अध्यादेशको चेपुवामा प्रधानमन्त्री : जसपा तत्काल खारेजीको पक्षमा, समाजवादी विपक्षमा  

अध्यादेशको चेपुवामा प्रधानमन्त्री : जसपा तत्काल खारेजीको पक्षमा, समाजवादी विपक्षमा  

काठमाडौँ : राजनीतिक दल सम्बन्धी अध्यादेश जीवित रहँदै मन्त्रिपरिषद् विस्तार गर्दा सत्ताधारी दल नै विभाजित हुने जोखिम बढेपछि अध्यादेश निष्क्रिय नभएसम्म मन्त्रिपरिषद् विस्तार नहुने भएको छ।

सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्ने बताए। 

उनले अध्यादेश खारेज नभएसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताए। 

‘यो अध्यादेश गठबन्धनको भविष्यसँग जोडिएको छ,’अध्यक्ष यादवले उकेरासँग भने,‘मन्त्रिपरिषद्ले यो अध्यादेश खारेज गर्ने निर्णय गर्नुपर्छ।’

उनले अध्यादेश खारेज गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिकामाथि पनि प्रश्न उठाए। ‘अध्यादेश खारेज गर्ने भनिरहनु भएको छ,’उनले भने,‘खारेज गरेर देखाउनु भएको छैन।’ स्रोतका अनुसार प्रधानमन्त्री देउवा अध्यादेश खारेज गर्ने पक्षमा छन्। तर, सोही अध्यादेशमा टेकेर दर्ता भएको नेकपा एकीकृत समाजवादी सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सोको टुङ्गो नलागी अध्यादेश खारेज हुँदा समस्या पर्न सक्ने भन्दै माधव नेपाल पक्षले दबाब दिइरहेका छन्। 

देउवा पनि एकीकृत समाजवादीको मुद्दा टुङ्गो लागेपछि मात्रै अध्यादेश खारेज गर्ने पक्षमा छन्। 

अध्यादेशको विषयमा जसपा असन्तुष्ट भएर गठबन्धनको बैठकमा समेत सहभागी हुन छाडेको छ। यसअघि बसेको बैठकमा यादव सहभागी भएनन्। मंगलबार बसेको बैठकमा पनि उनी गएनन्। 

अध्यादेश खारेज नभएकै कारण मन्त्रिपरिषद्ले पूर्णता नपाएको उनले बताए। 

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेतामात्र सहभागी भए।  प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा आफू काठमाडौँ बाहिर सिन्धुली भएकाले सहभागी हुन नसकेको यादवको दाबी थियो।  

असार २९ मा प्रधानमन्त्री नियुक्त देउवाले गठबन्धन दलले पाउने मन्त्रालय भागबन्डा टुङ्गो लगाउन नसक्दा चार जना क्याबिनेट मन्त्रीमा सीमित भएका छन्।

२९ भदौ, २०७८, २०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।