यो वर्षको दसैँमा राष्ट्र बैङ्कसँग २ खर्ब नयाँ नोट, प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको कोटा

यो वर्षको दसैँमा राष्ट्र बैङ्कसँग २ खर्ब नयाँ नोट, प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको कोटा

काठमाडौँ : दसैँका लागि सर्वसाधारणले असोज ४ बजेदेखि नयाँ नोट सटही गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैङ्कले आज सूचना निकालेर दसैँको अवसरमा असोज ४ गतेदेखि नयाँ नोट सटही गर्न पाइने जनाएको हो। 

काठमाडौँ उपत्यकाभित्रको हकमा नेपाल राष्ट्र बैङ्क बालुवाटार र वाणिज्य बैङ्कहरूका तोकिएका शाखा कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही हुने राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए। 

काठमाडौँ उपत्यकाबाहिरको हकमा राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैङ्कले तोकेको शाखा कार्यालयमा नयाँ नोट सटही गर्न पाइनेछ। 

एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही गर्न पाउने प्रवक्ता ढकालले बताए। ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र सय रुपैयाँ दरका गरेर एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ सटही गर्न पाउने उनले बताए। 

यो वर्षको दसैँमा १२ देखि १४ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही हुने अनुमान राष्ट्र बैङ्कले गरेको छ। राष्ट्र बैङ्कसँग २ खर्ब बराबरको नयाँ नोट रहेकाले नयाँ नोटको अभाव नहुने प्रवक्ता ढकालले बताए।

३० भदौ, २०७८, १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।