर बस्दा झन् जटिल परिस्थितीको सामना गर्नु पर्ने हुन्छ। त्यसैले बेलैमा उपचार थाल्नु पर्दछ। 
 
 

३० भदौ, २०७८, १८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।