दुई महिनादेखि बस्न सकेन प्रदेश २ को प्रदेश सभा बैठक

दुई महिनादेखि बस्न सकेन प्रदेश २ को प्रदेश सभा बैठक

जनकपुरः प्रदेश नं २ को प्रदेश सभा बैठक अनिश्चित भएकाे छ। प्रदेश सरकारमा सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे विभाजनका कारण प्रदेश सभाको बैठक अनिश्चित बनेको हो।

दुई महिनायता बैठक बस्न सकेको छैन भने कहिले बस्ने भन्नेबारे पनि टुंगाे लागेकाे छैन। गत असारमा सरकारले प्रदेश सभाबाट बजेट पारित गरेपछि अन्त्य गरेकाे छैटौँ अधिवेशनयता बैठक बस्न नसकेकाे हाे।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बैठक चाँडै बोलाउन छलफल अघि बढाइएको बताए। “दसैंँअघि नै अधिवेशन आह्वान गर्ने तयारी छ”, उनले भने।

नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टीकाे रूपमा नयाँ दलकाे उदयसँगै अहिले प्रदेश नं. २ काे प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या सात पुगेको छ। जसपा विभाजित भएसँगै महन्थ ठाकुर नेतृत्त्वकाे लोसपामा १६ प्रदेश सभा सदस्यले सनाखत गरेका छन्। यस्तै एकीकृत समाजवादीमा एमालेका १३ प्रदेश सभा सदस्यले सनाखत गरेका छन्।

यता प्रदेश २ काे सरकारमा एकीकृत समाजवादीले पनि सहभागी हुने बताएकाे छ। हाल जसपाको नेतृत्त्वमा प्रदेश सरकारमा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी छन्।

२९ भदौ, २०७८, १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।