स्वास्थ्यको नियुक्तिमा आरजुको दबदबा : ट्रमा सेन्टरको जिम्मा जुनियर जोशीलाई 

स्वास्थ्यको नियुक्तिमा आरजुको दबदबा : ट्रमा सेन्टरको जिम्मा जुनियर जोशीलाई 

काठमाडौँ : सरकारले राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ चिकित्सकहरूलाई पन्छाउँदै दसौँ तहका कनिष्ठ चिकित्सक डा. प्रमोद जोशीलाई निमित्त निर्देशकमा नियुक्त गरेको छ। स्वास्थ्य मन्त्रालयले मङ्गलवार जोशीलाई निमित्त निर्देशकमा नियुक्त गरेको हो।

मन्त्रालयले नियुक्तिको निर्णय गर्नासाथ जोशी ट्रमा सेन्टरमा गएर हाजिर समेत भइसकेका छन्। डा. जोशीले मङ्गलवार आफू ट्रमा सेन्टरको निमित्त निर्देशकमा नियुक्त भएको जानकारी दिए। उनले उकेरासँग कुरा गर्दै भने,‘आजै नियुक्त भएको हो। पत्र पाएर दर्ता गरेर यहाँ (ट्रमा सेन्टरमा) हाजिर भइसकेको छु।’ 

ट्रमा सेन्टरका यस अघिका निमित्त निर्देशक डा. सन्तोष पौडेलको कान्ति बाल अस्पतालमा सरुवा भएको छ। कान्तिमा सरुवा गरे पनि आफ्नो काज भने ट्रमा सेन्टरमा नै रहेको डा. पौडेलले बताए। 

ट्रमा सेन्टरमा ११ औँ तहका चिकित्सक नभएका हैनन्। तर, प्रधानमन्त्री पत्नी आरजु राणा जोशीको पक्षमा थिइन। गत साता नै ट्रमामा जुनियर जोशीलाई नियुक्त गराउन आरजुले दबाब बढाएकोबारे समाचार प्रकाशित गरेको थियो। 

जोशी ट्रमाको निमित्त निर्देशक बनेर आउने पक्कापक्की भएपछि १५ दिनअघि भदौ दोस्रो साता ट्रमाका ११ औँ तहका चिकित्सक तथा विभागीय प्रमुखहरूले जोशी नियुक्ति भएको खण्डमा उनलाई बहिस्कार गर्ने चेतावनी दिएका थिए।

उनीहरूले कनिष्ठलाई अस्पताल प्रमुख बनाए काम गर्न नसक्ने भन्दै प्रधानमन्त्री देउवा, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य सचिव रोशन पोखरेललाई पत्र बुझाएका थिए। 

११ औँ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (प्रमेसु) को दरबन्दी भएको अस्पतालमा कनिष्ठलाई प्रमुख बनाउँदा अपमानित भएको महसुस गरेको र सरकारको बढुवा प्रणाली समेत औचित्यहीन भएको महसुस गरेको चिकित्सकहरूले बताएका थिए। 

प्रधानमन्त्री पत्नी आरजुको ‘इन्ट्रेस्ट’ ट्रमा अस्पताल प्रमुखमा

तर, ट्रमा सेन्टरका वरिष्ठ चिकित्सकहरूको केही चलेन।  अन्ततः उनै कनिष्ठ चिकित्सक डा. जोशी नै ट्रमा सेन्टरको प्रमुख भएर आए।

डा. जोशी ट्रमा सेन्टरको प्रमुख बन्न पाँच महिना अगाडि धनगढीको सेती प्रादेशिक अस्पतालबाट ट्रमा सेन्टरमा काज मिलाएर आएका थिए। 

स्वास्थ्यमा आरजुको राज

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएदेखि नै उनकी पत्नी आरजु राणाले स्वास्थ्यका नियुक्तिहरूमा विशेष चासो राख्दै आएकी छिन्। उनकै जोड बलमा गठबन्धन दलसँग समेत छलफल नगरी देउवाले स्वास्थ  राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए।

श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त प्रमुखमा ११ औँ तहका डा. रुद्र मरासिनीलाई नियुक्त गरे पनि रातारात निर्णय सच्याउँदै एक तह मुनीका डा. भूपेन्द्र बस्नेतलाई नियुक्त गरेका थिए।

भूपेन्द्रको नियुक्तिमा पनि आरजुले निर्णायक भूमिका खेलेकी थिइन्। मरासिनी नियुक्ति भएको सूचना बाहिरिएसँगै बस्नेत समूह आरजु भेट्न बालुवाटार पुगेका थिए। 

मरासिनीको नियुक्ति खारेज गर्न बस्नेत समूहले आरजुलाई मनाएपछि प्रधानमन्त्री देउवाले बेलुका नै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई फोन गरेर सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिए र भोलिपल्ट स्वास्थ्य मन्त्रीको हैसियतमा मरासिनीको नियुक्तिको निर्णय सच्याउँदै बस्नेतलाई जिम्मेवारी दिएका थिए। 

२९ भदौ, २०७८, २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।