सबैखाले क्रिकेटबाट सन्यास लिएका मलिङ्गाले बनाएका छन् यस्ता कीर्तिमान

सबैखाले क्रिकेटबाट सन्यास लिएका मलिङ्गाले बनाएका छन् यस्ता कीर्तिमान

काठमाडाैंः टी ट्वेन्टी विश्वकप, २०१४ काे विजेता टाेली हाे श्रीलङ्का। श्रीलङ्काकाे 'गाेल्डेन जेनेरेसन' सम्मिलित उक्त टाेलीले विश्वकपमात्र जितेन, लगातार दुई विश्वकपमा व्यहाेरेकाे हारकाे क्षतिपूर्ति पनि गर्याे। 

कुमार साङ्गाकारा, तिलकरत्ने दिलसन, महेला जयवर्दनेजस्ता दिग्गज खेलाडीले भरिएकाे उक्त टीमलाई नेतृत्त्व गरेका थिए लासिथ मलिङ्गाले। तीनै मलिङ्गाले मङ्गलबार सबैखाले क्रिकेटबाट सन्यास लिए। उनकाे सन्यास अप्रत्यासित थिएन। तर जति उचाइ उनले खेलबाट प्राप्त गरेका थिए, साेअनुरूप 'हाेहल्ला' गर्दै विदा भएनन् उनी। 

यसअघि नै मलिङ्गाले एकदिवसीय र टी ट्वेन्टी क्रिकेटमा केन्द्रीत हुन भन्दै सन् २०११ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए। त्यसयता उनले कीर्तिमानकाे ओइराे कायम गरेका छन्। भारतीय लिग आईपीएलमा समेत सनसनी मच्चाएका मलिङ्गा आईपीएलका सर्वाधिक सफल खेलाडीमा गनिन्छन्। 

१७ वर्षकाे सक्रिय क्रिकेट जीवनबाट सन्यास लिएका मलिङ्गाले आफू अब नयाँ पुस्ताका खेलाडीसँग अनुभव साट्न आतुर रहेकाे बताएका छन्।

यस्ता छन् मलिङ्गाका कीर्तिमानः

- मलिङ्गाले सन् २००७ काे एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ४ बलमा ४ विकेट लिँदै कीर्तिमान बनाएका थिए। उनी यस्ताे  सफलता पाउने पहिलाे बलर थिए। पछि सन् २०१९ काे विश्वकपमा न्युजिल्याण्डविरुद्ध पनि उनले ४ बलमा ४ विकेट लिए। यस्ताे सफलता पाउने मलिङ्गा एक मात्र खेलाडी हुन्।

- मलिङ्गाले सन् २०११ काे एकदिवसीय विश्वकपमा केन्याविरुद्ध पुनः ह्याट्रिक गर्दै लगातार दुई विश्वकपमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएका थिए।  त्यस्तै सन् २०११ मै अष्ट्रेलियाविरुद्ध ह्याट्रिक गर्दै उनले एकदिवसीय क्रिकेटमा तीन ह्याट्रिक गर्ने पहिलाे र एक मात्र खेलाडीकाे कीर्तिमान बनाएका थिए। 

- मलिङ्गाले ५ ह्याट्रिक गर्दै विश्वकीर्तिमान बनाएका छन्।

- मलिङ्गा एक सय ७ विकेटसहित अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा सर्वाधिक विकेट लिने बलर हुन्। 

- आईपीएलमा एक सय ७० विकेट लिँदै उनी साे लिगमा सर्वाधिक विकेट लिने बलरकाे रूपमा स्थापित छन्। 

३० भदौ, २०७८, १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।