कुख्यात मानव तस्कर जिसीलाई एसपी गणेश चन्दले अदालत नबुझाई हाजिर जमानीमा छाडे ,८ जनालाई समुन्द्रमा पूर्याए र ती डुबे

कुख्यात मानव तस्कर जिसीलाई एसपी गणेश चन्दले अदालत नबुझाई हाजिर जमानीमा छाडे ,८ जनालाई समुन्द्रमा पूर्याए र  ती डुबे

काठमाडौँ : अमेरिका पठाउने भन्दै मानव तस्करीमा सक्रिय टोपबहादुर जिसीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको प्रहरीले अदालतै नबुझाई हाजिर जमानीमा रिहा गरेको खुलेको छ।

अमेरिका लैजान्छु भनेर मानव तस्करी गरेको मुद्दामा काठमाडौँ जिल्ला अदालतले जिसीलाई दोषी ठहर गर्दै २ वर्ष कैद र १२ लाख जरिवाना तोकेपछि जिल्ला प्रहरी कार्यालय दाङले उनलाई पक्राउ गरेको थियो। अदालतले कैद सजाय तोकिसकेको व्यक्तिलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाउनुपर्ने कानुनी प्रावधान भए पनि तत्कालीन दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले उनलाई हाजिर जमानीमा मुक्त गरेको पुष्टि भएको छ।

जिसी प्रहरी नियन्त्रणबाट मुक्त भएको तीन महिनापछि मात्र फैसलाको पुनरावेदनका लागि उच्च अदालत गएका थिए। उच्च अदालतमा पुनरावेदन दिएपछि उनी स्वतन्त्र नै भएर पुन मानव बेचबिखनमा सक्रिय भए। उनले दाङका ८ जना युवालाई स्थल मार्गबाट अमेरिका पठाइदिने भन्ने प्रतिव्यक्ति ३० लाख हाराहारी पैसा उठाए।

ती युवाहरू कोलम्बिया-कपुरगानाहुँदै समुन्द्र मार्गबाट अमेरिका छिर्न चढेको डुङ्गा समुन्द्रमा डुब्दा सात जना नेपाली बेपत्ता भए। एक जनाको भने उद्धार भएको थियो।

यो घटना हो २०७८ असार पाँच गतेको।

अमेरिका पठाइदिने जिसीको लोभमा परेका नरेश बस्नेत उल्टो १७ महिना हिरासतमा परेर नेपाल फर्किएर आएपछि जिसीलगायतका तीन जना विरुद्ध मानव बेचबिखनको जाहेरी दिएका थिए। उनको जाहेरीका आधारमा प्रहरीको मानव वेखविखन अनुसन्धान ब्युरोले जिसीलाई २०७६ वैशाख ६ गते पक्राउ गरेर अनुसन्धान अगाडि बढायो।

मुद्दा अदालतमा पुगेपछि असार ४ गते उनी १५ लाख धरौटी बुझाएर रिहा भएपछि पुन दाङ नै फर्किए। दाङ पुगेर उनी पुरानै धन्दामा सक्रिय नै थिए। यता २०७७ पुस १७ गते बस्नेतको जाहेरीका आधारमा अदालत पुगेको मुद्दाको फैसला आयो।

अदालतले उनलाई दोषी ठहर गर्दै १२ लाख जरिवाना र २ वर्ष कैद सजाय तोक्यो।

अदालतबाट दोषी ठहर भएको सूचना पाएपछि जिसी दाङमा बस्न छाडे। पक्राउ पर्ने भयले उनी लुकेर बस्दै आएका थिए। माघमा उनको सासूको मृत्यु भएपछि श्रीमतीलाई लिएर ससुराली जानेक्रममा उनलाई जिल्ला प्रहरी कार्यालय दाङले अदालतको आदेशको आधारमा पक्राउ गर्यो।

तर दाङका तत्कालीन प्रहरी प्रमुख एसपी चन्दले जिसीलाई माघ २ गते नै हाजिर जमानीमा रिहा गरिदिए। अदालत बुझाउनुपर्ने व्यक्तिलाई के आधारमा हाजिर जमानीमा रिहा गरेको ? यसबारे बुझ्न एसपी चन्दसँग तीन दिनदेखि सम्पर्क गर्ने प्रयास सफल भएन।

उनको मोबाइल कहिले अफ आयो कहिले सम्पर्क हुन सकेन भन्ने सन्देश। बुधवार ५ बजे सम्पर्कको प्रयास गर्दा पनि सन्देश आयो' तपाईँले डायल गरेको नम्बरमा सम्पर्क हुन सकेन।'

पत्रकारको प्रेसर, जनप्रतिनिधिको रोहवर

दाङमा हुँदा जिसी पत्रकारितामा समेत संलग्न थिए। उनी दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकमा प्राविधिकको रूपमा काम गर्थे। त्यसैको आधारमा उनी नेपाल पत्रकार महासङ्घको सदस्य समेत भएका थिए।

उनी पक्राउ पर्दा महासङ्घ दाङका अध्यक्ष थिए सविन प्रियासन। उनी गणतन्त्र पत्रिकाका प्रबन्ध निर्देशक हुन्। महास‌घको सदस्य पक्राउ परेको सूचना बाहिरिएपछि जिल्लामा रहेका पत्रकारहरूले प्रहरी प्रमुखलाई भेटेर उनलाई रिहा गर्न दबाब दिए। 

पत्रकारहरूले दबाब दिएपछि प्रहरीले जनप्रतिनिधिको रोहवरमा मात्र रिहा गर्न सक्ने बताएपछि घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे प्रहरी कार्यालयमा आएर आफ्नो जमानीमा जिसीलाई प्रहरीको हिरासतबाट मुक्त गराए। जिसी स्वतन्त्र भए।

दुई वर्ष कैद सजायमा माघमा पक्राउ परेका कुख्यात मानव तस्कर टोपबहादुर भदौँमा कसरी पुगे युक्रेन ?

'पत्रकार पक्राउ परेको र रिहा गर्न जनप्रतिनिधि चाहिने भयो भनेर केही पत्रकारले फोन गरेपछि म प्रहरी कार्यालय गएर जिसीको जमानी बसेको हुँ,' पाण्डेले उकेरासँग भने।

प्रियासन जिसी ६ वर्ष अगाडिसम्म आफूसँग काम गर्ने गरेको बताए। उनलर प्रेसमा पत्रिका छाप्ने काम गर्ने गरेको तर मानव बेचबिखनमा परेपछि पत्रिकाको काम छाडेको उनले बताए।

'मेरो पत्रिका छाप्ने काम गर्थे। सिधै लाग्थे,' प्रियासनले उकेरासँग भने' अमेरिका पठाउने भनेर ठगी गरेको केसमा पक्राउ परेर धरौटीमा छुटेपछि जिल्लामा आएका थिए। चिनजानकाले त्यस्तो काम नगर्न सम्झाएका थिए। तर उनले छाडेका रहेनछन्।'

जिसी पक्राउ परेको बेलामा आफूलाई जानकारी आएको तर आफू काठमाडौँमा भएकाले प्रहरी कार्यालय नगएको उनले बताए। ' महासङ्घको सदस्य पक्राउ पर्दा के केसमा पक्राउ परेको हो भन्ने सोधखोज गरिन्छ नै। उनी पक्राउ परेपछि महासङ्घका केही साथीहरू प्रहरी कार्यालय जानु भएको थियो। पछि प्रहरीले छाडेको भनेपछि सोधखोज गरेनौँ।'

प्रहरीको नियन्त्रणबाट मुक्त भएपछि उनी काठमाडौँ आएर वैशाख १३ गते काठमाडौँ जिल्ला अदालतको फैसला बदर गरी सफाइ पाउँ भन्दै  पुनरावेदन दिए। अदालतबाट तारिखमा छुटेको व्यक्ति २१ दिनभित्र अदालतमा हाजिर हुनुपर्ने नियम अनुसार उनी जेठ १० गते अदालतमा हाजिर भएको देखिन्छ। त्यसपछि उनी अदालतमा हाजिर भएका छैनन्।

अमेरिका हिँडेका आठ नेपाली समुन्द्रमा डुबेको घटना सार्वजनिक भएपछि मानव बेचबिखन ब्युरोले अनुसन्धान सुरु गर्यो। जीवित उद्धार भएका नेपालीसँग सम्पर्कको प्रयास गरे पनि उनी सम्पर्कमा आएनन्। समुन्द्रमा हराएका सातमध्ये दाङकै एक एञ्जल बुढा मगरको परिवारले उनी विरुद्ध जाहेरी लिएर अनुसन्धान अगाडि बढाएको छ। बाँकी छ जना युवाको परिवारले भने जाहेरी समेत दिएका छैनन्।

जाहेरीका आधारमा प्रहरीले जिसीलाई खोज्दा उनी अहिले युक्रेनमा बसेर मानव तस्करीमा सक्रिय रहेको देखिएको ब्युरोका एक अधिकारीले जानकारी दिए।

एञ्जल लगायतका बेपत्ता सात नेपालीलाई स्थल मार्गबाट कोलम्बिया पूर्याउनेमा जिसीको नाम मात्र पोलिएको छ। तर यस अगाडि उनी विरुद्ध परेको मानव तस्करीको मुद्दामा भने दाङकी सांसद विमला कुमारी वली समेत जोडिएकी छिन्। 

मानव तस्करीको जालो, सांसद वली र जिसीको सम्बन्धबारे अर्को शृङ्खलामा।

३० भदौ, २०७८, १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।